
काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालको प्रमुख खाद्यबाली धानको उत्पादकत्व बढेको छ । किसान पलायन, मल अभाव, प्राकृतिक प्रकोप तथा खेतीको क्षेत्रफल घट्दा पनि धान उत्पादन भने निरन्तर बढेको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अध्ययन प्रतिवेदनअनुसार उत्पादनसँगै धानको उत्पादकत्व (कम लागत, समय र श्रमको प्रयोग गरेर धेरै र गुणस्तरीय उत्पादन) मा पनि वृद्धि हुँदै गएको छ । आधुनिक कृषि खेती तथा उन्नत बिउको प्रयोग र सिँचाइ सुविधाले धानको उत्पादकत्व वृद्धि भएको विज्ञहरू बताउँछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०८१/८२ मा धानबालीको क्षेत्रफलमा कमी आए पनि रासायनिक मल र हाइब्रिड बिउबिजनको सहज उपलब्धता साथै अनुकूल मौसमी वर्षाका कारण उत्पादन बढेको हो । विज्ञहरूका अनुसार धानको उत्पादन बढ्नुमा उन्नत बिउको उपलब्धता र प्रयोग, रोक किराको प्रकोपमा कमी, बाढीपहिरोबाट पर्ने असरमा कमी, मलखादको सहज उपलब्धता, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई मुख्य आधार मानिएको छ । धानबालीलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । विज्ञहरूका अनुसार जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन (जिडिपी) को अवस्था पनि खुम्चिन्छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जिडिपीमा १ प्रतिशतले घटबढ हुने दाबी गरिएको छ ।
पछिल्लो १२ वर्षमा ६८ हजार हेक्टर धान खेतीको क्षेत्रफल घट्दा उत्पादन भने ९ लाख ७ हजार मेट्रिक टन बढेको देखिन्छ । आव २०७०/७१ मा १४ लाख ८७ हजार हेक्टरमा धान खेती गरिएकामा २०८१/८२ मा उक्त क्षेत्रफल घटेर १४ लाख १९ हजार हेक्टरमा सीमित भएको छ । २०७०/७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएकामा २०८१/८२ मा ५९ लाख ५४ हजार मेट्रिक टन पुगेको छ । यो अवधिमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.४ बाट बढेर ४.२ पुगेको छ । राष्ट्र बैंकका अनुसार आव २०७१/७२ मा १४ लाख २६ हजार हेक्टरमा धान खेती गरिएकामा ४७ लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै, आव २०७२/७३ मा १३ लाख ६३ हजार हेक्टरमा ४२ लाख ९९ हजार मेट्रिक टन, २०७३/७४ मा १५ लाख ५२ हजार हेक्टरमा ५२ लाख ३० हजार मेट्रिक टन, २०७४/७५ मा १४ लाख ६९ हजार हेक्टरमा ५१ लाख ५२ हजार मेट्रिक टन, २०७५/७६ मा १४ लाख ९२ हजार हेक्टरमा ५६ लाख १० हजार मेट्रिक टन र २०७६/७७ मा १४ लाख ५९ हजार हेक्टरमा ५५ लाख ५१ हजार मेट्रिक टन उत्पादन भएको तथ्यांक छ । २०७७/७८ मा १५ लाख ७ हजार हेक्टरमा ५६ लाख ९६ हजार मेट्रिक टन, २०७८/७९ मा १४ लाख ७७ हजार हेक्टरमा ५१ लाख ३२ हजार मेट्रिक टन, २०७९/८० मा १४ लाख ४७ हजार हेक्टरमा ५४ लाख ८६ हजार मेट्रिक टन र २०८०/८१ मा १४ लाख ३८ हजार हेक्टरमा ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांक छ ।
चालु आव २०८२/८३ मा भने वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा ३ प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा ३ अर्ब ५५ करोडको क्षति भएको तथ्यांकका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धान उत्पादन घट्ने प्रक्षेपण गरेको हो । यस वर्ष ६० लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको थियो । दुई तिहाइभन्दा बढी किसानको जीविका र आम्दानीको प्राथमिक स्रोत मानिने धानले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ ।
००
कुन प्रदेशमा कति उत्पादन ?
प्रदेशगत हिसाबले आव २०८१/८२ मा सबैभन्दा धेरै धान मधेस प्रदेशमा उत्पादन भएको छ भने सबैभन्दा कम कर्णालीमा छ । मधेसमा १४ लाख ८० हजार ८२९ मेट्रिक टन उत्पादन हुँदा कोसीमा १४ लाख ६६ हजार ५१९, कर्णालीमा १ लाख ३० हजार ११९, लुम्बिनीमा १३ लाख ६२ हजार ६६९, बाग्मतीमा ४ लाख ९८ हजार ६६१, गण्डकीमा ३ लाख ७९ हजार ३२ र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २११ मेट्रिक टन धान उत्पादन भएको छ ।
०००
उत्पादन बढे पनि अर्बौंको धान–चामल आयात

धान उत्पादन वृद्धि हुँदै गए पनि भारतसहित तेस्रो मुलुकबाट वार्षिक अर्बौं रुपैयाँको धान र चामल आयात हुने गरेको छ । नेपालमा वार्षिक झन्डै ७ लाख मेट्रिक टन धानको माग रहेको बताइन्छ । नेपाली उत्पादनले माग धान्ने अवस्था नरहेको र नेपालमा भित्रिने विप्रेषणले सहरिया जीवनशैली बाँच्न चाहनेको संख्या बढ्दा धान र चामलको आयात निरन्तर बढ्दै गएको हो । नेपालले आव २०३५/३६ मा २४ करोड ३८ लाख ६३ हजार रुपैयाँको चामल निर्यात गरेको तथ्यांक छ । त्यसबेला जनसंख्या र उपभोग दर न्यून भएकाले निर्यात भएको सरकारी दाबी छ । उपभोक्ताले पनि मिठोमसिनो र बास्नादार चामल प्रयोगमा बढी ध्यान दिन थालेपछि नेपाली किसानको धान बिक्री नहुने, तर विदेशबाट महँगो धान र चामल आयात गर्नुपरिरहेको बताइन्छ ।
सरकारी तथ्यांकअनुसार आव २०७६/७७ मा २२ अर्ब २४ करोड रुपैयाँको चामल र १० अर्ब ४८ करोडको धान आयात भएको देखिन्छ । २०७७/७८ मा २७ अर्ब ६३ करोडको चामल र २० अर्ब ५५ करोडको धान, २०७८/७९ मा २९ अर्ब ५ करोडको चामल आयात भएको देखिन्छ । २०७९/८० मा १५ अर्ब ६३ करोडको चामल र २० अर्ब ७५ करोडको धान, २०८०/८१ मा ९ अर्ब २९ करोडको चामल र १२ अर्ब ९४ करोडको धान आयात भएको सरकारी तथ्यांक छ भने गत आव २०८१/८२ मा ३९ अर्ब ८८ करोड ३५ लाख ८७ हजार रुपैयाँको धान र चामल आयात भएको छ ।
प्रतिक्रिया