भारत–पाकिस्तान युद्ध : स्वतन्त्रताको खुसी र विभाजनको आँसु

भारत–पाकिस्तानबीचको युद्धको पृष्ठभूमि, कारण र बस्तुगत वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नेपाल सरकारले स्वतन्त्र र ठोस धारणा सार्वजनिक गर्नुपर्छ । भारत–पाकिस्तान युद्ध जति जटिल र लामो समय जान्छ, त्यति नै समस्या नेपालले भोग्नुपर्नेछ । सार्क राष्ट्रको सदस्य राष्ट्र र छिमेकी देशलाई शान्तिको बाटोमा लाग्न आह्वान गर्नका निम्ति नेपालले संवेदनशील बन्नुपर्छ ।

धनराज वास्तविक

यतिबेला हाम्रा छिमेकी मुलुक भारत र पाकिस्तान भयंकर युद्धमा होमिएका छन् । भारत र पाकिस्तानबीचको युद्ध र तनाव विश्वको निम्ति सोचनीय बनिरहेको छ । विश्वकै निम्ति चिन्ता र चासोको विषय बनेको भारत र पातिस्तान युद्ध नेपालको निम्ति भने खतरासमेत बन्न सक्ने सुरक्षा क्षेत्रका जानकारहरूको भनाइ छ । भारत र पाकिस्तान युद्ध, यसले पार्ने सक्ने असर र प्रभाव, नेपालको धारणा र भारत पाकिस्तानबीचको सत्रुताको मुख्य कारण जस्ता सन्दर्भहरू बुझ्नपर्ने विषय हुन् । साथै नेपालले सचेततापूर्वक सार्क राष्ट्रको हैसियतमा छिमेकी मुलुकबीचको युद्ध रोक्ने र शान्ति पुनर्वहालीको पहल लिने उचित कदम उठाउनुपर्ने छ ।

भारत–पाकिस्तान तनावको जरो

विश्वमा अधिकांश नयाँ देश टुटफुट र विभाजनबाट जन्मेका छन् । भारत र पाकिस्तान पनि सन् १९४७ मा यसरी नै जन्मेका नयाँ देश हुन् । सन् १९३३ मा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी चौधरी रहमत अलीले पन्जाब, सिन्धु, कश्मिर तथा बेलुचिस्तानका बासिन्दाहरूको लागि पाक्स्तान (जुन पछि पाकिस्तान बन्यो) शब्दको सिर्जना गरेका थिए । सन् १९४७ देखि १९७२ सम्म पाकिस्तान २ भागहरूमा थियो । (पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान) । डिसेम्बर, सन् १९७१ पूर्वी पाकिस्तान बंगलादेश बन्यो र पश्चिमी पाकिस्तान अहिलेको विद्यमान पाकिस्तान भएर रह्यो ।

भारतमा हजारौँ वर्षदेखिको सभ्यता र सांस्कृतिक पक्षले सम्पन्न विभिन्न राज्य थिए । मुगल साम्राज्य ढलेपछि अंग्रेजहरूले व्यापारिक बहानामा प्रवेश गरे । व्यापारिक बहानामा आएका अंग्रेजहरूले सत्ता कब्जाको रणनीति बुने । रेल, सडक, विद्यालय, अदालत आदि खोले । विस्तारै भारतलाई आफ्नो कब्जामा लिए । तर, समय विस्तारै बदलियो । भारतमा स्वतन्त्रताको आन्दोलन चर्किंदै गयो । अंग्रेजहरूले भारतलाई समुन्नत बनाउने नाममा शोषण र शासन गर्न थालेपछि भारत छोड आन्दोलन सुरू भयो । भारतलाई बेलायतको उपनिवेश बनाउने सपना बुनेका अंग्रेजहरूले नेपालका केही भूभागसम्म युद्ध लडेका थिए । दोस्रो विश्वयुद्धपछि कमजोर बनेको अंग्रेज शक्तिलाई माहात्मा गान्धीको नेतृत्वको आन्दोलनले घुँडा टेक्न बाध्य बनायो । अतः सन् १९४६ मा ब्रिटेनले भारतलाई स्वतन्त्र दिने घोषणा ग¥यो । उसले अब आफूले उक्त देशमा शासन गर्न नसक्ने भन्दै जतिसक्दो चाँडो त्यहाँबाट फर्किने चाहना व्यक्त ग¥यो । अन्तिम भाइसराय लर्ड लुई माउन्टब्याटनले ब्रिटेन भारतबाट फर्किने मिति सन् १९४७ अगस्ट १५ का लागि तय गरे ।

स्वतन्त्रताको खुसी र विभाजनको आँसु

अंग्रेजहरूले उपनिवेश बनाएका करिब ५५० वटा रियासतलाई मिलाएर अखण्ड भारत निर्माण गर्ने लक्षका साथ स्वतन्त्रता आन्दोलन भएको थियो । तर, हिन्दू र मुसलमानबीच नयाँ सीमा रेखा कोरेर ब्रिटेन फर्कियो । एकसाथ २ वटा ऐतिहासिक घटना घटे । एकातिर ब्रिटेनले देश छोड्यो भने अर्कातर्फ देश विभाजन भयो । स्वतन्त्रताको खुसी र विभाजनको आँसुले भिजेका भारतीय इतिहासका पानाहरूले आजको दुनियाँलाई पनि सोच्न बाध्य बनाउँछन् । त्यो विभाजनको सीमानामा मिचिएर कैयन मान्छेहरूले ज्यान गुमाउनु प¥यो । लाखौँ मानिसहरू विस्थापित र विभाजित हुनुप¥यो । सभ्यता र संस्कृति एकाएक धार्मिक युद्धमा परिणत भयो ।

भारत र पाकिस्तानको नयाँ सीमारेखा सन् १९४७ मा १ जना ब्रिटिस कर्मचारी सर सिरिल ¥याड्क्लिफ डक्लिफले कोरे । उनले भारतीय उपमहादेशलाई हिन्दूहरूको बाहुल्य भएको मध्य र दक्षिणी क्षेत्र तथा मुसलमानको बाहुल्य रहेको पश्चिमोत्तर र पूर्व क्षेत्रमा विभाजन गरेका थिए । यसको अर्थ विभाजनपछि लगभग डेढ करोड मानिसले तय गरिएका नयाँ सीमा पार गर्न सयौँ कोस यात्रा गर्नुपरेको थियो ।

ब्रिटिस शासनको अन्त्यसँगै धार्मिक आधारमा विभाजनको माग तीव्र बन्यो । त्यो समयमा भारतको कुल जनसंख्याको झण्डै २५ प्रतिशत मुस्लिम समुदायको थियो । बाँकी अधिकांश हिन्दू थिए । त्यस्तै सिख, बौद्धमार्गी र अरू धार्मिक अल्पसंख्यकहरू पनि थिए । कराँचीमा जन्मिएका मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाले भारतका मुस्लिमहरूका लागि पृथक राष्ट्रको माग गर्दै पाकिस्तानको अवधारणा अघि सारेका थिए । मुस्लिम लिगको माग थियो, ‘हामीलाई अलग राष्ट्र चाहिन्छ ।’ त्यसपछि भारतलाई एक राख्न नेहरू र गान्धीको संघर्ष मिथ्या बन्यो । कालान्तरमा हिन्दुहरूको हिन्दुस्तान र मुस्लिमहरूको पाकिस्तान गरी २ देश बने । पाकिस्तान एउटा कट्टर मुस्लिम देशको रूपमा उदय र स्थापित भयो ।

यसरी हेर्दा भारत र पाकिस्तानबीचको शत्रुता अहिले र आजको होइन भन्ने कुरा इतिहासदेखि वर्तमानसम्मका गतिविधिले देखाउँछन् । खैर, इतिहास, शत्रुता र मित्रता जेसुकै भए पनि आजको दुनियाँमा युद्ध कसैको लागि पनि प्रिय विषय होइन । यो अन्तिम उपाय हो । सामान्य वा एकाध घटनालाई लिएर छिमेकी देशहरू यसरी वारपारको युद्धमा होमिनु निक्कै पीडादायी विषय हो ।

पहलगाम हमलापछि निम्तिएको संकट

जम्मु–कश्मिर प्राकृतिक सुन्दरताको सन्दर्भमा विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगामको बयान शब्दमा उतार्न सकिँदैन । त्यही सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको वैशाख १६ गते मंगलबार गोली हानी हत्या भयो । नेपालबाट जम्मु–कश्मिरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेले पनि ज्यान गुमाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलइटी) को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो । लगत्तै भारतीय सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी सुरू गरेको थियो । त्यसैको निरन्तरताको विकसित घटनाका रूपमा अहिले युद्ध नै सुरू भएको छ ।

तथ्यांकहरूलाई स्मरण गर्ने हो भने सन् २०१६ मा उरीमा १९ जना भारतीय सैनिकहरूको मृत्यु भएपछि भारतले लाइन अफ कन्ट्रोल भनिने भारत र पाकिस्तानबीचको वास्तविक सीमा पार गर्दै आतंकवादी अड्डाहरूलाई लक्षित गरेर ‘सर्जिकल स्ट्राइक’ गरेको थियो । सन् २०१० मा पुलवामा बम विस्फोटमा ४० जना भारतीय अर्धसैनिकहरू मारिएपछि बालाकोटमा हवाई हमलाहरू भए । त्यो हमला सन् १९७१ यताकै पहिलो थियो । जसले डगफाइट अर्थात लडाकु विमानहरूबीच झडपहरू निम्त्यायो । त्यसअघि सन् २००८ मा मुम्बई हमला भयो । जसमा होटल, रेलवे स्टेसन र एक यहुदी केन्द्रमा ६० घण्टा लामो कब्जा हुँदा १६६ जनाको ज्यान गएको थियो । सन् २०१६ यता र खासगरी सन् २०१९ को हवाई हमलापछि भारत–पाकिस्तान नाटकीय रूपमा तनाव बढ्ने अवस्थानजिक पुगेका थिए ।

नेपालको मध्यस्थ धारणा आवश्यक

कश्मिर एक जातीय विविधता तथा प्राकृतिक रूपमा भरिपूर्ण हिमाली क्षेत्र हो । ताल तलैया, घाँसे मैदान र हिउँले ढाकिएको हिमाल र लोभलाग्दा पहाडहरूको सुन्दरताका लागि प्रसिद्ध छ । सन् १९४७ मा भारत र पाकिस्तान ब्रिटेनबाट स्वतन्त्र हुनुभन्दा पहिला पनि यो क्षेत्रमा चर्काे विवाद रहेको थियो । मुस्लिम बहुल कश्मीर भारत वा पाकिस्तानमध्ये एकमा विलय हुन स्वतन्त्र थियो ।

महाराजा (स्थानीय शासक) हरि सिंह पहिला कश्मिर स्वतन्त्र होस् भन्ने चाहन्थे । तर, सन् १९४७ को अक्टोबरमा पाकिस्तानबाट आएका आदिवासीहरूको आक्रमणविरूद्ध भारतको सहयोगको बदलामा उनले भारतमा आबद्ध हुने निर्णय गरे । युद्ध सुरू भयो र भारतले संयुक्त राष्ट्रसंघलाई हस्तक्षेप गर्न आग्रह ग¥यो । संयुक्त राष्ट्रसंघले भारत वा पाकिस्तान कोसँग आबद्ध हुने भन्ने प्रश्नको समाधान गर्न कश्मिरमा जनमत संग्रह गर्न सिफारिस ग¥यो । यद्यपि, जनमत संग्रह हुनुभन्दा पहिले २ देशहरू यो क्षेत्रलाई सेनामुक्त गर्ने सम्झौतामा सहमत हुन सकेनन् ।

सन् १९४९ को जुलाई महिनामा भारत र पाकिस्तानले संयुक्त राष्ट्रसंघको सिफारिसअनुसार युद्ध विराम रेखा स्थापना गर्न सम्झौतामा हस्ताक्षर गरे र क्षेत्र विभाजित भयो । कश्मिरभित्र उक्त भूभाग कुन देशमा पर्छ भन्नेबारे फरक र दृढ विचारहरू रहेका छन् । कतिपयले यसलाई भारतद्वारा शासित भएको देख्न चाहँदैनन् । बरू स्वतन्त्रता वा पाकिस्तानसँगको एकतालाई प्राथमिकता दिन्छन् ।

भारत–पाकिस्तानबीचको युद्धको पृष्ठभूमि, कारण र बस्तुगत वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नेपाल सरकारले स्वतन्त्र र ठोस धारणा सार्जनिक गर्नुपर्छ । भारत–पाकिस्तान युद्ध जति जटिल र लामो समय जान्छ, त्यति नै समस्या नेपालले भोग्नुपर्नेछ । सार्क राष्ट्रको सदस्य राष्ट्र र छिमेकी देशलाई शान्तिको बाटोमा लाग्न आह्वान गर्नका निम्ति नेपालले संवेदनशील बन्नुपर्छ । असंलग्न नीतिको आधारमा नेपालले भारत–पाकिस्तानको युद्ध अवस्थालाई थप जटिल नबनाउन, शान्ति पुनर्वहाली गर्न, युद्धमा असंलग्न मान्छेहरूको मानवअधिकारप्रति सचेत रहन नेपालले जोडदार रूपमा आवाज उठाउनुपर्छ ।

हामी कसैको पक्ष र विपक्षमा नभएर शान्तिको पक्षधरका हिसाबले आफ्नो धारणा विश्वलाई सुनाउनुपर्छ । परमाणु अस्त्र सम्पन्न भारत–पाकिस्तानबीचको युद्धले एसिया क्षेत्रमा निम्त्याउने संकटका बारेमा सयममै सोच्नुपर्छ । हाम्रो आयात–निर्यात प्रणाली मात्रै नभएर सुरक्षा क्षेत्रमा निक्कै ठूलो असर पर्ने देखिन्छ । १ वाक्यमा भन्दा युद्धको विपक्षमा र शान्तिको पक्षमा नेपालले कूटनीतिक कदम चाल्नुपर्छ । भारत–पाकिस्तानबीचको युद्धबारे नेपालले चाल्नुपर्ने कदम यहि हो ।

प्रतिक्रिया