बौद्ध साहित्यअनुसार देवताहरू २ प्रकार हुन्छन् : १) सहयोगी देवता २) बाधा अड्चन गराउने असहयोगी देवता जसलाई मार देवता वा मार भन्ने गरिन्छ । यी मार देवताहरूले भगवान् बुद्धको बुद्धत्व प्राप्त गर्ने कार्यमा सधँै अवरोध गर्ने गरेका थिए । उहाँले गृहत्याग गर्ने समयमा मारले आई चक्रवर्ती राजा हुने प्रलोभन देखाएर गृहत्याग नगर्न अनुरोध गरेका थिए । तर सिद्धार्थ गौतम आफ्नो लक्षमा अटल रहनुभयो ।
आज माघ ३० गते बुद्ध सम्बत २५६८ तदनुसार २०८१ माघ पूर्णिमाको दिन बौद्धहरूका लागि ‘आयु संस्कार परित्याग दिवस’ परेको छ । आजको दिन बौद्ध संस्कारअनुसार बुद्ध जयन्ति जत्तिकै महत्वपूर्ण दिन रहेको छ । यसको महत्व बुझेरै काठमाडौँको सिखंमूबहाःले आयुसंस्कार परित्याग दिवसको रूपमा मनाउने कार्य गत वर्षदेखि थालनी गरेको थियो र यसवर्ष पनि निरन्तरता दिने भएको छ । बौद्ध साहित्य अनुसार आयुसंस्कार परित्याग भनेको के हो र किन यसको धेरै महत्व छ भन्ने केही बुझ्नु आवश्यक छ । यसको लागि बुद्ध जीवनीको अन्तको केही घटनाक्रमलाई अध्ययन गर्न जरुरी हुन्छ जुन यहाँ वर्णन गर्न प्रयास गरिएको छ ।
बौद्ध साहित्यअनुसार देवताहरू २ प्रकारका हुन्छन् ः १) सहयोगी देवता २) बाधा अड्चन गराउने असहयोगी देवता जसलाई मार देवता वा मार भन्ने गरिन्छ । यी मार देवताहरूले भगवान बुद्धको बुद्धत्व प्राप्त गर्ने कार्यमा सधँै अवरोध गर्ने गरेका थिए । उहाँले गृहत्याग गर्ने समयमा मारले आई चक्रवर्ती राजा हुने प्रलोभन देखाएर गृहत्याग नगर्न अनुरोध गरेका थिए । तर, सिद्धार्थ गौतम आफ्नो लक्षमा अटल रहनुभयो । यसपछि बोधिज्ञान लाभ गर्ने कार्यमा प्रयासरत रहँदा पनि अनेक पटक त्यो प्रयासलाई असफल बनाउन मारदेवताले बाधा सिर्जना गरी नै रहे ।
मारको बाधा अड्चन बाबजुद सिद्धार्थ गौतमले बोधिज्ञान लाभ गरेर देखाउनुभयो । बुद्धत्व लाभ भइसकेपछि पनि मारले आई भगवान्लाई धर्म प्रचार नगरिकन परिनिर्वाण हुन अनुरोध गरेका थिए । यसको जवाफमा भगवान बुद्धले, ‘जबसम्म मेरो धर्मलाई जान्ने, बुझ्ने, विपक्षीको प्रश्नको उत्तर दिन सक्ने, धीर, त्यागी भिक्षुहरू, उपासक र उपासिकाहरू हजारौँको संख्यामा हुँदैन तबसम्म परिनिर्वाण हुने छैन ।’ भनी जवाफ दिनुभएको थियो ।
यस घटनाको ४४ वर्षपछि (ई.पू.४८४) भगवान् बुद्ध वेलुवग्राममा विहार गरिरहनुभएको थियो । त्यहाँ बुद्धले भिक्षुहरूलाई आमन्त्रण गर्दै भन्नुभयो, ‘तिमीहरू सबैजना यहाँ बैशालीका चिनेजानेका मित्रहरूकहाँ वर्षावास गर्नु म यहीँ वेलुवग्राममा वर्षाबास बस्छु ।’ यसपछि भिक्षुहरू यथाअनुकूल वर्षाबास बस्न गए ।
भगवान् बुद्धले आफ्नो वर्षाबास सुरु गरेपछि रोगव्याधीले अत्यन्त सतायो । मरणासन्न हुने गरी वेदना भयो । त्यस पीडालाई भगवान् बुद्धले स्मृति सम्प्रजन्यद्वारा सहनुभयो । त्यसबेला उहाँले विचार गर्नुभयो कि, ‘मैले उपस्थापकहरू (सेवकहरू)लाई जानकारी नदिई, भिक्षुसंघको अवलोकनविना परिनिर्वाण हुनु उचित हुँदैन । म यो आबाध (ब्याधि)लाई हटाएर जीवन संस्कारलाई दृढतापूर्वक धारणा गर्दै विहार गर्छु ।’ जनता रोगव्याधीबाट मुक्त पनि भए ।
तत्पश्चात पूर्वान्हको समयमा भगवान् पात्र चीवर धारण गरेर भिक्षाका लागि बैशालीमा प्रवेश गर्नुभयो । बैशालीमा पिण्डाचार र भोजन सकेर आयुष्मान् आनन्दलाई सम्बोधन गर्नुभयो, ‘हे आनन्द ! आसन समाऊ, चापाल चेतिय (चैत्य) स्थानमा अपरान्ह बिहार गर्न जाऊँ ।’ आयुष्मान आनन्दले ‘हस् हुन्छ ।’ भनी जवाफ दिएर भगवान्को पछिपछि लाग्नुभयो । चापाल चेतियमा पुगेर ठुलो ढुंगामाथि आसन ओछ्याउन लगाएर भगवान् बस्नुभयो । आयुष्मान आनन्दले भगवान्लाई अभिवादन गरेर एक छेउमा गई बस्नुभयो ।
