ज्यानै लिने शीतलहर

चिसो बढेसँगै पूर्वी, मध्य तराई र सुदूरपश्चिमका जिल्लाहरूमा शीतलहरले जनजीवन प्रभावित भएको छ । औसत पुसको दोस्रो साताबाट सुरू हुने शीतलहर यस वर्ष जाडोयाम लाग्नासाथ बढ्न थालेको छ । चिसो हावास“गै परेको शीतबाट सिरहा, सप्तरी, सुनसरी, धनुषा, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलगायत जिल्लाको जनजीवन कष्टकर बनेको छ । शीतलहरका कारण विपन्न समुदायका वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । न्यानो ओत र लत्ताकपडाको अभावमा विभिन्न जिल्लाका वृद्धवृद्धा तथा बालबालिकाको कठ्यांग्रिएर दिनहुँ मृत्यु भइरहेको खबर सञ्चारमाध्यममा आइरहेका छन् । शीतलहरका कारण सप्तरीमा बर्सेनि दुई दर्जनभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । यस्तै, दर्जनौँ जिल्लामा शीतलहरबाट ज्यान गुमाउनेको संख्या अधिक छ । बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि न्यानो लुगा नहुनेहरू मृत्युको सिकार भइरहेका छन् । यस्तो भयावह स्थितिमा सरकारले विपन्न वर्गका लागि कुनै प्रकारको सहयोग गरेको पाइ“दैन । शीतलहरकै कारण कमजोर आर्थिक अवस्था भएका बस्तीमा वृद्धवृद्धा, बालबालिका तथा महिलाको बिचल्ली हु“दै आए पनि सरोकारवालाले चासो नदेखाउ“दा चिसोले कठ्यांग्रिएर अकालमै मर्नुपर्ने बाध्यता छ ।

मुलुकमा आइपर्ने दैवी प्रकोपबाट नागरिकलाई जोगाउन हरेक जिल्लामा दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन समिति गठन भएको छ । तर, शीतलहरपीडितका लागि विशेष कार्यक्रम सञ्चालन भएको पाइँदैन, जसका कारण गरिब तथा विपन्न समुदायका वृद्धवृद्धाहरू पीडित भइरहेका छन् । गतिलो गा“स, बास र कपासविना मजदुरी गरेरै जीवन निर्वाह गर्नुपर्ने वर्गलाई शीतलहरले नराम्ररी प्रभावित बनाएको छ । चिसोका कारण हुने निमोनिया, ज्वरो, रूघाखोकी, दम, कोल्ड डायरिया र मुटुसम्बन्धी समस्या भएका बिरामीहरू दिनहुँ बढिरहेका छन् । खासगरी मुसहर, डोम, बाँतर, दुसाध, माझी समुदाय शीतलहरका कारण बिचल्लीमा परेका छन् । विपन्न समुदायका बस्तीमा परालको भरमा रात काट्नुपर्ने बाध्यता विद्यमान छ । विगतका वर्षहरूमा सरकारी निकायबाट सार्वजनिक स्थलमा जाडो छल्नका लागि आगो ताप्ने व्यवस्था गरिए पनि प्रभावित क्षेत्रमा सचेतना अभियान सञ्चालन गरेर शीतलहरको क्षतिबाट जोगाउने उपायको खोजी नगरि“दा बर्सेनि अकालमा ज्यान गुमाउनेको संख्या थपि“दै गएको छ ।

अत्यधिक जाडोका कारण मुलुकका दर्जनौ“ जिल्लाको जनजीवन असाध्यै कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसोका कारण तराईका जिल्लामा सवारी दुर्घटना पनि बढेको छ । भूकम्प प्रभावित क्षेत्रमा पीडितले अस्थायी टहरामै गुजारा गर्नुपरेको छ । चिसोको समस्याबाट मुलुकभर हजारौँ जनता पीडित भएका बेला सरकारले प्रभावित क्षेत्रमा राहतका कुनै पनि प्याकेज ल्याउन सकेको छैन । समयमै सम्भावित दुर्घटनाबारे सचेत नहुने र अकालमा नागरिक मरेपछि मात्रै सरकारले राहत र उद्धारका कार्य सञ्चालन गर्ने परिपाटीले पीडितहरू सुरक्षित हुन सकेका छैनन् । सरकारले शीतलहरबाट प्रभावितका लागि गाउ“गाउ“मा स्वास्थ्यकेन्द्रमार्फत शिविर सञ्चालन गरी बिरामीको उपचारको व्यवस्था मिलाउनुपर्छ । यस्तै, विपन्न बस्तीहरूमा न्यानो लुगाका साथै शीतलहरबाट सुरक्षित हुन आवश्यक पर्ने सामग्री वितरण गरिनुपर्छ । सार्वजनिक स्थलहरूमा दाउरा बाल्ने प्रबन्धसहित सतर्कता अपनाउन सके चिसोका कारण मृत्यु हुने नियतिलाई न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया