करोडौँ रकम ठगेको आरोपमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौं । प्रहरीले टुङ्गरम ईन्टरनेशनल एकेडेमी प्रालिको करोडौँ रकम ठगेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ । ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा ५४ वर्षीय शेर्पालाई शुक्रबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एकेडेमीका तर्फबाट अख्तियार प्राप्त राम चन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराई प्रहरीले निजलाई बुढानिलकण्ठ नगरपालिका–६ गणेशचोकबाट नियन्त्रणमा लिएको हो । शेर्पाको स्थायी घर काठमाडौं महानगरपालिका– १ मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालयको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा शेर्पाले एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने अधिकार पाएका थिए। सोही अवधिको फाइदा उठाउँदै उनले आफ्नो जिम्मामा रहेको विद्यालयको रु ८ करोड ७८ लाख ३० हजार ८०२ रकम हिनामिना गरेको जाहेरीमा उल्लेख छ ।

उनले विद्यालयलाई अनुचित नोक्सानी पुर्‍याउने र आफू तथा आफ्ना मानिसहरूलाई लाभ गराउने नियतले विभिन्न प्रपञ्च, डर(त्रास र अनुचित प्रभावमा पारी उक्त रकम हिनामिना गरेको पाइएको छ ।

आर्थिक घोटाला मात्र नभई शेर्पाले विद्यालयको अचल सम्पत्ति समेत हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ। उनले भक्तपुरको साविक दधिकोट गाविस वडा नं. २ मा रहेको विद्यालयको करिब २९ रोपनी ४ आना २ पैसा १ दाम (२९–४–२–१ रोपनी) जग्गा आफूसम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको पाइएको छ ।

साथै, विद्यालयका लागि सवारी साधन खरिद गर्ने भनी छुट्याइएको रकमबाट उनले व्यक्तिगत तथा आफ्ना कम्पनीहरूको नाममा जग्गा, जमिन र गाडीहरू खरिद गरी विद्यालयको हक मेटाएर व्यक्तिगत लाभ लिएको प्रहरी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय विभिन्न राजनीतिक चलखेल भएर नेपाली फुटबल खेलमा धक्का लागेको छ । विश्वको सर्वोच्च फुटबल निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन समेत गरेको छ । एन्फा निलम्बन भएसँगै पूर्वअध्यक्ष शेर्फा पक्राउ परेका हुन् ।

प्रतिक्रिया