एनसिसी, अमृत साइन्स र शिक्षा सेमिफाइनलमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा नेपाल कमर्स (एनसिसी) अमृत साइन्स र सुर्खेत शिक्षा क्याम्पस सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आयोजक रत्नराज्यलक्ष्मी क्याम्पसको कोर्टमा भएको क्वार्टरफाइनल खेलमा एनसिसीले जनमैत्री कलेजलाई २५–१७,२५–११ र २५–८ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै, अर्को क्वार्टरफाइनल खेलमा अमृत साइन्सले जया मल्टिपल कलेजलाई २५–२३,२५–२२,२२–२५ र २५–१३ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो ।  सुर्खेत शिक्षा क्याम्पसले पब्लिक युथ क्याम्पसलाई २५–१४,२५–१२ र २५–२२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एनसिसीसँग भेट पक्का गरेको छ ।

आयोजक रत्नराज्यलक्ष्मी कलेज र सानोठिमी कलेजबीच हुने क्वार्टरफाइनल खेलको विजेताले अमृत साइन्स क्याम्पससँग बिहीबार सेमिफाइनल खेल्नेछ ।  प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तृतीयले २० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार हात पार्नेछ । नकाउटका आधारमा सञ्चालित प्रतियोगितामा २२ क्याम्पसका टिम सहभागी छन् ।

प्रतिक्रिया