अध्यात्मबाट फक्रिने वैकल्पिक राजनीति

एउटै व्यक्तिले गुटमार्फत एकैचोटी पार्टी र उपभोक्ता समितिदेखि राज्यका प्रमुख ३ अंगमा कब्जा र प्रभाव जमायो । पार्टी विभाजन र संसद् विघटनजस्ता दुर्घटना निम्त्याउँदै अराजकता फैलाउने निकृष्ट व्यवहार प्रदर्शित भए । प्रशासनिक रूपमा संघीयता लागू भएको छैन । जनप्रतिनिधिले स्वतन्त्र ढंगले काम गर्न पाएका छैनन् ।

रामचन्द्र शर्मा

विगत लामो समयदेखि देशमा वैकल्पिक राजनीतिको बहस आरम्भ भएको थियो । विश्वका अन्य भागमा नपाइने अलौकिक ऊर्जा, सुन्दर प्राकृतिक संपदा, मैत्रीपूर्ण एवं सद्भाविलो समाज र संस्कृति भएको देश हो हाम्रो । हाम्रो देश नेपालले उत्कृष्ट मानिने गणतन्त्रको डेड दशक लामो अभ्यास गर्दा झण्डै पराधिन बन्दै गइरहेको अवस्था छ । यसले परिस्थितिले वैकल्पिक राजनीतिको औचित्य स्थापित गरिदियो ।

सुरुमा अभियानको रूपमा अघि बढाइएको वैकल्पिक राजनीतिले समाजमा सकारात्मक प्रभाव पारेकोले ठुलै शक्ति निर्माणका लागि पार्टी नै खोलिए । खोलिएका पार्टीले निर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेनन् । पार्टी एकता पनि गरियो, तर अर्को निर्वाचन आउने अवधिसम्म पनि एकता कायम रहन सकेन । गत आमनिर्वाचनभन्दा ६ महिनाअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय तबरबाट जनमत पायो । पुराना दलहरूको राजनीतिक अकर्मण्यताबाट असन्तुष्ट जनताको भावना बोकेको रास्वपाले जनभावना आत्मसात गर्न सकेन, फोहोर तुल्याइएको राजनीति सफा गर्ने कष्ट गरेन । रास्वपाले वैकल्पिक राजनीतिको औचित्य पूरा गरिदेलाकी भन्ने जनअपेक्षा फोहोर राजनीतिको पोखरीमा पटकपटक डुबुल्की मारेर घात गरिसक्यो ।

एमालेले पार्टी निष्काशन गरेका डाक्टर भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरी पार्टी निर्माणको तयारी गर्ने जनाउ पत्रकार सम्मेलन गरेरै दिएका छन् । यसको नतिजा के कसरी आउँछ ? आगामी दिनले बताउँला । वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समृद्धिको लागि नयाँ सोच र संरचना चाहिन्छ भन्दै आफ्नो ठूलो लगानी भएको पार्टी परित्याग गरे । समयको माग बुझेर सही सोच बनाएका पूर्वप्रधानमन्त्री भट्टराईले हाम्रै ऋषिहरूले सिर्जना गरेको आध्यात्मिक ज्ञान एवं साधना र देशमा भएको अलौकिक ऊर्जा र सुन्दर प्राकृतिक संपदालाई आधार बनाएर कृषि र पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गर्नुपर्नेमा पुरानो शैलीको बसमा पर्दा वैकल्पिक राजनीतिले अपेक्षित गति लिन सकेन ।

अध्यात्म र भौतिक विज्ञानको संयोजनबाट निकालिएको मध्यमार्गी बाटोबाट मात्र वैकल्पिक राजनीतिको शक्ति निर्माण हुने हुँदा त्यही विषयमा यो लेख केन्द्रित छ । महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले १ घण्टामा समाधान निकाल्नु छ भने ५५ मिनेट समस्याको बारेमा सोच्दछु र ५ मिनेट समाधानको खोजीमा लगाउँछु भनेका छन् । यसको अर्थ समस्याको गहिराई बुझे मात्र समाधान निस्कन्छ भन्ने हो । समस्यामै समाधान हुन्छ, समस्या बुझ्नु आधा समाधान निकाल्नु हो भन्ने कुरामा सत्यता छ । त्यसैले के कुन समस्याले वर्तमान राजनीतिको विकल्प खोज्नुप¥यो ? खोजीमा दशकौँ वर्ष बितिसक्दा पनि किन भरपर्दो राजनीतिक विकल्प खडा हुन सकेन ? भन्ने प्रष्ट बुझ्न जरुरी छ ।

२०६२÷०६३ को पछिल्लो परिवर्तनको घटनाक्रमदेखि आजसम्मको नेपाली राजनीति नियाल्दा नेतृत्वमा हुनुपर्ने इमानदारीताको कमी नै मूल समस्या देखिन्छ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती गरे भनी बेलाबेलामा भन्ने गरेबाट पनि राजनीतिक बेइमानी पुष्टि हुन्छ । यो गल्ती स्वीकाराईमा पनि गल्ती सच्याउन आएको रहेनछ केबल नेपाली कांग्रेससँग मिलेर सत्तारोहण गर्ने नियतले रहेछ भन्ने व्यवहारले देखायो । संघीयता लगायतका परिवर्तनका एजेन्डा माओवादीको लागि मानिदिएको जस्ता भाष्य कंग्रेस र एमालेका शीर्ष नेताहरूबाट सुनिएकै हुन् । आफूले सुरू गरेको बेइमान राजनीतिले आफैँलाई ब्याक फायर गर्ला भन्ने डरले पार्टीहरूमा हदैसम्मको आन्तरिक गुटबन्दी र बाहिरी सरकारी एवं गैरसरकारी संरचना कब्जाको होडबाजी चल्यो ।

एउटै व्यक्तिले गुटमार्फत एकैचोटी पार्टी र उपभोक्ता समितिदेखि राज्यका प्रमुख ३ अंगमा कब्जा र प्रभाव जमायो । पार्टी विभाजन र संसद् विघटनजस्ता दुर्घटना निम्त्याउँदै अराजकता फैलाउने निकृष्ट व्यवहार प्रदर्शित भए । प्रशासनिक रूपमा संघीयता लागू भएको छैन । जनप्रतिनिधिले स्वतन्त्र ढंगले काम गर्न पाएका छैनन् । उपयुक्त निर्देशन दिइएको पनि छैन । नीति कार्यक्रममा मौलिकता झल्किनुपर्नेमा केन्द्रिकृत सामन्ती प्रवृत्ति दोहरियो । दण्डहीनता र भ्रष्टाचार बढेर गरिखाने संस्कार र वातावरण बिथोल्दियो । छिमेकी देश चीन विश्वकै पहिलो र भारत तेस्रो अर्थतन्त्र बन्ने प्रतिष्पर्धामा छन् । ती छिमेकी देशमा भन्दा राम्रो संभावना रहेको हाम्रो देशमा केही हुन सक्छ भन्ने आशा नै हराएको हुँदा युवा र पुँजी विदेश पलायन भयो ।

शून्य उत्पादन उन्मुख भएको देशको अस्तित्व जोगाउँदै विकासमा अग्रसर गराउन सबै देशभक्त मिलेर विकल्प खडा गर्नु आवश्यक मात्र होइन अनिवार्य कर्तव्य बन्न पुग्यो । वैकल्पिक राजनीतिको खोजी किन सार्थक बन्न सकेन भन्नेतर्फ पनि सजगतापूर्वक विष्लेषण र मनन गर्न जरुरी छ । यहाँनेर एउटा प्रेरक प्रसंग सान्दर्भीक देखिन्छ ।

गौतम बुद्धको आश्रममा गएर एक युवकले म तपाईंजस्तै महाज्ञानी बन्न चाहन्छु मलाई शिष्य बनाएर ज्ञान दिनुहोस् भनी आग्रह गर्दा १० दिनपछि आउ भने । १० दिनपछि गएर पुनः आग्रह गर्दा फेरि १० दिनपछि आउ भने । यो क्रमले महिना नाघेपछि हैरान भएर बुद्धसँग मलाई किन झुलाउनुभएको हो ? मलाई शिष्य बनाएर ज्ञान दिन के ले रोकेको छ भनी प्रश्न गरे । त्यसपछि बुद्धले ती युवकलाई भित्रबाट गिलासमा पानी ल्याउन अह्राए । उसले ल्याएको गिलास आफूले हातमा लिए । फेरि अर्काे पानीको गिलास ल्याउन लगाए । ल्याएपछि अघिल्लो गिलासको पानी त्यसमा खन्याऊ त भने युवकलाई । युवकले भरिइराखेको गिलासमा पानी खन्याए त पोखिन्छ भने वुद्धलाई । युवकले त्यति भनेको सुनेपछि मन्द मुस्कुराउँदै बुद्धले तिम्रो मनमस्तिष्कमा असीमित पूर्वाग्रह र अहंकार भरिएको छ, तिमीले ती नत्यागेसम्म मैले ज्ञान दिए पनि तिमीले सिक्न सक्दैनौ भनेर ज्ञान नदिएको प्रष्टीकरण दिए ।

पहिलो कुरा त वैकल्पिक राजनीतिको विकास गर्न पुरानो राजनीतिक सोच, शैली र संरचना अपनाएको देखिन्छ । माक्र्स, लेनिन, माओ लगायतका पश्चिमा विद्वानका समाजवादी पुँजीवादी विचारको पुनरावृत्ति गरियो । हाम्रै ऋषिहरूले आफ्नै शरीरमा पुस्ताँैपुस्ता लगाएर लामो अनुसन्धान गरेर पत्ता लगाएको अध्यात्म विज्ञानतर्फ ध्यानै दिइएन । ईजमको अनावश्यक रटानबाट वाक्कदिक्क भएका जनतालाई वेद, पुराण र भागवतगीताले मार्गदर्शन गरेको मानवतावादी जीवन पद्धतिले आकर्षित दिन सक्थ्यो ।

अध्यात्मको विकास गरिँदाका अवस्थामा यो एक मात्र उन्नत मार्ग थियो मानव कल्याणको । आध्यात्मिक ज्ञानलाई व्यवहारमा प्रमाणित गर्दै वैज्ञानिक आविष्कार विकसित हँुदै गर्दा अध्यात्म ओझेलमा प¥यो । भौतिक सुविधा जुटाउन वैज्ञानिक आविष्कारवालाहरू सफल भए पनि सुख शान्ति दिन असफल भए । समाज तनाव र अशान्त बन्यो । मानसिक समस्या निम्त्यायो । वैश्विक भयावह सिर्जना गरेको मानसिक समस्याको समाधान योग ध्यान अर्थात् अध्यात्ममा भेटियो । अध्यात्म र भौतिक विज्ञान कुनै एकबाट मात्र मानव कल्याण संभव दैखिएन । दुबैको संयोजनबाट निकालिएको मध्यमार्गी बाटो नै सुख शान्ति समृद्धि प्राप्तीको उत्तम र अन्तिम विकल्प हो ।

भौतिक विज्ञानको वर्तमान युगमा अध्यात्म ज्ञानको कमी हुनु स्वभाविकै हो । तसर्थ आध्यात्मिक ज्ञानको प्रकाश छर्नु आजको सर्वाधिक महत्वको विषय हो र बन्नुपर्छ । सत्यको अन्वेषण गर्ने अध्यात्म र धर्मको मर्म हो । संस्कृतमा धर्मलाई ‘धारणा ईति धर्म’ अर्थात् राम्रो हितकारी कुरा धारणा गर्नु धर्म हो भनिएको छ । अध्यात्म आफूमा भएको क्षमता र प्रतिभाका गुणहरू चिनाउँदै सदुपयोग गराउने विज्ञान हो । अध्यात्म स्वास्थ्य उपचार हो भने धर्म संप्रदाय उपचारका प्रक्रिया हुन् । एलोपेथी, होमियोप्याथी, नेचरोपेथी र आयुर्वेदिक उपचार पद्धतीजस्तै हुन् सनातन हिन्दू, बुद्ध, इसाई मुस्लिम सिख जैन र प्रकृति पुजक धर्म सम्प्रदायहरू ।

आध्यात्मिक र धार्मिक भनिनेहरूबाट धर्मलाई विकृत बनाई मूर्ति, मन्दिर र पूजापाठको कर्मकाण्डमा सीमित गराएर धन्दा गरिँदा अनुशासनहीनता बढ्यो मानिस र समाजमा । मानव कल्याणका लागि मानवबाटै विकसित गरिएका अवधारणा हुन अध्यात्म र धर्म । सर्वकालिक र शाश्वत कुरा पालना गर्दै समयको माग संबोधन गर्न अन्य आवश्यक कुरा समावेश गरी परिमार्जन गर्न सकिन्छ, सक्नुपर्छ । वैदिक कालमा यज्ञ अनुष्ठानको प्रधानता रहेकोमा भागवत गीताले कर्म नै ईश्वर कर्म नै पूजा हो भन्दै कर्म प्रधान बनाएको दृष्टान्त हाम्रै सामु छ ।

योग अध्यात्मको अंग हो । योगको संहिताकरण गर्ने महर्षी पतञ्जलीले योगका आठ अंग यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि बताउनुभएको छ । अहिले योग भन्नाले योग, प्राणायाम र ध्यान बुझिन्छ । मानव जीवनको सर्वांगीण विकास गर्ने उद्देश्यले विकसित गरिएको योग शारीरिक, मानसिक, नैतिक, आध्यात्मिक र सामाजिक विकासको साधना विज्ञान हो । साधनाबाट मानिसमा सत्यता, स्वाध्याय, निरहंकारीता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवा भाव, मधुर वाणी, लक्ष्यसँग एकाकार र मुमुक्षाजस्ता नवगुण विकसित हुन्छन् । यी नवगुण विकसित भएको मानिसले समाजमा ब्याप्त नकारात्मकतालाई सकारात्मकमा रूपान्तरण गर्न सक्छ ।

पुराना दल र तीनका शीर्ष नेताहरूमा रहेको म, मेरो र मैले भन्ने अहंकारी सोच कार्यकर्ता र जनतासम्मै फैलिई समाजबाट हामी, हाम्रो र हामीले भन्ने समन्वयकारी सन्तुलित भाव हराउँदै गएको छ । आध्यात्मिक ज्ञानले मात्र अरूमा आफू र आफूमा अरू देख्ने सहृदयी भाव उत्पन्न गराउँछ । अरूको आलोचना नगरी कर्मशील रहने प्रेरणा जगाउँछ । क्षमता भरिदिएर कद अग्लो बनाइदिन्छ ।

देशमा रहेको प्राकृतिक संपदा र मानवीय जनशक्तिको पहिचान र परिचालन गरी आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, चारित्रिक उन्नति र वातावरणीय शुद्धता कायम गर्न वैकल्पिक राजनीतिक शक्ति चाहिएको हो । त्यो शक्तिले पेचिलो भूराजनीतिक अवस्थालाई राष्ट्रको हितमा उपयोग गर्दै सारा देशवासीमा पारस्परिक सम्मान, सदभाव र सहकार्यको भावना विकसित गर्न जरुरी छ । यस्तो भावनाको विकास भौतिक र अध्यात्म विज्ञानको संयोजनको मध्यमार्गबाट मात्र हुन सक्छ ।

प्रतिक्रिया