फाइनल यात्रामा नेपालको चुनौती मलेसिया

काठमाडौं । नेपालले यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनल प्रवेशका लागि शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली युवा टोलीले पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बलियो ब्याटिङ र लय शैलीको बलिङ गरेकोे नेपाल सेमिफाइनलमा मलेसियामाथि सहज जित निकाल्ने लक्ष्यका साथ उत्रनेछ

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा शनिबार बिहान हुने खेलमा नेपाल जित हात पार्दै फाइनलमा प्रवेश गर्ने दाउमा छ ।  नेपाली टिम प्रतियोगिताकै बलियो टिम गनिन्छ । डिफेन्डिङ च्याम्पियन नेपालले जारी प्रतियोगितामा कुनै पनि खेल हारेको छैन । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले आफ्नो पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ३३ रनले पराजित गरेको थियो ।

दोस्रो खेलमा हङकङलाई ४ विकेट र समूहको अन्तिम खेलमा म्यानमारमाथि ३ सय ३७ रनका इतिहासिक जित निकाल्दै नेपाल समूह विजेताको रूपमा अन्तिम ४ मा पुगेको थियो ।म्यानमारसँगको खेलमा नेपालका कप्तान रीत गौतमले शतक प्रहार गरेका थिए । त्यसक्रममा नेपालले ३५ ओभरमै ३ सय ५० रनको विशाल योगफल तयार बनाएको थियो । अन्य २ खेलाडीले अर्धशतक प्रहार गर्दै नेपालको ब्याटिङ उत्कृष्ट रहेको छाप छोडेको थियो ।

नेपालका तृतराज दासले १ सय ३३ रन र रित गौतमले १ सय २२ रन बनाउँदै प्रतियोगितामा धेरै रन बटुल्ने सूचीमा शीर्ष २ स्थानमा छन् । बलिङतर्पm नारायण जोशीले प्रतियोगितामा सर्वाधिक १० विकेट लिइसकेका छन् । त्यसैले नेपालको अलराउन्ड प्रदर्शनसामु मलेसियालाई जित निकाल्न निकै कठिन रहेको छ । मलेसिया बलिङतर्फ ७ विकेट लिँदै तेस्रो स्थानमा छ ।

मलेसिया समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।  मलेसियाले आफ्नो ३ खेलमा २ जित र १ हार व्यहोर्दै सेमिफाइनल स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा शनिबार नै हङकङले सिंगापुरको सामना गर्दै छ ।

प्रतिक्रिया