एक छेउ बसेका आयुष्मान् आनन्दलाई भगवान्बाट यस्तो आज्ञा भयो, ‘आनन्द ! बैशाली रमणीय छ, उदेन चेतिय (चैत्य) रमणीय छ, गोतमक चेतिय रमणीय छ, सतम्ब चेतिय रमणीय छ, बहुपुत्त चेतिय रमणीय छ, सारन्दक चेतिय रमणीय छ, चापाल चेतिय रमणीय छ, ! जसले ४ ऋद्धिपाद ध्यान गरिसक्यो, प्रशस्त अभ्यासद्वारा अभ्यस्त भइसक्यो, प्रशस्त ज्ञान प्राप्त गरिसक्यो, र सुरुआत गरिसक्यो त्यस्ता व्यक्तिले इच्छा गरेको खण्डमा कल्पभर वा कल्पको बाँकी समयसम्म बाँच्न सक्छ ।’ यी वाक्यहरू बुद्ध भगवान्ले ३ पटकसम्म (दोहो¥याई तेह¥याई) सुनाउनुभएको थियो । तर आयुष्मान आनन्दको चित्तलाई मारले छोपिराखेकोले केही बोल्न सकेनन्, बुझ्न सकेनन् र भगवान्सँग ‘भन्ते, बहुजन हितका लागि, बहुजन सुखका लागि लोकलाई अनुकम्पा राखी, देव मनुष्यहरूको हित सुखका लागि कल्पभर बाँच्नुहोस् ।’ भनी प्रार्थना गर्न सकेनन् ।
तत्पश्चात भगवान्ले आयुष्मान् आनन्दलाई भन्नुभयो, ‘आनन्द ! तिमी समयानुसार कहीँ जाऊ ।’ हस् हुन्छ, भन्दै आयुष्मान आनन्दले भगवान्लाई जवाफ दिए । अनि आसनबाट उठी भगवान्लाई अभिवादन तथा प्रदक्षिणा गरी केही पर रुखको छहारीमा बस्न गए ।
त्यसपछि आयुष्मान् आनन्द पर गएको क्षणभर पछि नै मार जहाँ भगवान् बसिरहनुभएको थियो त्यहाँ आई एक छेउमा बसे र मारले भगवान्लाई यसरी भन्न थाले, ‘भन्ते ! भगवान् अब परिनिर्वाण हुनुहोस् । हे सुगत ! भगवान्को परिनिर्वाण हुने समय भयो ।’ भन्ते ! भगवान्ले यस्तो भन्नुभएको थियो, ‘पापी ! म त्यसबेलासम्म परिनिर्वाण हुनेछैन जबसम्म मेरा भिक्षुहरू बुझेको, विनित, विशारद, बहुश्रुत, धर्मधर, धर्मानुसार धर्म मार्गमा आरूढ हुन्छन्, आख्यात, प्रज्ञावान्, हरेक प्रश्नको उत्तरदिन सक्षम, आवश्यकता अनुसार प्रातिहार्यसहित धर्मदेशना गर्न सक्षम हँुदैन ।’ ‘भन्ते यस समयमा भिक्षुहरू व्यक्त, विनित, विशारद, बहुश्रुत, धर्मधर, धर्मानुसार धर्म मार्गमा आरूढ भइसकेका छन्, आख्यात, प्रज्ञावान्, हरेक प्रश्नको उत्तरदिन सक्षम, आवश्यकताअनुसार प्रातिहार्यसहित धर्मदेशना गर्न सक्षम भइसकेका छन् । भन्ते ! भगवान् अब परिनिर्वाण हुनुहोस् । हे सुगत ! अब परिनिर्वाण हुनुहोस् । भन्ते ! भगवान् अब परिनिर्वाण समय भयो ।’ यसरी ३ पटकसम्म प्रार्थना गरेका थिए ।
यति भनिसकेपछि भगवान्ले मारलाई यसरी आज्ञा गर्नुभयो, ‘हे पापी ! धेरै धन्दा लिनु पर्दैन । चाँडै नै तथागतको परिनिर्वाण हुनेछ । आजको ३ महिनापछि तथागतको परिनिर्वाण हुनेछ ।’ यसपछि भगवान्ले चापाल चेतियमा स्मृति सम्प्रजन्यमा रहेर आयु संस्कार त्याग गर्नुभयो । त्यो दिन माघ महिनाको पूर्णिमाको दिन थियो । यसरी पूर्वघोषित समयअनुसार नै ठिक ३ महिनापछि वैशाख पूर्णिमाका दिन भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो । यसैले यो दिनलाई आयुसंस्कार परित्याग दिवसको रूपमा सबै बौद्ध समुदायमा मनाउने चलन रहेको छ ।
सन्दर्भ पुस्तकहरूः
दीघनिकाय (नेवारी) अनुवादक दुण्ड बहादुर बज्राचार्य, वीर–पुर्ण स्मृति ग्रन्थमाला (३) २०४६
बुद्धचर्या (हिन्दी) राहुल सांकृत्यायन, महाबोधि सभा, सारनाथ बनारस, ई.सं. १९५२
प्रतिक्रिया