इन्द्रधनुष जस्तै धनुषा

नेपालको कुल भूभागको शून्य दशमलव ८० प्रतिशत र कुल जनसंख्याको २ दशमलव ९ प्रतिशत ओगटेको यो जिल्लामा विभिन्न ९३ जातजातिको फूलबारी हो । धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताको इन्द्रधनुषजस्तै सातै रंगले रंगिएको रंगीन धनुषा सांस्कृतिक वैभवका कारण देशविदेशमा परिचित छ ।

प्रमोदकुमार साह

जनकपुरधाम । धार्मिक पर्यटनको अनुपम नमुना जानकी मन्दिरलाई छातीमा सजाएको जानकी नगरी धनुषा नेपालको मधेस प्रदेशमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला हो । मधेस प्रदेशको राजधानी जनकपुरधाम रहेको यो जिल्लाको दक्षिणी भाग भारतीय सीमासँग जोडिएको छ ।
नेपालको कुल भूभागको शून्य दशमलव ८० प्रतिशत र कुल जनसंख्याको २ दशमलव ९ प्रतिशत ओगटेको यो जिल्लामा विभिन्न ९३ जातजातिको फूलबारी हो । धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताको इन्द्रधनुषजस्तै सातै रंगले रंगिएको रंगीन धनुषा सांस्कृतिक वैभवका कारण देशविदेशमा परिचित छ । भारतको सीमावर्ती सहर जयनगरसम्म पुग्ने नेपालको एक मात्र रेलसेवाले पनि यस जिल्लाको महत्वलाई बढाएको छ ।
किम्बदन्ती एवं धर्मग्रन्थहरूका अनुसार त्रेता युगमा प्रजाहरूलाई अनिकालबाट मुक्ति दिलाउन जनकवंशका २२आँै राजा शीरध्वजले आफैँ हलो जोत्दा भूमिबाट बालिका जानकी (सीता) उत्पन्न भइन् । सर्वगुण सम्पन्न जानकीको विवाहका लागि स्वयंवर लिन इच्छुक विभिन्न प्रदेशबाट आएका शक्तिसम्पन्न राजकुमारहरू मध्येबाट शिवधनुषमा ताँदो चढाउनेलाई वरको रूपमा ग्रहण गर्ने राजा शीरध्वजको शर्तमा अयोध्याबाट आएका दशरथपुत्र रामचन्द्रबाहेक कोही सफल हुन सकेनन् । तर, रामचन्द्रले ताँदो चढाउनलाग्दा धनुष भाँचियो । सो धनुषको एक टुक्रा झरेको स्थानलाई धनुषाधाम भनिन्छ । यसै स्थानको नामबाट जिल्लाको नाम धनुषा नामकरण भएको पाइन्छ ।

धनुषा जिल्लाको धार्मिक सांस्कृतिक, आर्थिक तथा सामाजिक व्यवस्था मानव सभ्यताको हरेक युग कालबाट प्रभावित भई परिष्कृत हुँदै आएको पाइन्छ । भारतमा रहेको अयोध्याका राजकुमार रामचन्द्रसँग जानकीको विवाहपश्चात यस क्षेत्रको गरिमा अझ उत्कर्षमा पुगेको मानिन्छ । कोसीदेखि गण्डकी र गंगादेखि हिमालयसम्म फैलिएको बृहत् मिथिला प्रदेशको युगान्तमा खुम्चिँदै गएको सानो स्वरूप नै हालका धनुषा हो भन्ने गरिन्छ । किम्बदन्तीअनुसार पूर्व वैदिक युगमा मानवविहीन यो क्षेत्रको अन्वेषण माथव विदेधले गरेका थिए । मुखमा अग्नी लिई वनले ढाकिएको यस अनकन्टार प्रदेशमा आइपुग्दा उनको मुखमा रहेको आगो बाहिर आई सम्पूर्ण वनको विनाश भएपश्चात यहाँ मानव बसोबास सुरु भएको थियो । त्रेतायुगमा राजा जनकको विद्वता र जानकीको धार्मिक भक्तिभावको सुकीर्ति टाढा–टाढासम्म फैलिएको पाइन्छ ।

१७औँ शताव्दीको सुरुमा भारतबाट महात्मा सुरदासको आगमनपश्चात यस क्षेत्रको इतिहास चम्किलो हुँदै गएको देखिन्छ । किम्बदन्तीअनुसार जानकीको जन्मस्थानको खोजीमा महात्मा सुरदास भौँतारिँदै गर्दा एकदिन राती सपनामा जानकी आफैँ प्रकट भई सुरदासलाई सो स्थान देखाएकी थिइन् । सोही बखत सुरदासले सो स्थानमा खन्ती गाडी चिनो लगाएर जानकीलाई प्रतिस्थापित गराएका थिए ।

राज्यहरूको उदय विलय क्रमसँगै यस प्रदेशका भौगोलिक सीमा परिवर्तन हुँदै गए । नेपाल एकीकरण हुनुअघि यो प्रदेश मकवानपुर राज्यको अधीनमा थियो । मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरका लागि १४ सय बिघा जमिन उपलब्ध गराएका थिए । विसं १८८२ मा अमरसिंह थापाले पेगोडा शैलीमा राममन्दिरको निर्माण गराएका थिए भने विसं १९५० मा टिकमगढकी महारानी वृषभानुदेवीले ९ लाख रुपैयाँ लगाएर हालको भव्य मुगलकालीन शैली झल्किने जानकी मन्दिर निर्माण गराएकी हुन् । हालको धनुषा जिल्लाले धार्मिक ऐतिहासिक मिथिला प्रदेशको सानो भूभाग ओगटेको भए पनि यो जिल्ला यस प्रदेशको मुटुको रूपमा रहेको पाइन्छ ।

जिल्लामा कृषिको अवस्था

धनुषाको इतिहास विभिन्न धार्मिक पर्यटनसँग जोडिए पनि जिल्लाको मुख्य आय कृषि नै देखिन्छ । धानको उत्पादनका लागि धनुषा प्रमुख जिल्लाको रूपमा रहेको छ । पछिल्लो समय कृषि उत्पादन घट्दो छ । खासगरी सिँचाइको समस्या वर्र्षौंदेखि व्याप्त रहेपछि विगत केही वर्षदेखि धनुषामा खडेरीको मार झेल्नुपरेको अवस्था छ । धनुषामा यसवर्ष पनि पानीको अभावमा ७३ प्रतिशत खेत बाँझै रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

धान उत्पादनको लागि प्रसिद्ध धनुषा जिल्लामा धान खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । समयमा मलखाद नपाउने र सिँचाइको पनि राम्रो व्यवस्था हुन नसक्दा किसानहरू धान रोप्न छाडेर अन्य खेतीतर्फ आकर्षित भएका छन् । जसका कारण उत्पादनमा पनि कमी आएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस वर्ष धनुषामा मात्रै ९७ करोड मूल्य बराबरको धान उत्पादनमा ह्रास आएको छ । केन्द्रका अनुसार यस वर्ष (साउनदेखि पुससम्मको तथ्यांक) ४२ हजार ८५० हेक्टरमा १ लाख २० हजार ६६० मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष ५५ हजार ७३० हेक्टर क्षेत्रफल धान खेती हुँदा १ लाख ८७ हजार ९२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष गत वर्षको तुलनामा ६७ हजार मेट्रिक टनले धान उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ । सरकारले तोकेको धानको मूल्यअनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा ९७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँ बराबरको धान उत्पादनमा ह्रास आएको केन्द्रका प्रमुख रामचन्द्र यादवले जानकारी दिए ।

जिल्लाका गणेशमान चारनाथ नगरपालिका, मिथला नगरपालिका, बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानहरूले मुख्य रूपमा धान खेती गर्दै आएको उनी बताउँछन् ।

जिल्लामा ७ लाख किसानहरूले धान खेती गर्दै आएको यादव बताउँछन् । ‘यहाँका अधिकांश किसानको आयस्रोत भनेको धान खेती हो’, उनले भने, ‘तर, समयमा मलखाद नपाएर लगानीअनुसार प्रतिफल किसानले पाउँदैनन् । त्यसकारण किसानहरू माछापालन तथा तराकारी खेतीलगायतमा आकर्षित भएका छन् ।’

प्रमुखको नजरमा कृषिमा देखिएको चुनौती

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा.रामचन्द्र यादवले धनुषामा सिँचाइ प्रमुख चुनौतीको रूपमा रहेको बताए । विशेषगरी धान, गहँु, आँप, दलहन, केरा खेतीका लागि प्रसिद्ध रहेको धनुषामा आवश्यक सिँचाइ नभएकै कारण सोचेजस्तो उत्पादन हुन नसकेको उनको भनाइ छ ।‘ मिहिनेत बढी र उत्पादन कम भएकै कारण कृषकहरू विदेश पलायन भएको अवस्था छ’, उनले भने, ‘कृषिमा यान्त्रीकरणको आवश्यकता छ, यसका लागि सरकारले सोच्नुपर्ने हो ।’ बेरोजगार युवाहरूलाई कृषि क्षेत्रमा लगाउन अहिले कृषि ज्ञान केन्द्रमा स्ट्रबेरी खेती, कागती खेतीलगायत युवाहरूलाई तालिमको पनि व्यवस्था रहेको यादवले बताए । युवाहरू विदेश जानुभन्दा आफ्नो श्रम आफ्नै भूमिमा खर्च गरे मुलुक र कृषिका लागि उपयुक्त हुने उनको कथन छ । प्रमुख डा.यादवले चामलको आयात बढ्दै गइरहेकोले खाद्यान्न उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताए । नदीहरूको पानी पाइपको माध्यमबाट ल्याएर रिर्जब बैंक बनाई आवश्यक परेको बेलामा खेतीमा सिँचाइ प्रयोग गर्न सकिने गरी भरत तालजस्तै ताल निर्माण गरेर पर्यटन पनि बढाउने माछा खेती पनि गर्ने र सिँचाइका लागि पनि प्रयोग गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको यादवले बताए ।

सरकारले कृषि क्षेत्रमा किसानलाई मल, बिउ र पानीको व्यवस्थापन गरिदिए कृषिमा देखिएको समस्या समाधान हुने प्रमुख यादवको भनाइ छ । उनका अनुसार गड्यौले मलको प्रविधिहरू हरेक वडामा सुरु गर्न जरुरी छ । रासायनिक मलको अधिक प्रयोगले जमिन एसिडिक भएको र त्यसलाई समाधान गर्नका लागि गोबर मल प्रयोग गर्नुपर्छ । धान र गहुँको क्षेत्रको रूपमा धनुषा रहे पनि बिउको हाहाकार हुने भएकोले स्रोत केन्द्रहरूमा यसको विस्तार गर्नुपर्ने उनको धारणा रहेको छ ।

धनुषाको शिक्षा अवस्था

धनुषा जिल्ला राजनीतिक र सांस्कृतिक रूपमा आगाडि रहे पनि शैक्षिक रूपमा भने पछाडि छ । एकातर्फ विद्यार्थीहरूमा विद्यालय छोड्ने प्रवृत्ति बढी छ भने अर्काेतर्फ शिक्षक व्यवस्थापन नहुँदा धनुषाको शैक्षिक सुधारमा चुनौती रहेको देखिन्छ । विद्यार्थीले बीचमै विद्यालय छोड्ने प्रवृत्ति, नक्कली शिक्षक, कक्षामा शिक्षकको नियमितता नहुनु र भएका शिक्षकको पनि उचित व्यवस्थापन हुन नसक्नु जस्ता कारणले धनुषाको शैक्षिक अवस्था कमजोर बनिरहेको छ ।

धनुषाको साक्षरता प्रतिशतलाई हेर्दा अहिले ७० प्रतिशतको हाराहारीमा रहेको अनुमान गरिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार भने धनुषामा साक्षरता प्रतिशत ५० दशमलव ७ रहेको छ । जसमा पुरुषको ६० दशमलव ६ र महिलाको ४० दशमलव २ प्रतिशत छ । धनुषामा विद्यार्थी भर्ना दर ९० प्रतिशतमाथि रहेको देखिन्छ । हरेक वर्ष हुने राष्ट्रिय भर्ना अभियानले भर्ना दरलाई बढाएको हुन्छ । सुरुको कक्षामा हुने भर्ना दरलाई हेर्दा उत्साहजनक नै देखिन्छ । तर भर्ना भएका विद्यार्थीहरूको क्रमशः विद्यालय छोड्ने प्रवृत्तिको तथ्यांक भने निकै भयानक देखिन्छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार धनुषामा कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुँदा कक्षा ५ मा पुग्दा ८० जना बाँकी हुन्छन् ।

त्यही विद्यार्थी कक्षा ८ मा पुग्दा ६५ र कक्षा १० सम्म पुग्दा त झनै घटेर ४५ जना मात्र बाँकी हुन पुग्छन् । अझ गैरसरकारी संस्थाको तथ्यांकमा त विद्यालय छोड्ने प्रवृत्ति त्यो भन्दा बढी देखिन्छ । धनुषामै शिक्षामा कार्यरत गैरसरकारी संस्था आसमानका अनुसार कक्षा १ मा भर्ना हुने विद्यार्थी मध्ये कक्षा ५ मा पुग्दा ३६ प्रतिशत मात्र बाँकी रहन्छन् । यति ठूलो संख्यामा धनुषाका विद्यालयमा विद्यालय छोड्ने प्रवृत्ति हुनुमा विद्यालयमा शिक्षक व्यवस्थापन हुन नसक्नु पनि एउटा प्रमुख कारण रहेको राजनीतिज्ञ, विज्ञ एवं सरोकारवालाहरूको धारणा छ ।

गरिबी र चेतनाको कमीले पनि धनुषालगायत मधेसका जिल्लामा विद्यालय छोड्ने प्रवृत्ति बढी देखिन्छ । खासगरी डोम चमारलगायत दलित र विपन्न समुदायका परिवारमा यो समस्या बढी छ । विद्यालय बीचमै छोड्नेमा बालिका नै बढी हुने गर्छन् । अर्काे कुरा, शिक्षक आफ्नो जिम्मेवारीप्रति जवाफदेही नभई दिँदा पनि भर्ना भएका विद्यार्थीलाई टिकाउन मुस्किल देखिन्छ ।

विद्यार्थी अनुपातमा शिक्षकको कमी, विषयगत शिक्षकको अभाव, योग्यताअनुसार दरबन्दी मिलान नहुनु, भाषाको समस्या, सरुवाको समस्या, शिक्षक नियुक्ति र सरुवामा राजनीतिक प्रभाव, दण्ड पुरस्कारको व्यवस्था नहुनुजस्ता समस्या विद्यालयहरूले भोगिरहेका छन् । जसका कारण धेरै अभिभावकको पहुुुँच बनेको सामुदायिक विद्यालय कमजोर हुँदा समग्र जिल्लाकै शैक्षिक अवस्था खस्किरहेको छ । कम विद्यार्थी भएको ठाउँमा बढी शिक्षक र बढी विद्यार्थी भएको ठाउँमा कम शिक्षक हुनु नै धनुषामा शिक्षक व्यवस्थापनको मूल समस्या हो ।

धनुषाका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन समस्याको रूपमा देखिन्छ । सदरमुकामदेखि टाढा रहेका गाउँपालिका र नगरहरूमा भएका सामुदायिक विद्यालयमा विद्यार्थी बढी भए पनि शिक्षक अपुग देखिन्छन् । सदरमूकाम र सहरी क्षेत्रका विद्यालयहरूमा भने विद्यार्थी कम भए पनि शिक्षक संख्या बढी देखिन्छ । अर्काे समस्या नक्कली शिक्षक पनि हो । नियुक्ति पत्र बोकेर तलब खाएका शिक्षक भेटिन्छन् तर उनीहरू कहाँ पढाइरहेका छन् त्यसको रेकर्ड भेटिँदैन । राजनीतिक प्रभाव र दबाबका आधारमा यस्तो हुने गरेको शिक्षकहरू बताउँछन् ।

धनुषामा कुल शिक्षक संख्या २ हजार ५८३ रहेको छ । जबकी दरबन्दी संख्या २ हजार ४३ मात्रै छ । त्यसमध्ये स्थायी दरबन्दी संख्या १ हजार ७०५ रहेको छ भने अस्थायी शिक्षक संख्या ३३८ र राहत शिक्षक संख्या ५४० रहेको छ । धनुषामा ३७१ साधारण विद्यालय र ७२ वटा मदरसा शिक्षालय छन् । ती विद्यालयहरूमा १ लाख ११ हजार विद्यार्थी पठनपाठन गर्छन् । सरकारी मापदण्डअनुसार विद्यार्थीको अनुपातमा शिक्षक व्यवस्थापन गर्ने हो भने एक शिक्षक बराबर हिमालमा ४० विद्यार्थी, पहाडमा ४५ तथा तराई र उपत्यकामा ५० विद्यार्थी आवश्यक हुन्छ ।

तथ्यांकलाई आधार मान्ने हो भने जिल्लागत हिसाबले विद्यार्थीको तुलनामा धनुषामा शिक्षकको कमी देखिँदैन । तर, आवश्यकता अनुसार शिक्षकको बाँडफाँड नहुँदा शिक्षक व्यवस्थापन कमजोर देखिन्छ । जस्तै, मापदण्ड अनुसार तराईमा ५० जना विद्यार्थी बराबर १ शिक्षकको आवश्यक्ता हो । तर धनुषामा कुल शिक्षक संख्या र कुल विद्यार्थी संख्या दाँजेर हेर्दा १ शिक्षक बराबर ४३ जना मात्र विद्यार्थी पर्न आउँछ । यसबाट स्पष्ट हुन्छ कि सही ठाउँमा सही निर्णय हुन नसक्दा विद्यालयमा शिक्षक व्यवस्थापनको स्थिति कमजोर छ । हेर्दा सामान्यजस्तो लागे पनि यसले धनुषाको गुणस्तरीय शिक्षालाई मात्र असर पारिरहेको छैन कि समग्रमा मधेस प्रदेश र देशकै साक्षरतालाई असर पारेको छ ।

शिक्षा समन्वय इकाईको नजरमा यस्तो छ धनुषाको शिक्षा अवस्था

शिक्षा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले धनुषाको शिक्षामा राजनीति बढी हावी भएकोले शिक्षा अवस्था खस्किँदै गइरहेको बताए । विभिन्न दलहरूले आफ्नो दलगत शिक्षक संघ बनाएर आफूखुसी प्रधानाध्यापक राख्ने र शिक्षकलाई आन्दोलनकर्मीको रूपमा प्रयोग गर्ने गरेकोले शिक्षामा बेथिति बढेको उनको भनाइ छ । विद्यालयभित्र आइसकेको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन नसकिएको बताउँदै उनले दरबन्दी मिलानदेखि लिएर भौतिक पूर्वाधारको कमीजस्ता चुनौतीले पनि शैक्षिक अवस्थामा परिवर्तन ल्याउन नसकिएको प्रमुख पोखरेलको भनाइ छ ।

‘विद्यालय भर्ना अभियान सञ्चालन गर्ने तर त्यही बालबालिकाहरू इँटाभट्टामा काम गरिरहेका, होटलहरूमा मजदुरी गरिरहेका, विभिन्न गाडीहरूमा खलासीको काम गरिरहेका देख्दा पनि सम्बन्धित निकाय चुप छन्’, उनले भने, ‘कतिपय ठाउँमा विद्यालय व्यवस्थापन समितिसमेत बन्न सकेको छैन, चुनाव गराउने पनि प्रष्ट व्यवस्था नभएका कारण समस्या दिनप्रतिदिन बढ्दो छ ।’

प्रमुख पोखरेलले खराब शिक्षा नीतिकै कारण सामुदायिक विद्यालयप्रति अभिभावकको रुची कम भएको बताए । कसैका पुस्ताले बनाएको विद्यालयमा अहिले पनि उनकै परिवारले कव्जा गर्ने परिपाटी, हजारौँ विद्यार्थी भएको ठाउँमा शिक्षकको कमी र आवश्यक वजेट व्यवस्थापनको कमीका कारण शैक्षिक स्तर दुर्गतितर्फ अग्रसर भइरहेको उनले बताए । ‘संघीय सरकारले शिक्षाको सम्पूर्ण जिम्मा पालिकालाई दिएको छ तर पालिकामा ८ कक्षा पास भएकाहरूले शिक्षा नीति बनाउन थालेपछि धराशायी हुने नै भयो’, प्रमुख पोखरेलले भने, ‘शिक्षा कार्यालयलाई अहिले इकाई बनाइएको छ तर पावर केही नदिँदा इकाईले पनि चुपचाप शिक्षाको दुर्गति हेरेर बस्नुपरेको छ ।’

