रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय सञ्चिति २२ अर्ब डलर

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकाअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले वृद्धि भएको हो । चालु आवको ५ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । चालु आवको मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ, भने गत वर्षको मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाह ६ अर्ब १६ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । डलरको मूल्यमा आएको वृद्धि र वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दा रेमिट्यान्स बढेको अर्थविद्हरू बताउँछन् ।

चालु आर्थिक वर्षको ५ महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ३९ हजार ५१५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

विदेशी विनिमय सञ्चिति २२ अर्ब १३ करोड डलर

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो, भने मंसिर मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति २२ अर्ब १३ करोड पुगेको हो ।

राष्ट्र बैंकका अनुसार हाल रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । ‘आर्थिक वर्ष २०८२/०८३ को ५ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय (मुद्रा) सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । मंसिरमसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँग १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ३९.४ प्रतिशत छन् ।

अध्ययनका लागि बाहिरियो ५६ अर्ब ५२ करोड

पछिल्लो समय विदेश पढ्न जाने विद्यार्थीको संख्या बढेसँगै बाहिरिने रकम पनि बढ्दै गएको छ । विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीसँगै ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ५६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ९ अर्ब ७ करोडले बढी हो ।

अघिल्लो वर्षको यसै अवधिमा ४७ अर्ब ४५ करोड रकम बाहिरिएको थियो । नेपाली विद्यार्थीबाट ५६ अर्ब बढी रकम बाहिरिएसँगै विदेशबाट नेपाल अध्ययनका लागि आउने विद्यार्थीबाट १ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ ।

मूल्यवृद्धि १.६३ प्रतिशतमा

चालु आव २०८२/०८३ को मंसिरमा उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) १.६३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/०८३ को ५ महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो । यस्तै, समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ ।

चालु खाता र शोधनान्तर बचतमा

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ ।

प्रतिक्रिया