तारा एयरको अनुमान : दुर्घटनाका कारण अनपेक्षित मौसम परिवर्तन

काठमाडौं । मौसमको अनपेक्षित फेरबदलका भएपछि उडानमा भएको कठिनाइका कारण विमान दुर्घटनामा परेको हुनसक्ने तारा एअरले अनुमान गरेको छ । तारा एअरले जारी गरेको विज्ञप्तिमा नेपालको भौगोलिक बिकटताका साथै तीव्र गतिमा मौसममा हुने अनपेक्षित फेरबदलले उडानमा समस्या भएको हुनसक्ने उल्लेख छ ।

बुधबार म्याग्दीको दानामा तारा एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २३ जनाको मृत्यु भएको थियो । सरकारले बुधबारै दुर्घटना छानविन गर्न समिति गठन गरेको छ ।

तारा एअरको उक्त विमान अत्याधुनिक प्रविधिको मानिएको छ । दुर्घटनामा परेको विमान १३ अगष्ट २०१५ मा निर्माण भएको र शून्य घन्टाको अवस्थामा कम्पनीले नेपालमा ल्याएर २७० घन्टा उडान भरेको तारा एयरले जनाएको छ ।

५४ वर्षीय विमान चालक रोशन मानन्धरको २५ बर्षे अनुभवमा १८ हजार ५ सय घन्टा ट्विन्अटर विमान उडानको अनुभव तथा गएको २ वर्षमा ४ सय घन्टाको अनुभव संगालेका ३० वर्षीय सहचालक दिकेश नेमकुल र चार वर्षदेखि परिचारिकाको रुपमा कार्यरत २४ वर्षीया रमा राउतजस्ता अनुभवी कर्मचारीलाई गुमाउनुपर्दा तारा एयरले ‘अपुरणीय क्षति’ भएको बताएको छ ।

तारा एअरको कल साइन ९एन–एएचएच विमान बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेकोमा म्याग्दीको दाना गाविसको तिर्खे ढुंगामा दुर्घटनाग्रस्त भएको थियो । बिमानमा सबार सबै (दुई बालबालिकासहित २३ जना) को मृत्यु भएको थियो । तारा एअरले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । (सौस)

प्रतिक्रिया