हेटौँडा । हेटौँडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका– ४ सादेपुलमा भएको सवारी दुर्घटनामा परि हेटौँडा– १३ का ४५ वर्षीय केशव मुडभरीको मृत्यु भएको छ । बुधबार राति मुडभरी सवार ना ६६ प ९३०३ नम्बरको स्कुटर रड बोकेको ट्याक्टरमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार दुर्घटनापछि सडकमा घाइते अवस्थामा फेला परेका मुडभरीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि भागेको ना ७ त २२५९ नम्बरकोे ट्याक्टरलाई दुर्घटनास्थलबाट ३ किलोमिटर उत्तर तालढुंगा सडक खण्डबाट प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो ।
फरार रहेका ट्याक्टर चालक सिन्धुली कमलामाई नगरपालिका– ९ का खड्कबहादुर बुढाथोकीलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
फ्यामकोल एकेडेमी हेटौँडा १३ का संस्थापक प्रिन्सिपल तथा स्टेसनरी व्यवसायी समेत रहेका मुडभरीको बिहीबार नै अन्त्येष्टी गरिएको छ । मुडभरीको निधनमा शोक व्यक्त गर्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले शुक्रबार जिल्लाका प्याब्सन आवद्ध सबै विद्यालयहरुमा शोक बिदाको निर्णय गरेको छ ।
मकवानपुर
प्रतिक्रिया