न्युजिल्यान्डलाई शृंखला

एजेन्सी ह्यामिल्टन । कोलिन मुनरोको आक्रामक ब्याटिङप्रेरित न्युजिल्यान्डले पाहुना टोली भारतविरुद्ध अन्तिम तथा तेस्रो ट्वान्टी–२० क्रिकेटमा ४ रनको रोमाञ्चक जित निकाल्दै शृंखला २–१ ले आफ्नो बनाएको छ । ह्यामिल्टनस्थित सेडन पार्कमा भएको निर्णायक खेलको अन्तिम तीन ओभरमा ४७ रन चाहिएको अवस्थामा भारत आक्रामक ब्याटिङ गरे पनि जितनजिक पुगेर चुकेको थियो । सातौं विकेटका लागि ब्याटिङ गरेका दिनेश कार्तिक र क्रुनाल पाण्ड्याले १८औं र १९औं ओभरमा गरी कुल ३२ रन बनाएपछि भारतलाई अन्तिम ओभरमा १५ रन आवश्यक थियो । 

तर, न्युजिल्यान्डका बलर टिम साउथीले २०औं ओभरमा ११ रन मात्र दिएपछि भारतले साँघुरो हार बेहोर्दै शृंखला सुम्पियो । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १२ रन पछ्याएको भारतले ६ विकेटको पतनमा २ सय ८ रन मात्र बनाउन सक्यो । यसअघिको एकदिवसीय शृंखला ४–१ ले जितेको भारतले ट्वान्टी–२० मा सफलता प्राप्त गर्न सकेन ।

मुनरोले आक्रामक ब्याटिङसँगै अर्धशतक बनाएपछि न्युजिल्यान्डले विशाल लक्ष्य प्रस्तुत गरेको थियो । एकदिवसीय क्रिकेटमा लगातार खराब प्रदर्शन गरेपछि आगामी विश्वकपमा न्युजिल्यान्डको टोलीमा पर्ने सम्भावना कमजोर बने पनि मुनरोले ट्वान्टी–२० मार्पmत लय फर्काएका छन् । भुवनेश्वर कुमारको पहिलो ओभरमै लामो छक्का प्रहार गर्दै खेलको सुरुआत गरेका ओपनर मुनरोले पहिलो विकेटका लागि टिम सेइफर्टसँथ ८० रनको साझेदारी गरेका थिए ।

आक्रामक ब्याटिङ गरेको मुनरो र सेइफर्टको जोडीलाई भारतका बलर कुलदीप यादवले ७.४ ओभरमा महेन्द्रसिंह धोनीद्वारा स्टम्पिङ गराए । कुलदीपको बलमा आउट हुनुअघि सेइफर्टले २५ बलमा ४३ रन बनाए । उनको इनिङमा समान ३ चौका र छक्का समावेश थियो । मुनरो पनि ४० बलमा ७२ रन बनाएर कुलदीपकै बलमा आउट भए । दोस्रो विकेटको रूपमा पवेलियन फर्केका मुनरोले समान ५ चौका र छक्का प्रहार गरे ।

कोलिन डी ग्रान्डहोमले ३० रन र केन विलियम्सनले २७ रनको योगदान दिएका थिए । भारतका लागि भुवनेश्वर कुमार र खलिल अहमेदले समान एक विकेट निकाले पनि महँगा साबित भए । जबाफी ब्याटिङमा उत्रिएको भारतका लागि विजय शंकरले आक्रामक सुरुआत गराए पनि त्यसपछि बलियो साझेदार बन्न सकेन ।

८.३ ओभरमा दोस्रो विकेटका रूपमा शंकर आउट हुँदा भारतको खातामा ८१ रन थियो । शंकरले २८ बलमा सर्वाधिक ४३ रन बनाउँदा पाँच चौका र दुई छक्का हिर्काए । त्यसपछि ब्याटिङ गर्न आएका ऋषभ पन्त पनि १२ बलमा २८ रन बनाएर आउट भए । अर्का ओपनर रोहित शर्माले इनिङ सम्हाल्ने प्रयास गरे पनि १३.६ ओभरमा ३८ रनमा पवेलियन फर्किए ।

३२ बल खेलेका शर्माले तीन चौका मात्र प्रहार गरे । हार्दिक पाण्ड्याले ११ बलमा २१ रन बनाउँदै भारतको इनिङ उकासेका थिए । सातौं विकेटका लागि क्रुनाल र दिनेशले ६३ रनको अविजित साझेदारी गरे पनि जित भने दिलाउन सकेनन् । न्युजिल्यान्डका बलर मिचेल सान्टनर र डारियल मिचेलले समान दुई विकेट लिँदै भारतको इनिङलाई कमजोर बनाएका थिए । न्युजिल्यान्डले घरेलु मैदानमै बंगलादेशविरुद्ध एकदिवसीय र टेस्ट शृंखला खेल्नेछ ।

प्रतिक्रिया