बझाङमा फेरि कांग्रेसका सिंहलाई पछि पार्दै एमालेका भण्डारीले लिए अग्रता

काठमाडौं । बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछि पार्दै नेकपा एमालेका दमनबहादुर भण्डारीले फेरि अग्रता लिएका छन् ।

बझाङमा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यसअघि कांग्रेसका सिंहले एमालेका भण्डारीलाई पछि पार्दै अग्रता लिइरहेका थिए ।

सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका सिंहलाई ९ मतले पछि पार्दै एमालेका भण्डारीले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मतसहित अग्रता बनाएका छन् । त्यसैगरी कांग्रेसका सिंहले ९८८० मतसहित पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४०५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बझाङ प्रतिनिधिसभा १ को प्रदेश सभा (क) तर्फ शनिबार सम्पन्न भएको मतदानको मतगणना अहिले जारी छ । यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ ।

आइतबारदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको र त्यसपछि साइपाल गाउँपालिकाको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया