टोखा नामाकरणको ऐतिहासिक तथ्य खोज्दा नेपाल भाषाको ‘टुख्य’ शब्दबाट बनेको देखिन्छ । ‘टुख्य’ भनेको उखु उत्पादन हुने विशाल फाँटलाई बुझाउँछ । सो भाषामा उखुलाई ‘टु’ र फाँटलाई ‘ख्य’ भन्ने गरिएको पाइन्छ । यस कथन अनुसार अघि धेरै उखु उत्पादन हुन्थ्यो सोही ‘टुख्य’ शब्द अपभ्रश भई कालान्तरमा टोखा हुन गएको बताइन्छ ।
टोखा काठमाडौँ उपत्यका भित्रको प्राचीन बस्ती हो । थनेलाछी टोलको नारायण मन्दिरको नजिक रहेको संवत ५१९ अंकित शिवदेव र अंशुबर्माले राखेको संयुक्त अभिलेखले टोखाको प्राचीनतालाई पुष्टि गरेको छ । काठमाडौँ उपत्यकामा प्राचीन बस्तीहरू धेरै छन्, यी बस्तीका आ–आफ्ना विशेषता छन्, जसमध्ये ऐतिहासिक सांस्कृतिक नगरी टोखाको जीवन्त मौलिक परम्परागत व्यावसायिक सीप, सम्पदा र संस्कृतिको रूपमा रहेको उत्कृष्ट परिकार चाकु हो । परम्परागत नेवाः संस्कृति, संस्कारसँग अति निकट रहेका विभिन्न खाद्य परिकारहरूमध्ये चाकुको विशेषता विशेष खालको छ । देशकका विभिन्न भू–भागमा छरिएर रहेका नेवार समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य रूपमा चाकुको प्रयोग हुने गरेको देखिन्छ ।
चाकुसित सम्बन्धित संस्कृति, परम्परा, प्रथा, चलन र चाडपर्व हुनुले चाकुको इतिहास प्राचीनकालदेखि भएको मान्न सकिन्छ । नेपालीहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति जसलाई नेपाल भाषामा ‘ध्यूःचाकु सल्हु’ सबैले मनाउने गरेका छन् । त्यस दिन नेपालका हरेक घरपरिवारमा चाकुको उपयोग गर्दछन् । चाकुलाई प्रायः जाडोको चाडपर्वका समयमा खाने चलन छ । जाडो समयमा चाकु खानाले शरीरमा न्यानो र शक्ति बढाउने जनविश्वास रहेको देखिन्छ ।
चाकु संस्कृतिले नेपाली समाजमा सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा गहिरो प्रभाव पारेको पाइन्छ । चाकु बनाउने संस्कृतिको विकास गर्ने प्रविधि नेपालको आफ्नै रहेको छ । यस्तो महत्व पाएको चाकु परिकारको तथ्यपरक लिखित इतिहास पाउन सकिएको छैन । इतिहासकारहरूले चाकु उत्पादनको प्रमुख केन्द्र टोखालाई मानेका छन् । टोखामा प्राप्त भएको लिच्छविकालीन अभिलेखमा तिलमक उल्लेख गरिएको पाइन्छ । तिलमकको अर्थ धनबज्र बज्राचार्यले कुलो भएको निष्कर्ष निकाल्नुभएको छ । कुलो निर्माणको प्रक्रिया किराँतकालीन समयमा भएको मानिन्छ । यसबाट त्यस बेला व्यावसायिक कृषि र उखु खेतीका लागि कुलोको व्यवस्था गरेको देखिन्छ ।
टोखामा किराँती राजा यलम्बरलाई स्थानीय भाषामा प्राचीन हाथु द्योःको रूप मानेर पूजा गर्दै आइएको छ । यसले टोखामा वस्तीको विकास किराँतकालमा भएको मान्न सकिने आधार दिएको छ । टोखामा चाकुको आविष्कार त्यसैबेलादेखि हुँदै आएको अनुमान गर्न सकिन्छ । टोखामा प्राप्त भएका तत्कालीन ऐतिहासिक स्रोतहरूमा टोखाग्राम, दोखादेश, जयपुरी नगर र लक्ष्मीपुर सम्बोधन गरेको देखिन्छ । यसरी विविध नामकरण गरे तापनि प्राप्त पछिल्लो अभिलेखमा टोखा नामकरण गरिएको छ ।
टोखा नामकरणको ऐतिहासिक तथ्य खोज्दा नेपाल भाषाको ‘टुख्य’ शब्दबाट बनेको देखिन्छ । ‘टुख्य’ भनेको उखु उत्पादन हुने विशाल फाँटलाई बुझाउँछ । सो भाषामा उखुलाई ‘टु’ र फाँटलाई ‘ख्य’ भन्ने गरिएको पाइन्छ । यस कथनअनुसार अघि धेरै उखु उत्पादन हुन्थ्यो सोही ‘टुख्य’ शब्द अपभ्रश भई कालान्तरमा टोखा हुन गएको बताइन्छ । यसबाट लिच्छविकालमा व्यावसायिक रूपमा उखु खेती हुने गरेको तथ्य उजागर हुन्छ । उखुलाई पेलेर रस बनाइन्छ । रसलाई पकाएर चाकु बनाउने गरिन्छ । चाकु संस्कृति टोखामा बसोबास गर्ने समुदायको धर्म, संस्कृति, विश्वास, इतिहास र पहिचानसँग जोडिएको देखिन्छ ।
कतिपय विद्वानहरूले ‘चाकु’ शब्द एक जापानी शब्दको रूपमा परिभाषित गरेको पाइन्छ् । विशेषगरी खाजा खानाको वर्णन गर्ने क्रममा प्रयोग गरिएको देखिन्छ । जसलाई अंग्रेजीमा स्न्याकको रूपमा अनुवाद गरिएको छ । चाकु बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थको रूपमा रहेको उखुको खेती टोखा लगायतका क्षेत्रमा गर्ने गरिएको बताइन्छ । विशेषगरी टोखाको तरचा, न्हयुरे, तेंख्याः, फुसिंतः, फैद्धं, लाम्ने, साइद्धं र इमाद्धं, बुढानीलकण्ठ नजिकको टुसाल, मनमैजु, र फुटुङमा निगाले उखुको खेती हुने गरेको साहित्यिक स्रोतहरूबाट पाउन सकिन्छ । यसरी प्राप्त भएको कच्चा पदार्थलाई चाकु बनाउने उद्योगमा दिने गरेको पाइन्छ । त्यस्ता उद्योगहरू टोखाको चिमंतलमा २ वटा, तरचाको चरलेमा १, चोबलीमा १, फंसितंमा १ र पालखेल गरी ६ वटा रहेको रविन्द्र श्रेष्ठको भनाइ छ । उनी सानो छँदा आजभन्दा करिब ८० वर्षअघि उखु खेती देखेको बताउँछन् । व्यावसायिक उखु खेती गरिएको ठाउँमा कारखाना स्थापना गर्दा सहज हुनु स्वभाविकै थियो । यसैगरी चाकु कारखाना रहेको स्थानको वरिपरि उखु खेती लगाउँदा ढुवानी गर्न सजिलो हुन्थ्यो ।
कारखानामा चाकु बनाउनलाई ११ जना कामदारको आवश्यकता पर्दछ । चाकु बनाउनका लागि आवश्यक पर्ने सामग्रीहरू विशेषगरी छालाको डोरी, उखु च्याप्ने साधन, उखु पेल्ने लामो काठ मुख्य सामग्रीका रूपमा रहेका छन् । यहाँ चाकु बनाउन सुरु गर्दा र समापन गर्दा भोज खुवाउने चलन छ । यस्ता भोजहरूमा उखु खाल्डोमा राख्ने बेलामा खुवाउने भोज (तुसा पूजा), नाइकेले कामदारहरूलाई खुवाउने भोज (नायः पूजा) गर्ने परम्परा रहेको देखिन्छ । चाकु निर्माणका क्रममा जाँदा सगुन लिने चलन गरिन्छ । त्यस्तो समयमा कतिपयले हाँसको बलि दिने गर्छन् । त्यसपछि समय्बजी, माछा, मासु, भट्मास राखेर भोज खुवाइन्छ ।
चाकुको उपयोग
उपत्यकामा मनाउने विभिन्न चाडपर्वमा चाकु र पानीको मिश्रण बनाई सर्वत बनाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘चाकु ति’ र ‘साख ति’ भन्ने गरेको पाइन्छ । यस्तो सर्वतको प्रयोग वागद्वारमेला, सपनातीर्थ मेला, टोखा बिस्काः नखः जात्रा सर्वसाधारणलाई सर्वत बाँड्ने गरिन्छ । यसलगायत मेलापातमा जाँदा चाकुको रसको पानी खुवाउने प्रचलन यद्यापि कायम रहेको छ । यसरी विभिन्न चाडपर्व, जात्राहरूमा चाकुको सर्वत खुवाउनका लागि छुट्टै गुठीको व्यवस्था गरिएको पाइन्छ । उनीहरूको यस गुठीलाई ‘चाकु ति गुठी’ भनिन्छ । चाकुको सामाजिक तथा सांस्कृतिक महत्वसमेत रहेको देखिन्छ । चाकु सुत्केरी महिलालाई खुवाउँदा शिशुलाई यथेष्ट पुग्ने गरी दूघ बढ्ने विश्वास गरिन्छ । टोखा समुदायका मानिसहरूमा जन्मदेखि मृत्युसम्मको संस्कारहरू गर्दा चाकुको अनिवार्यता रहेको देखिन्छ । चाकुको महत्व बुझी हास्यकलाकार मदनकृष्ण श्रेष्ठले ‘टोखा या चाकु मचा बुल हाकु’ भन्ने गीत बनाउनु भएको छ । यसले चाकुको प्रख्यातिलाई दर्साउँछ ।
नेवार समुदायमा प्रमुख चाड यःमरी पुन्हीको प्रमुख परिकार बनाउँदा चामलको पिठोका गुम्बज आकारमा रोटी बनाउने गरिन्छ । यस रोटीभित्र चाकु राखेर बनाउने गरिन्छ । यसैगरी माघे संक्रान्तिको दिनमा घिउः चाकु सल्हु मनाइन्छ । यस संक्रान्तिमा टोखाका आइमाइहरूले लोग्नेको कमाइ नखाई माइत गएर चाकु खाने परम्परा हालसम्म कायम छ । यस संक्रान्तिलाई छोरी चेलीको पर्वको रूपमा लिने गरेको पाइन्छ । चाकु परिकारलाई प्राथमिकतामा राखेर मनाउने भएकोले घिउः चाकु सल्हु भनिएको हो । घरमा मृतशोक हुँदा १२ दिनसम्म नुनदेखि अन्य खानपिन बार्ने चलन छ । सो अवधिमा प्रमुख परिकारको रूपमा चाकुलाई प्रयोग गर्ने गरेको पाइन्छ । टोखामा महादेव, सरस्वती, नारायण, भीमसेन, गणेशको पूजामा चाकु अनिवार्य रहेको देखिन्छ ।
चाकुको प्रयोगले चिसोबाट राहत पाउन, अक्सिजन प्राणवायु कमी हुनबाट मुक्ति पाउन, थकान मेटाउन अहं भूमिका निर्वाह गर्ने इन्द्र डंगोलको भनाइ रहेको छ । टोखाका मानिसहरू धार्मिक तीर्थ यात्रा गोसाइँकुण्ड अर्थात सिलुयात्रा जाँदा चाकु लिएर जाने गरेको पाइन्छ । टोखामा मान्छे मर्दा, बच्चा जन्मदा हुँदा चाकु लिएर छोरीको घरमा जाने प्रचलन छ । त्यसैगरी विवाहका लागि बेहुला पक्षले बेहुलीको घरमा लाखामरी लैजादा चाकुलाई सामेल गर्ने गरिन्छ । बच्चाहरूलाई जाडोबाट बचाउनका लागि र स्वास्थ्यकर बनाउन चाकु खुवाउँछन् । उखु पेलेर सुकाएको खोस्टा बालेर सुत्केरी र बच्चालाई सेक्दै मनतातो तेल लगाउँदा सुन्निएको, दुखेको सबै निको हुने विश्वास छ । सत्यनारायण पूजा गर्दा अपुंगो र पञ्चामृत बनाउँदा चाकु वा सखर राखेर बनाउने गरिन्छ । देवाली पूजा गर्दासमेत चाकुको अनिवार्यता रहेको देखिन्छ ।
गोसाइँकुण्ड जाँदा लेक लागेमा वा जाडो भएको खण्डमा चाकु खाँदा जाडो हँुदैन भन्ने मान्यता छ । चाकु एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण भई आएको सांस्कृतिक सम्पदाको रूपमा रहेको छ । निरन्तर रूपमा समुदाय र समूहद्वारा पुनर्निर्मित हुन्छ । यसले उनीहरूको पहिचान र निरन्तरताको बोध गराएको छ । चाकु सांस्कृतिक सम्पदाले मानव सृजनाशीलताका लागि सम्मान प्रवद्र्धन गर्ने भएकोले जर्गेना गर्नुपर्ने देखिन्छ । यसलाई स्थानीय निकाय, नेपाल सरकार, पुरातत्व विभागलगायत युनेस्कोले समेत गम्भीर भएर सोच्नुपर्ने आवश्यकता देखिन्छ ।
चाकु संस्कति प्राचीनकालमा गरेको अथक परिश्रम योगदान र पुर्खाहरूको बिरासतबाट विकसित भएको मौलिक उत्पादन हो । चाकुको उपयोगिता बुझी जंगबहादुर राणाले बेलायतकी महारानीलाई टोखाको चाकु सौगातको रूपमा पठाएका थिए । प्रत्येक वर्ष फागुन पूर्णिमा (होली पुन्ही)का दिन कोथु गणेशको पूजा गरी प्रत्येक गुठीका २–२ जनाले प्रसाद तथा भोज ग्रहण गर्ने चलन थियो । यस्तो चलन आर्थिक अभावका कारणले २०५० सालमा मासिएको देखिन्छ ।
चाकुले नेपालका हरेक समुदायमा सामाजिक सांस्कृतिक र धार्मिक महत्व राख्ने गरेको छ । यस्तो प्राचीन परम्परागत सांस्कृतिक सम्पदाको रूपमा रहेको परिकार संकटमा परेको छ । विशेषगरी युवा पिडीको आकर्षण कम हुनु, सखरको अभाव, बजारीकरणमा समस्या, व्यावसायिक रूपमा सञ्चालन गर्नु नसक्नुका कारण लोप हुने स्थितिमा पुगेको छ । त्यसैले त्यसको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ ।
प्रतिक्रिया