नेपाली कूटनीतिमा अर्थ राख्ने दुई महत्वपूर्ण भ्रमण नेपालमा चर्चाको विषय बनेका छन् । बेलायती राजकुमार ह्यारी नेपाल आइपुगेको एक दिन भोलिपल्ट प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा निस्किएका छन् । ह्यारीको भ्रमणकै समयमा ओलीको यो भ्रमण अर्थपूर्ण रहेको छ । त्यसो त नेपालको विकास र उन्नती तथा राजनीतिमा यी दुवै देशको भूमिका महत्वपूर्ण रहेको छ । ऐतिहासिक कालखण्डदेखि नै नेपालको सिमाना जोडिएको चीनसँग व्यापारिक र व्यवसायिक मात्र होइन नेपालको सांस्कृतिक साइनो पनि रहँदै आएको छ । पछिल्ला दशकहरूमा यातायातको असुविधा तथा नेपालको उत्तरी भूभागका मानिसहरू तराई झर्ने क्रमसँगै नेपालको उत्तरी सीमासँगको त्यो साइनोमा कमी देखियो । त्यति मात्र होइन, व्यापारिक सम्बन्ध पनि यातायातको सहजताका कारण नेपालले भारतसँग नजिकको सम्बन्ध राख्यो । नेपाली राजनीतिक नेतृत्वको चीन र भारतसँगको सम्बन्ध वर्षौदेखि चर्चाको विषय बन्ने गरेका छन् । यतिसम्मकी नेपालको हरेक राजनीतिक समीकरण यी दुई देशसँगको सम्बन्धमा निर्भर रहने गरेको चर्चा पनि विश्लेषकहरूले गर्ने गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य र नेपालले प्राप्त गर्ने विषयको बारे निक्र्याैल भएको छैन । तथापि गत ३ असोजपछिको भारतसँगको सम्बन्ध र गत महिनाको भारत भ्रमणसँग पनि यो भ्रमणलाई जोडेर हेर्ने गरिएको छ ।
नेपाली जनमानसमा दुई छिमेकीप्रति हेर्ने दृष्टिकोण फरक रहेको छ । भारतलाई हेर्ने दृष्टिकोण मिश्रित छ भने आमनेपालीको चीनलाई हेर्ने दृष्टिकोण सकारात्मक छ । ३ असोजपछिको नाकाबन्दीको समयमा पनि आमनेपालीको यो भावना प्रस्ट रूपमा देखियो । नेपालमा आउने असहज परिस्थितिको समयमा चीनसँगको सम्बन्ध आम नेपालीले सम्झने गरेका छन् । तथापि आम नागरिकले सम्झने र अनुमान गरेजस्तो नेपालको व्यापारिक स्थिति पक्कै नहोला । त, एउटा सत्य भने पक्कै हो । जुन देशसँग सम्बन्ध विस्तार गरे नि त्यो देशले आफ्नो निश्चित इच्छा नेपालप्रति राख्ने गर्छ नै । यस प्रसंगमा चीनले नेपालमा चाहने एउटै विषय एक चीन नीतिको विरुद्धमा समयसमयमा हुने गरेको गतिविधिको अन्त्य नै हो । भारतको हकमा कुन समयमा कुन नीति रहन्छ त्यो निश्चित हुने गरेको छैन । भारतसँगको हरेक सम्बन्धको समस्या नै यही हो कि भारतमा हुने सत्ता परिवर्तनसँगै नेपाललाई हेर्ने दृष्टिकोण र नेपालको मामलामा फरक नीति र फरक अपेक्षा नै हो ।
भारतसँगको विगतको साइनोको आफ्ना अर्थ र महत्व छन् नै । तर, नेपालका लागि एउटा विकल्पको आवश्यकता छ नै । विकल्परहित नाका नेपालको सबैभन्दा ठूलो समस्या बनेको छ । त्यसो त राजधानी काठमाडौंको दुरी भारतसँग भन्दा चीनसँग धेरै नै कम रहेको छ । आमनेपालीको अपेक्षा छ प्रधानमन्त्रीको यो भ्रमणपछि नेपालले एउटा विकल्प पाउनेछ । चीनसँगको सुमधुर सम्बन्धलाई निरन्तरता दिनेछ । भारतसँगको समन्वयात्मक सम्बन्ध कायम रहनेछ । नेपालको विकासमा चीनको अर्को महत्वपूर्ण सहयोग हुनेछ । आम नेपालीको अपेक्षा नै यही हो ।
प्रतिक्रिया