स्याङ्जामा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दि–चापाकोट सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ताप्केबाट वालिङतर्फ आउँदै गरेको BAA ७९०५ नम्बरको डबल क्याप बलेरो जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी वालिङ नगरपालिका–७ बस्ने २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको बताइएको छ । प्रहरीका अनुसार २२ जना सवार जिपमा अन्य २० जना यात्रु घाइते भएका छन् ।

घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा र बुटवल रिफर गरिएको छ । प्रहरीले जिप चालक वालिङ–७ बस्ने २८ वर्षीय मीन बहादुर सारूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पोखरा रिफर गरिएका १७ जना घाइतेहरूमा वालिङ–७ की ४६ वर्षीया रुपकला सारूकोअवस्था गम्भीर, रूपन्देही गैडाहवा–४ की ५५ वर्षीया सुमित्रा गुरूङको अवस्था गम्भीर, नवलपरासी पूर्व कावासोती–५ की ४१ वर्षीया मायादेवी सुनारीको अवस्था गम्भीर र उनकी १२ वर्षीया छोरी कर्मिसा सुनारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा पठाइएका अन्य घाइतेहरूमा वालिङ–७ की ४५ वर्षीया जैकला सारू, पोखरा–९ की २० वर्षीया रुक्सना थापा, रूपन्देही देवदह–५ की ४६ वर्षीया कमला थापा, स्याङ्जा बिरुवा–६ का ३९ वर्षीय टोप बहादुर थापा, वालिङ–७ की ४९ वर्षीया गौमाया सारू, सोही ठाउँका ५९ वर्षीय बेल बहादुर आले, ३० वर्षीय कुमार सारु र ३८ वर्षीया ज्ञानुमाया सारू रहेका छन् ।

नवलपरासी पूर्व गैँडाकोट–२ की २६ वर्षीया आस्मा तामाङ सारु र उनकी २० महिनाकी छोरी प्रिन्सा सारु, रूपन्देही गैडाहवा–४ की ४० वर्षीया साबित्रा मगर, ५१ वर्षीया धन कुमारी उचाई र देवदह–६ की ५१ वर्षीया नन्द कुमारी रानाको पनि पोखरामा उपचार भइरहेको छ ।

बुटवल रिफर गरिएका घाइतेहरूमा रूपन्देहीको तिलोत्तमा गाउँपालिका–७ भलभाडीका ७३ वर्षीया भिम कुमारी थापा र ४७ वर्षीया लालसुवा थापा रहेका छन् । दुर्घटनामा घाइते भएका एक जना बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया