हतारमा टिप्पणी नगरौँ

बितेको साता नेपालका सञ्चारमाध्यममा भारतीय योगगुरू रामदेव मज्जैसँग छापिए । उनी भारतका चर्चित योगगुरू हुन् र मौका मिलाएर नेपालको भ्रमण पनि गर्ने गर्छन् । उनको हरिद्वारमा पतञ्जली योग आश्रम नामको ठूलो संस्था छ र त्यहाँ हजारौँ साधकहरूले दिनहूँ साधना गरेर मन शान्त र शरीर स्वस्थ बनाउने गर्दछन् । नेपालमा पनि यिनका समर्थकहरू भएको कारण उनी गतसाता ३–४ ठाउँको भ्रमण तालिका मिलाएर नेपाल आएका थिए । यस क्रममा उनले वीरगञ्जमा योग शिविर र पतञ्जली आयुर्वेद भवनको उद्घाटन गरे । नेपालीका लागि नेपालमै सस्तो र गुणस्तरीय सेवा आर्युवेदिक औषधिहरू उत्पादन गर्ने र बिस्तारै आफ्नो उद्योगमा १० हजार नेपालीलाई रोजगारी दिने सस्तो प्रचारबाजी गर्न पनि भ्याए रामदेवले । अविवाहित उनीले आफ्नो लागि कुनै धन सम्पत्ति जोडेर नराख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

उनका दाहिने हात भने पनि हुने व्यक्ति हुन् नेपाली नागरिक आचार्य बालकृष्ण । उनी रामदेवसँगै हरिद्वारमा नै बस्छन् र योग शिविरदेखि पतञ्जली आर्युवेद उद्योगको सञ्चालन तथा व्यवसाय गर्न उनी रामदेवलाई सघाउँछन् । रामदेवको शेषपछि यिनै नेपाली चेला आचार्य बालकृष्ण यो संस्थाको मुख्य सञ्चालक घोषित हुने अनुमान अहिलेदेखि नै गर्न थालिएको छ । यी सबै कुरालाई नकारात्मक टिप्पणी गरिहाल्नु आवश्यक छैन । तर, रामदेवको नेपाल भ्रमणमा नेपाल सरकारले उनलाई उपलब्ध गराएको कडा सुरक्षा व्यवस्था र मर्यादा भने अवश्य पनि टिप्पणीलायक थियो । झन्डैझन्डै प्रधानमन्त्रीको भ्रमणजस्तै देखिने गरी सडकका छेउछाउमा खटिएका सुरक्षाकर्मीको संख्यालाई हेर्दा उनी कुनै सन्तसाधक नभएर भारतका सरकार सञ्चालक नै हुन् कि भन्ने भ्रम धेरै नेपालीलाई परेको थियो ।

उनी असल व्यक्ति हुन् र प्रसिद्ध योगसाधक पनि हुन् भन्ने कुरामा दुई मत छैन । मौका मिलाएर उनी नेपाल भ्रमणमा आउँदा राम्रै समाचार बन्ने गर्दछ । तर, जसलाई जति मानसम्मान अतिथिको हैसियतमा आतिथ्य मुलुक नेपालले दिनुपर्ने थियो, त्योभन्दा निकै बढी सत्कार र सम्मान दिइएको थियो उनलाई । स्वामी रामदेवलाई नै लाज लाग्ने गरी यसपटक प्रदान गरिएको आतिथ्य र सुरक्षा व्यवस्था कुन तहको हो ? मन्त्रीस्तरको हो कि त्योभन्दा सानो हो ? यौटी जन्मजात सुन्दरीले झन् बढी सुन्दरी बन्न मुखमा अत्यधिक लिपिस्टिक र पाउडर घस्दा उनी झन् कुरूप बन्छिन् भन्ने कुरा रामदेव र नेपाली जनता अनि नेपाल सरकारसमेतले बुझ्न जरुरी छ । अहिले उनले नेपालमा सञ्चालन गर्ने भनिएको आर्युवेदिक उद्योगले हालसम्म सरकारबाट कानुनी मान्यता नलिएको कुरा चर्चामा आएपछि रामदेव पनि एकपटक फेरि चर्चामा आएका हुन् । उनले नेपालको कानुनअनुसार स्वीकृति लिएर मात्र आर्युवेदिक उद्योग सञ्चालन गर्नुपर्दछ । र, नेपालको सबै कानुनी प्रक्रिया पूरा गरेर वा नगरी उनले आफ्नो उद्योग कसरी सञ्चालन गर्नेछन् भन्ने निश्चित नभई यसबारे अहिले नै टिप्पणी गर्नु हतारो मात्रै हुनेछ ।

प्रतिक्रिया