गजुरमुखी धाममा दर्शनार्थीको भिड

इलाम । इलामको प्रमुख धार्मिक स्थलहरूमा भक्तजनहरूको चहलपहल बढेको छ । मौसममा सुधार भएसँगै सुरु हुने विभिन्न धार्मिक मेलाका अवसरमा भक्तजनहरूको भिड बढ्न थालेको हो ।

गजुरमुखी, माईपोखरी, पाथीभरा, माङसेबुङ, माङमालुङ लगायतका क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति सुरु भएको हो । पश्चिमी क्षेत्रको प्रमुख धार्मिक क्षेत्र मानिएको माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाममा देवीको दर्शन गर्न आउने भक्तजनको भिड ह्वात्तै बढेको छ ।

कात्तिक पूर्णिमाको अवसरमा लाग्ने बिहीबारदेखि सुरु हुने धार्मिक मेलालाई लक्षित गरी भक्तजनको घुइँचो बढेको हो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैँ गजुरमुखी मेलासँगै देवीको दर्शनसमेत गर्न पाउने भएकाले यो सिजनमा गजुरमुखी आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको धामका पुजारी सन्तोष बस्नेतले बताए ।

यहाँ विगत दुई महिनायता नेपालको पूर्वी क्षेत्र तथा भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसाम लगायतका क्षेत्रबाट दैनिक सयौँको संख्यामा दर्शन गर्न आउने गरेका छन् । बोली नआएकाहरूको बोली आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले दैनिक ६ सयको हाराहारीमा भक्तजनहरू आउने गरेका छन् ।

‘धाममा दर्शनका लागि दैनिक ६ सय बढीको हाराहारीमा श्रद्धालु आउने गरेका छन्’, पुजारी बस्नेतले भने, ‘यो क्रम जेठसम्म निरन्तर रहन्छ ।’ मंगलबार र शनिबार बढी मात्रामा भक्तजन आउने गरेको उनको भनाइ छ । सामान्यतया असोजदेखि जेठसम्म भक्तजनहरूको बढी घुइँचो लाग्ने गरेको छ ।

धार्मिक आस्था र विश्वास रहेकाले धाममा परम्परादेखि नै पूजापाठ गदै आए पनि विषेश गरी धामको व्यवस्थापन र संरक्षणमा एक दशकअघिदेखि मात्र स्थानीयले चासो दिँदै आएका छन् ।

इलाम सदरमुकाम इलामबाट करिब १२ कोष पश्चिममा पर्ने धाममा मेचीमार्गअन्तर्गत इलामको नेपालटार–मंगलबारे पक्की र त्यहाँबाट धुसेनी कच्ची सडकमार्फत पुग्न सकिन्छ । यहाँ खान र बस्नका लागि पर्याप्त मात्रामा होटल, खानेपानी र शौचालयसमेत व्यवस्था भएकाले भक्तजनलाई थप सहज भएको छ ।

उता रोङ गाउँपालिकाको पाथीभरा मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । सानी पाथीभरा देवीको रूपमा चर्चित मन्दिरमा पूर्वी नेपालका विभिन्न क्षेत्र र भारतबाट समेत दर्शन गर्न आउनेको चहलपहल बढ्दै गएको पाथीभरा संरक्षण समितिले जनाएको छ ।

दृष्यावलोकन र पहाडी रहनसहनका कारण यहा“को पर्यटकीय महत्व बढ्दै गएकाले पाथीभराको भौतिक पूर्वाधार विकास पनि हुन थालेको छ ।

सन्दकपुर गाउँपालिकाका माईपोखरीमा एकादशीको अवसरमा लागेको धार्र्मिक मेलामा हज्जारौँको संख्यामा भक्तजनको उपस्थिति थियो । मौसम सुधार आएसँगै यस क्षेत्रमा देश तथा विदेशका पर्यटकहरू पुग्ने गर्दछन् ।

उता माङसेबुङ गाउँपालिकाको माङसेबुङ र माङमालुङमा समेत पर्यटकहरूको आगमन सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५औँ जन्मोत्सव आगामी १८ मंसिरलाई लक्षित गरी किरात धर्मावलम्बी भक्तजनहरूको आगमन सुरु भएको स्थानीय सुमन लावतीले बताए । त्यस क्षेत्रमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्चपदस्थ व्यक्तिहरूको आगमन हुने गर्दछ ।

यस्तै नजिकैको माङमालुङमा आकर्षक प्राकृतिक आकृतिहरू, एक औंलाले हल्लाउन सकिने विशाल ढुंगा (चक्रशिला) को अवलोकन गर्न, मनोरम चियाबारीसँगै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्था गरेको गुफा अवलोकन गर्न र फिकनिक खानका लागि आगन्तुकहरू माङमालुङ पुग्दछन् । त्यहाँबाट सूूर्योदय र सूूर्यास्तको दृश्यसमेत देख्न सकिने भएकाले तराईको क्षेत्रबाट समेत आगन्तुकहरूको उपस्थिति हुने गर्दछ ।

प्रतिक्रिया