नेपालीहरू यहाँ काम भएन भन्दै विभिन्न मुलुक गइरहेका छन् । तर, भारतीयहरू कामका लागि नेपाल आइरहेका छन् । कपाल काट्ने, फलफुल बेच्ने, कबाडी संकलन गर्ने, वर्कसपमा मिस्त्री काम गर्ने, कपडा बेच्ने, किराना पसल थाप्ने, घर निर्माण गर्नेलगायतका काममा भारतीयको संख्या ठुलो छ ।
काम गर्ने मात्र नभई सडक, आकाशे पुल, मठमन्दिर, सार्वजनिक स्थलमा माग्न बसेकामध्ये धेरै भारतीय नै छन् । नेपाल र भारतको सीमाना खुल्ला भएकाले भारतीयहरू कुनै प्रक्रियाबिनै यहाँ काम गर्न आउँछन् ।
२०४६ सालपछि नेपालमा एउटा सन्तान जन्माउने प्रचलन आएको छ । एउटा सन्तान जन्माउने, त्योपनि विदेश पठाउने । अहिलेका युवामा विवाहप्रति पनि कुनै रुचि छैन । यसले गर्दा जनसंख्यामा ठूलो असर परेको छ । ३०–३५ वर्षसम्म युवायुवती नै विवाह गर्दैनन्, विवाह गरे पनि बच्चा जन्माउँदैनन् ।
यता, सरकारले पनि ‘दुई सन्तान, सुखी परिवार’ को परिवारको नीति ल्यायो । विवाह गर्न पनि २० वर्ष पुग्नुपर्ने नियम बन्यो । जसका कारण मुलुकको जनसंख्यालाई ठुलो धक्का लाग्यो । जन्मदर निरन्तर ओरालो लागिरहेको छ । विवाह गर्नलाई २० वर्ष पुग्नुपर्नेमा विदेश जानलाई १८ वर्ष लागे हुन्छ । सरकारको द्वैध चरित्र यहीँबाट पुष्टि हुन्छ । जसका कारण नेपालमा नेपाली कम हुँदै र भारतीयहरू बढी हुँदै गइरहेका छन् ।
भारतको पोलेसी नेपाल सरकार र नेपाली सञ्चारकर्मीले कहिल्यै बुझेनन् । भारतको पोलेसी जसरी पनि नेपालको जनसंख्यामा आफ्नो मूलका व्यक्तिको बहुमत पुर्याउनु हो । नेपालका उद्योग कलकारखाना बन्द गर्ने, एउटादेखि दुईटा सन्तान जन्माउन नदिने, त्यो पनि विदेश पठाउने अनि आफ्ना जनता ल्याएर यहाँ राज गराउने । भारत त आफ्नो योजनामा सफल भइसकेको छ । नेपालीलाई विदेश पठाएर यहाँ सबै व्यापार व्यवसायमा उनीहरूले हस्तक्षेप गरेका छन् ।
नेपालबाट नेपालीलाई पलायन गराउने योजना भारतको भए पनि नेपाल सरकारले त्यसमा पूर्ण सहयोग गर्यो । भारतले जसोजसो भन्यो, त्यसै गर्दै गयो । भारतकै निम्ति आफ्ना जम्मै उद्योग कलकारखाना बन्द गर्यो । यहाँ केही उत्पादन नभएपछि सबै सामान भारतबाट आयात गर्नुपर्छ ।
२०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । रोजगारी र शिक्षाका लागि १ करोडभन्दा बढी जनसंख्या अन्य देशमा छ । अधिकांश नेपालीले नेपाली नागरिकता त्यागेर त्यो मुलुकको नागरिकता लिएका छन् । उनीहरू अब त्यतैको नागरिक भइसकेका छन् । नागरिकता पाउने मुलुकमा पुगेका नेपालीहरूले यहाँ भएको सम्पत्ति बेचेर लगिसके । अब उनीहरूलाई यहाँ के हुन्छ ? कुनै सरोकार नै हुँदैन ।
सन्तान पाल्न गाह्रो हुन्छ भनेर जनता वैवाहिक बन्धनमा बाँधिन अरुचि देखाइरहेका छन् । सरकार पनि वास्ता नै गर्दैनन् । नेपालीलाई विदेश पठाएर सरकारले बाहिरी देशको मान्छे ल्याएर यहाँ व्यापार व्यवसाय गराइरहेको छ ।
भारतले नेपाली नेतालाई भूमिगतको समयमा त्यतिकै पालेको होइन रहेछ । लड्नका लागि सित्तैमा हतियार दिएको होइन रहेछ । उनीहरूको पोलेसी भित्रभित्रै नेपाल सिध्याउने रहेछ । घर नेपालीको छ, तर भाडामा बस्ने भारतीय छन् ।
प्रत्येकजसो नेपालीको घरमा भारतीयको बसोबास रहेको छ । आफ्नो घरमा अर्का देशको नागरिकलाई राखेर घरधनीले आफ्नो सन्तानचाहिँ विदेश पठाएको छ । भोलि केही कारणबस नेपाल र भारतको सम्बन्ध बिग्रियो, खटपट आयो भने भारतले त सहजै नेपाललाई कब्जामा लिन्छ । नेपाल सरकारले भारतीयलाई यहाँ आफ्नो सन्तानजसरी पालिरहेको छ ।
नेपाली जति जम्मै विदेश पठाएर भारतीय ल्याउनेले राष्ट्रियताको कुरा गर्न सुहाउँछ ? खेतीपातीले खान नपुगेपछि र रोजगारीका लागि नेपाल सहर छिरे । सहर पनि सोचेको जस्तो नभएपछि नेपाली विदेश गए । अहिले त गाउँ पनि खाली भयो सहर पनि । नेपाली रित्तिए पनि भारतलाई सहज भएको छ । देशको कुनाकुनामा भारतीय पुगेका छन् ।
भारतीयहरू यहाँ आएर बिनालगानी महिनाको लाखौँ कमाउँछन् । त्यो पैसा भारत दौडाइरहेका छन् । अब भनौँ, ‘हामी नेपाली कहाँ छौँ, हाम्रो बुद्धि कहाँ छ ? नेपाल सरकारसँग भिजन छ ?’
अनुषा थापा, भक्तपुर
००००००००००००००००
पानीजहाजको भूत अझै सवार
राष्ट्रिय सभाको सोमबार बसेको बैठकले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरेको समाचार आएको छ । पानीजहाज कुन ठाउँमा सञ्चालनका लागि कानुन बनाइएको हो ? प्रधानमन्त्री ओली नै जानुन् ।
संविधान बनेको १० वर्ष पुगिसक्यो, तर संविधानसँग बाझिएका कानुनहरू संशोधन गर्ने तथा संविधान अनुकूल थुप्रै कानुन निर्माण गर्न बाँकी छन् । जसका कारण शिक्षक आन्दोलनदेखि कर्मचारी आन्दोलनसम्मका ठुला चुनौती थपिएका छन् । आवश्यक कानुन तर्जुमा नहुँदा संविधान कार्यान्वयन हुन सकिरहेको छैन । यता सरकार तथा संसद्ले पानीजहाज विधेयकलाई प्राथमिकताका साथ पारित गरेको छ ।
हाम्रो देश समुन्द्रबाट निकै टाढा छ । देशभित्रका नदीहरू पानीजहाज चलाउन मिल्ने खालका छैनन् । सरकार तथा संसद्को ध्यान पानीजहाज कानुनमा किन छ ?
कृष्णचन्द्र लोहनी, भानु–४, तनहुँ
प्रतिक्रिया