पुलिसको उत्कृष्ट लय

काठमाडौं । विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १४औं ढोरपाटन महिला डबल लिगको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग अंक बराबरी गरेको छ ।

लिगमा अपराजित रहेको पुलिसले ५ खेलबाट १५ अंक जोडेको छ । अर्को अपराजित टोली एपिएफको पनि १५ अंक नै छ । नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा भएको खेलमा पुलिसले ढोरपाटनलाई २५–८, २५–३ र २५–२ को सेटमा लज्जापूर्ण हार चखाउँदै शीर्ष स्थानको एपिएफसँग अंक बराबरी गरेको हो ।

लिगअन्तर्गत शुक्रबारै सम्पन्न अर्को खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले दोहोरो जित निकाल्यो । लिगको पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) सँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध पश्चिमाञ्चलले शुक्रबार भने थाहा नगरपालिका मकवानपुर र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई सोझो सेटमा हराउँदै दोहोरो जित निकालेको हो ।

पश्चिमाञ्चलले थाहा नगरपालिकामाथि २५–३, २५–६ र २५–११ को सोझो सेटमा तथा श्रीगाँउ दाङमाथि २५–१४, २५–१४ र २५–१० को सहज जित निकाल्न सफल भयो । जितसँगै पश्चिमाञ्चलले तीन खेलबाट ७ अंक जोडेको छ ।

शुक्रबारकै अर्काे खेलमा सेबले चितवन टाइग्रेसमाथि २५–२३, २५–२१ र २५–१४ को सहज जित निकाल्यो । सेबसँग पराजित भएको चितवन टाइग्रेसले थाहा नगरपालिकालाई २५–१३, २५–११ र २५–१२ को सेटमा हराएको थियो ।

प्रतिक्रिया