काठमाडौंको चन्द्रागिरिमा बसमा आगलागी : जलेर पूर्णरुपमा नष्ट

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका– १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा ३ ख ६१७३ नम्बरको मिनी बसमा आज आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो ।

उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौं प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवम् चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौंले धनीलाई हस्तान्तरण गरेको हो ।– रासस

प्रतिक्रिया