न्यु समिटको जित

काठमाडौं । न्यु सुमिट र गोल्डेनपिकले १३औँ क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित हात पारेका छन् । टोखास्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर छात्रमा न्यु समिटले काठमाडौं विद्याकुञ्ज स्कुललाई ३१–२१ ले पराजित गर्यो ।

विजेताका शशांक महर्जनले १९ अंकको योगदान दिए । गोल्डेन पिकले निर्मल बाटिकालाई ३३–२० ले स्तब्ध बनायो । सिनियर छात्रमै एनइएले बुढानीलकण्ठ स्कुललाई ३७–१९ ले पराजित गर्यो । विजेताका सुगम पाण्डेले १८ अंक बटुले ।

सेबले एआइएमाथि ५०–२३ को फराकिलो जित निकाल्यो । इआइएले नेसनल युनाइटेडमाथि ४३–२९ को जित निकाल्दा विजेताका साजन भुजेलले १६ अंक बटुले ।

जुनियर छात्रमा एनइएले लक्ष्मीपुरलाई १९–१० ले पराजित गर्दा समिप पाण्डेले ६ अंक जोडे । एन्जल हार्टले गोल्डेन पिकलाई ३१–२४ ले हरायो । एन्जल हार्टका ओयासिस केसीले ९ अंकको योगदान गरे ।

ग्रिनल्यान्डले ओडिसीलाई १६–१० ले पराजित गर्दा सुवास अधिकारीले ६ अंक बटुले । जुनियरतर्फकै अर्को खेलमा लालीगुराँसले एन्जल हार्टलाई ७–५ ले स्तब्ध बनायो ।

सिनियर छात्राको एक मात्र खेलमा एचएचसिएले सोर्ससेन्ट स्कुललाई ३४–१० ले पराजित गर्यो । विजेताका विष्णु भुजेलले ७ अंक बटुलिन् । नौदिने प्रतियोगितामा सिनियर छात्रमा १६, जुनियर छात्रमा १६ र सिनियर छात्रामा १२ टोलीको सहभागिता छ ।

प्रतिक्रिया