नागरिकको चरम निराशा र सिंहदरबारको जग

सम्पादकीय

मुगु जिल्ला सोरू गाउँपालिका–१ बाट अध्ययन तथा रोजगारीका लागि ३ वर्षअघि काठमाडौँ आएका २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वरको व्यस्त सडकमा दिनदहाडै गरेको आत्मदाहले यतिबेला देशभरि ठुलै तरंग उत्पन्न गरेको छ । बिहीबार दिउँसो गणेशले आफ्नो शरीरमा आफैँ आगो लगाएर आत्मदाहको प्रयास गरेको घटना बाहिरिएयता शनिबार बिहानसम्म थप २ जना युवाले पनि यही प्रकृतिको दुर्घटना निम्त्याउने प्रयास गरेको समाचार आएको छ । शुक्रबार बिहान आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको अवस्था पनि अत्यन्तै गम्भीर रहेको छ । त्यसैगरी शनिबार बिहान काठमाडौँको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

आफ्नो शरीरमा आफैँ आगो लगाएर आत्महत्या गर्ने प्रयास ७२ घण्टाको अवधिमा ३–३ वटा भएको समाचार सतहमा आउनु सामान्य कुरा होइन । नेपाल प्रहरीको वार्षिक तथ्यांकलाई हेर्ने हो भने नेपालमा समग्र आत्महत्याको दर चिन्ताजनक रूपमा बढेको देखिन्छ । दैनिक औसत १८ देखि २० जना नेपालीले विभिन्न माध्यमबाट आत्महत्या गर्ने गरेको तथ्यांक छ । आत्मदाह आत्महत्याकै एउटा अत्यन्तै कष्टकर र चरम रूप हो । समग्र आत्महत्याको संख्या बढ्दा त्यसको अनुपातमा आत्मदाहका घटनाहरू पनि बढी सतहमा आउनु स्वाभाविक हो । तर सबै प्रकारका आत्महत्या तथा आत्मदाहलाई एउटै टोकरीमा राखेर विश्लेषण गर्नु हुँदैन । गणेश नेपालीको आत्मदाहले देशव्यापी तरंग उत्पन्न गर्नुमा ठोस कारण भएकैले सरकारले छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै आत्मदाहको खास कारण उजागर हुन सक्छ । काठमाडौँ महानगरपालिकाका प्रहरीको रुखो र कठोर व्यवहार आत्मदाहको कारण बनेको अपुष्ट समाचार आएको छ । छानबिन समितिले यही जगमा टेकेर काम अघि बढाउने संकेत देखाइसकेको छ, नेपाल प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । संसद्को अधिवेशन पनि चालु रहेकोले जनप्रतिनिधिहरूले संसद्मार्फत सरकारलाई दबाब दिइरहेका छन् । सरकारले पनि गम्भीरता प्रदर्शन गरेको संकेत देखिएको छ । महानगर प्रहरीले उनलाई आत्मदाहका लागि बाध्य पारेको हो वा होइन ? भन्ने प्रश्नभन्दा पनि महत्वपूर्ण प्रश्न भनेको जति पटक व्यवस्था परिवर्तन भए पनि राज्य संयन्त्रमा रहनेहरूले नागरिकप्रति गर्ने राणाकालीन पशुवत् व्यवहारले निरन्तरता पाउनु हो । नागरिकको कमी–कमजोरी नहुँदा त अनेक निहुँ झिकेर खान पल्केकाहरूका निम्ति केही सानातिना कमी–कमजोरी फेला पार्नु भनेको अवसर प्राप्त भएसरह हो । यस्तो अवसर हतपती गुमाउन उनीहरू नचाहनुमा विविध कारण छन् ।

अर्कातिर शासन व्यवस्था जतिसुकै लोकतान्त्रिक भए पनि नेपाली समाजमा व्याप्त चरम निराशा र गरिबीका कारण राज्य–नागरिकबीचको सम्बन्ध थप कसिलो बन्नुको सट्टा भत्कँदै गएको छ । राज्य संयन्त्रमा रहने अधिकांश व्यक्तिहरूमा ‘हामी भनेका शासक हौँ, नागरिक भनेका शासित हुन्’ भन्ने मानसिकता व्याप्त छ । तर राजनीतिक विज्ञानबारे सामान्य जानकारी प्राप्त गरेको अहिलेको नयाँ पुस्ता, खासगरी ‘जेनजी’ पुस्ताले रैती र नागरिकबीचको भेद बुझेको छ । त्यसैले गणेश नेपालीको घटना जेनजी विद्रोहको निरन्तरता पनि हुन सक्छ । यसलाई सबैले गम्भीर रूपमा लिऔँ ।

राज्य भनेकै कानुन तथा नियम बनाउने र त्यसै अनुसार चल्ने संस्था हो । कानुन तथा नियम कार्यान्वयनका लागि राज्यले आफ्नै संयन्त्र बनाएको हुन्छ । राज्य संयन्त्रमा रहनेहरू विवेकशील र इमानदार नहुँदा समस्या उत्पन्न हुन्छ । नियम कार्यान्वयन गराउने निकायको जनशक्तिसँग मानवीय संवेदना र विवेक हुनु आवश्यक छ । दैनिक गुजाराका लागि सडकमा श्रम गरिरहेका तृणमूल तहका जनताका लागि राज्य वा स्थानीय सरकार अभिभावक बन्नुपर्ने हो । तर, उनीहरूलाई लखेट्ने, आतंकित पार्ने र आत्मसम्मानमा चोट पु¥याउने राणाकालीन शैलीले निरन्तरता पाउनु ज्यादै दुःखद् हो ।

राज्यको यो चरम असफलतालाई जनसमक्ष उजागर गर्दै छोटो समयमै सत्तामा पुग्न रास्वपा सफल हुँदा सबै तह, तप्का र वर्गका जनतामा ठुलो आशा छाएको थियो । तर श्रमजीवी वर्गका निम्ति यो आशा अब निराशामा परिणत हुँदै गएको संकेत हो, गणेश नेपालीको आत्मदाह । जब नागरिकले सडकमा आफ्नै शरीरमा आगो झोस्न थाल्छ, तब सिंहदरबारको जग हल्लिन्छ भन्ने कुरा ३ वर्षअघि प्रेम आचार्यको प्रकरणले उजागर गरिसकेकै छ । त्यसैले आफ्ना नागरिकलाई ढुक्कसँग बाँच्न सक्ने आधार र भरोसा प्रदान गर्नु नै सरकारको मुख्य दायित्व हो भन्ने यथार्थबाट सरकार नडगमगाओस् ।

प्रतिक्रिया