दिल्लीलाई हराउँदै कोलकाता शीर्षस्थानमा

नयाँदिल्ली, २७ वैशाख । दिल्ली डेयरडेभिल्सको लगातार चार खेलको जित यात्रा टुंग्याउँदै कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल–५) क्रिकेट प्रतियोगिताको अंकतालिकामा शीर्षस्थानमा पुगेको छ ।
सानदार प्रदर्शन गरिरहेको दिल्लीलाई रोक्दै शीर्षस्थानमा पुग्ने क्रममा कोलकाताको १२ खेलबाट १७ अंक भएको छ । ११ खेलबाट १६ अंक भएको दिल्ली अंकतालिकामा दोस्रो छ । २१ अप्रिलमा पुने वारियर्सविरुद्ध हार व्यहोरेयता दिल्लीले सबै खेलमा शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेको थियो ।
रोमाञ्चक हुने अपेक्षा गरिएको खेलमा सोमबार राति कोलकाता
६ विकेटले विजयी भएको हो । टस जिती पहिला ब्याटिङ गरेको दिल्ली निर्धारित २० ओभरमा १५३ रनमा सीमित भएको थियो । मध्यम लक्ष्य पछयाउने क्रममा सानदार सुरुआत गरी कोलकाताले १८.४ ओभरमा चार विकेट गुमाउँदै १५४ रन जोडयो ।
विजयी टोलीका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय ब्रेन्डन म्याक्लमले ५६ र गौतम गम्भीरले ३६ रनको योगदान गरे । त्यस्तै ज्याक कालिसले पनि ३० रन जोड्दै अलराउन्ड प्रदर्शन गरे । म्याक्लम र गम्भीरबीच पहिलो विकेटका लागि
६.६ ओभरमा ६८ रनको साझेदारी भएको थियो । उमेश यादवको बलमा वीरेन्द्र सहवागबाट समातिनुअघि म्याक्लमले ४४ बल खेल्दै सात चौका प्रहार गरे । त्यस्तै बरुण एरोनबाट बोल्ड भएका गम्भीरले २१ बलमा चार चौका र एक छक्का प्रहार गरे । म्याक्लम र कालिसबीच दोस्रो विकेटका लागि ६० रनको साझेदारी भयो ।
यसअघि टस जिती पहिला ब्याटिङ गरेको दिल्लीले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरे पनि मध्य तथा पछिल्लाक्रमका खेलाडीले सुस्त गतिमा रन जोडे । ३.३ ओभरमा सहवाग (२३) र डेभिड वार्नर (२१) बीच पहिलो विकेटका लागि सो साझेदारी भए पनि यी दुवैलाई कालिसले आउट गर्दै दिल्लीलाई ४९–२ को स्थितिमा पुर्‍याएका थिए । यद्यपि, १२.४ ओभरमा ९५–३ को स्थितिमा पुगे पनि दिल्लीले टी–ट्वान्टी शैलीमा खेल्न सकेन । रोस टेलरले २२ बलमा १६ रन जोड्दै टोलीलाई निराश पारे । माहेला जयावद्र्धनेले २७ बबलमा ३० रन जोडे भने २२ बल खेलेका इरफान पठानले आकर्षक ब्याटिङ गरी ३६ रन बनाए । दिल्लीको विस्फोटक ब्याटिङक्रमलाई ‘ब्रेक’ गर्दै ब्याटिङतर्फ पनि राम्रो योगदान गरेका कालिस प्लेयर अफ द म्याच भए ।
यस्तै, मंगलबार साँझ भएको खेलमा राजस्थान रोयल्स पुने वारियर्सलाई सात विकेटले पराजित गरी अंकतालिकामा चौथो स्थानमा उक्लियो । अस्ट्रेलियाली खेलाडीको सानदार प्रदर्शनपछि राजस्थान उपाधि होडमा देखिएको हो । राजस्थानका लागि बलिङतर्फ सन टेटले तीन विकेट लिए भने ब्याटिङतर्फ सेन वाट्सनले ९० रन प्रहार गरे ।
टस जिती पहिला ब्याटिङमा उत्रिएको पुने निर्धारित २० ओभरमा १२५ रनमा सीमित भएको थियो । पूर्वविजेता राजस्थानले भने १६.२ ओभरमा तीन विकेट मात्र गुमाउँदै १२६ रन जोडेको हो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बाट्सनले अविजित रहँदै ५१ बलमा १० चौका र चार छक्का प्रहार गरे । उनले तेस्रो विकेटका लागि अशोक मनेरिया (१८) सँग ५६ रनको साझेदारी गरेका थिए ।
पुनेका लागि अनुस्टुप मजुम्दारले सर्वाधिक ३० रनको योगदान गरे । पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे पनि पुनेका कुनै पनि ब्याट्सम्यानले आकर्षक इनिङ खेल्न सकेनन् । तीव्र गतिका बलर टेटले ४ ओभरमा १३ रन खर्चिएका थिए । १२ खेलबाट १२ अंक जोड्दै राजस्थान चौथो स्थानमा उक्लिएको हो । १३ खेलबाट आठ अंक मात्र जोडेको पुने आठौं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया