जति हामीले अदालतलाई पवित्र बनाउन सक्यौँ, साच्चिकै न्यायको मन्दिर बनाउन सक्यौँ, त्यति नै अदालतले पनि हामीलाई मर्यादा र स्वाभिमान दिन्छ । अदालत मर्यादायुक्त भए मात्र हामी मर्यादित हुने हो । अदालतको मर्यादालाई आफ्नो व्यक्ति प्रधानतामा लैजानु दुर्घटनाको बाटो हो ।
नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले केही दिनअघि सर्वोच्च अदालतभित्र २ वटा अदालत रहेको संकेत गरे । त्यसको केही दिनपछि सर्वोच्च अदालतकै एक कर्मचारीले रेशम चौधरी काण्ड मच्चाए । यो काण्डले बारका अध्यक्ष मिश्रको भनाइ धेरै हदसम्म पुष्टि भएको छ । न्यायमूर्ति बाहेकका व्यक्तिहरूको समेत अदालतमा चलखेल हुने गरेको अनुमानलाई बलपुग्ने घटनाले ठूलो प्रश्न उठाएको छ । महिमान विष्ट व्यक्ति मात्रै नभएर प्रवृत्ति हो ।
यस्ता प्रवृत्तिले मुद्दालाई कानुनको उचित प्रक्रियाबाट फस्र्योट वा अन्त्य गर्ने भन्दा भिन्न, न्यायलाई व्यक्ति केन्द्रित बनाउन सक्छन् । रेशम चौधरी राष्ट्रले चिनेको र सबैले चासो दिएका व्यक्ति भएकोले यो घटना तत्काल उजागर भयो । सर्वसाधारण नागरिकसँग जोडिएका र सतहमा नआएका यस्ता घटना अरू छैनन् र अब हुँदैनन् भनेर ढुक्क हुन सक्ने अवस्था रहेन ।
अदालतमा न्यायाधीश मात्रै हुँदैनन्, कर्मचारी पनि हुन्छन् । न्यायाधीशले न्याय दिएजस्तै न्यायको सहज मार्ग देखाउने कर्मचारीहरूले हो । तर कर्मचारीहरूले यो भूमिका निर्वाह गरेनन् वा आनाकानी गरे भने परिणम घातक हुन्छ । न्यायको परिभाषाअनसार यसले व्यक्ति केन्द्रित न्यायको पाखण्ड भन्नेजस्ता विभिन्न अर्थ लाग्छन् । मुद्दा दर्ता गर्दाको प्रक्रियाबाटै यस्ता खेल सुरु हुन्छन् । दर्ता हुनु नै नपर्ने मुद्दा दर्ता गरिदिएर वा दर्ता हुनुपर्ने मुद्दा पनि विभिन्न चलखेलले दर्ता नगरीदिएर वा महिमानको जस्तै हर्कत गरेर न्यायको ढोका नै बन्द गर्ने षड्यन्त्र पनि हुन्छ भन्ने यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन ।
अदालत भनेको यस्तो ठाउँ हो जहाँ आएका मुद्दामा कानुनी एवं संवैधानिक उपचार मात्र होइन मुद्दा पर्नुका कारणको, जराको वा मुद्दाको गुदीतत्वको खोजी गरिन्छ । मुद्दाको पूर्ण समाधान गरी समाजलाई मानवीय सभ्यतामा टिकाउने मार्गदर्शन गराउने अति संवेदनशील ठाउँ पनि अदालत हो । यसैले अदालतलाई मानव सभ्यताको प्रथम सूचकको रूपमा वा राज्यको तेस्रो आँखाको रूपमा आदर गरिन्छ । किनकी यसले कानुनी एवं संवैधानिक उपचार दिनुभन्दा पहिला आचरण र व्यवहारबाट न्याय निरुपण गराउने सतमार्ग दिन्छ । सायद यसै कारणले हुन सक्छ अदालतलाई कानुनी एवं संवैधानिक उपचारभन्दा पनि पर गएर पनि आफ्नो न्यायिक शक्तिको प्रयोग गर्ने असाधारण अधिकार दिएको हुन्छ । ‘जहाँ नपुगे रवि त्यहाँ पुगे कवी’ भने जस्तै दबाइएका वा उसको सूचनामा आएका न्यायको सम्बोधन गर्नुपर्ने कुरामा आफँै अग्रसर भएर वा कार्यपालिका वा व्यवस्थापिका निष्क्रिय भएको ठाउँमा पनि सक्रिय निर्णय गर्ने संवैधानिक अधिकार अदालतलाई दिएको हुन्छ ।
सामाजिक न्यायप्रति अदालतका कर्मचारीले अरू निकायमा काम गर्ने कर्मचारीको भन्दा फरक क्षमता, फरक समर्पण फरक त्याग, फरक तपस्या, फरक शुद्धता प्रकट गर्छन् भनेर नै अदालतलाई असाधारण अधिकारको उपयोग गर्ने शक्ति दिइएको हुन्छ । यस्तो विभिन्नताको शृंखला अदालतमा काम गर्ने कार्यालय सहयोगीदेखि लिएर रजिस्टारसम्म हुन्छ । यद्यपि उनीहरूको कानुनी एवं संवैधानिक अधिकारमा केही फरकपन हुन्छ । उनीहरूले गर्ने कानुनी एवं संवैधानिक अधिकारको अलावा देखाउने व्यवहार, आचरण एवं नियतले पनि न्यायमा ठुलो असर परिरहेको हुन्छ । तर त्यो कुरो सहज रूपमा पत्ता भने लाग्दैन ।
भाग्यवादी सोच, सामन्ती संस्कृति, पदलाई शक्ति मान्ने समाजमा पदीय दुव्र्यवहारलाई आमजनताले बुझ्न पनि नसकेको हुन सक्छ । तर पक्ष लाटो भए पनि वकिल लाटो हुँदैन भन्ने लोकोक्ति रहेको छ । कानुन व्यवसायीलाई समाजको अभियन्त्र गर्ने वर्ग मानिन्छ । यस्ता सामाजिक न्याय विरोधी विकृतिलाई उजागर गर्नु कानुन व्यवसायीको कर्तब्य हो । अदालती विकृतिलाई बाहिर ल्याउनु आवश्यक छ । मुस्कान सहितको न्याय सेवाको अवधारणा ल्याउने सदसंकल्प यसैकारणले गरिएको हुन सक्छ ।
धन एवं पदीय अधिकारको दुरुपयोगबाट पनि अदालतमा प्रायः मुद्दा आएका हुन्छन् । अतः अदालत पदीय शक्ति प्रदर्शन गर्ने ठाउँ नभएर सुस्वरता वा सर्वोत्कृष्ट मानवीय सुसभ्यतालाई समाजमा प्रतिस्थापन गरी शान्तिको बाटोबाट न्यायको धरातल उँचो गर्ने ठाउँ हो । यहाँ हुने पदीय शक्तिको चलाखी, छट्टुपन, पाखण्डीपन, सनकपन बन्दगरी न्यायको सुमार्गलाई एकनाशले बग्ने अविरल हिमगंगाजस्तो पवित्र बनाउनु आवश्यक छ । जहाँ गएर सबैले आफ्नो पाप पखाल्ने मौका पाउन ।
अदालतबाट विभिन्न समयमा अधिकारको प्रयोग विवेकपूर्ण तवरले हुनुपर्छ भन्ने सिद्धान्त प्रतिपादन भएका छन् । त्यसैले पदको पाखण्डबाट कसैलाई मानसिक हिंसा, धनको लोलुपता वा न्यायको बाटो अड्काउनेजस्ता काम बन्द गरिनुपर्दछ । यस्तो जनशक्तिले अदालतलाई कहिल्यै पनि उच्च स्थानमा राख्न सक्दैन । जति हामीले अदालतलाई पवित्र बनाउन सक्यौँ, साच्चिकै न्यायको मन्दिर बनाउन सक्यौँ, त्यति नै अदालतले पनि हामीलाई मर्यादा र स्वाभिमान दिन्छ । अदालत मर्यादायुक्त भएमा मात्र हामी मर्यादित हुने हो । अदालतको मर्यादालाई व्यक्ति प्रधानतामा लैजानु दुर्घटनाको बाटो हो ।
यसैले भनिएको छ ज्ञानको झुटो अभिमानले कुनै गन्तब्यतिर पु¥याउन सक्दैन । झुटाज्ञानले झुटो बुझाइको जन्म हुन्छ । झुटो बुझाइको कारण झुटा व्यवहार एवं संस्कारको जन्म हुन्छ । झुटा व्यवहारले झुटा संस्कार चलनको समाजिक स्तरीकरण हुन्छ, अनि झुटा संस्कार चलनको स्तरीकरणभित्र विभिन्न प्रकारको शक्ति संघर्ष, प्रतिशोध, अहंकार, हीनताबोध एवं अनन्य प्रकारको अन्याय शोषण भइरहेको कसैले सजिलै थाहा पाउन नै सक्दैन । यो नै दुःख शोषण दमन सनक कपट एवं स्वार्थको अवस्था पनि हो । (पाठक अधिवक्ता हुन्)
प्रतिक्रिया