धनुषाको स्वास्थ्य अवस्था

धनुषामा क्षयरोग मुख्य चुनौतीको रूपमा रहेको छ । विगतको तुलनामा क्षयरोगीको संख्या केही घटे पनि उल्लेख्य रूपमा घट्न सकेको छैन । धनुषामा कुल जनसंख्या ८ लाख ७७ हजार ६२ मध्ये क्षयरोगीको संख्या १ हजार १५४ जना रहेको छ । बालबालिकामा लाग्ने क्षयरोग (एमडिआर टिबी) पनि मुख्य समस्याको रूपमा रहँदै आएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार धनुषामा ११ जना बालबालिकामा एमडिआर टिबीको संक्रमण देखापरेको छ ।


त्यसैगरी कुष्ठरोगको अन्त्यका लागि नेपालले धेरै पहिलेदेखि लागे पनि अहिलेसम्म निर्मुल हुन सकेको छैन । धनुषामा अहिले पनि १२३ जनामा कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादवको भनाइ छ । त्यसैगरी धनुषामा हात्तीपाइले रोगको संख्या लगभग १ हजार ३५० रहेको छ । अहिले पनि धनुषाको सहरी क्षेत्रमा अधिकांशले हात्तीपाइलेको औषधि खान नचाहनुले धनुषामा हात्तीपाइले रोग नियन्त्रण गर्न कठिनाइ भएको यादवको भनाइ छ ।


धनुषामा स्वास्थ्य संस्थाको रूपमा एउटा प्रादेशिक अस्पताल, ५ वटा पिएचसी, ९८ वटा एचसी रहेका छन् । त्यसैगरी बेसिक हेल्थ युनिट ५६ वटा र सी एचयु ६ वटा रहेका छन् त्यसैगरी एउटा प्रादेशिक आयुर्वेद औषधालय र ८ वटा लोकल आयुर्वेद औषधालय र १२ वटा नागरिक आरोग्य केन्द्र रहेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान

मधेस प्रदेशसभाबाट २०७७ मा ऐन गठन गरी गुणस्तरीय स्वास्थ्य सेवा, सर्वसुलभ स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ शिक्षा तथा रिसर्चको लक्ष्यका साथ मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन भयो । प्रतिष्ठानले अहिलेसम्म क्यान्सरको निदानका लागि पनि अस्पताल निर्माणको प्रक्रियामा रहेको प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहको भनाइ छ । स्वास्थ्य शिक्षाअन्तर्गत गठन भएको यो प्रतिष्ठानले स्थापना भएको तीन महिनामै ४ वटा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । बेचलर इन पब्लिक हेल्थ, बिएससी नर्सिङ, बिएमएलटी, बिएमएस कोर्स सफलताका साथ अगाडि बढेको उपकुलपति साहको भनाइ छ । प्रतिष्ठानले २ वर्षदेखि एमडिएमएसको पनि सुरुआत गरेको छ जुन अहिले ७ वटा विषयमा पढाइ भइरहेको छ । यसवर्षदेखि एमबिबिएस पढाइ सुरु गर्ने योजना रहेको उपकुलपति डा. साहले बताए ।
प्रादेशिक अस्पताल जनकपुरधाम

मधेस प्रदेशमै वीरगन्जपछि ठूलो अस्पतालको रूपमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाम, जनकपुरधाम आसपासका २० जिल्ला मात्रै होइन भारतको विहारबाट पनि बिरामीहरू आउने अस्पताल हो । मधेस विज्ञान प्रतिष्ठानको गठन भएसँगै अस्पताल द्रुत गतिमा फेरिएको छ । अस्पतालमा विभिन्न सेवा सुविधाहरूमा बढोत्तरी भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामनरेश पण्डितले पहिले गलत राजनीतिको प्रभावमा अनधिकृतरूपमा राखिएका स्टाफहरूलाई हटाएर सेवालाई दुई गुणा बढाएपछि अस्पतालको अवस्थालाई सुधार गर्न सकिएको बताए । अस्पतालमा फोहोर व्यवस्थापनदेखि लिएर विभिन्न सेवाहरू कम पैसामै प्राप्त गर्ने भएपछि अस्पतालमा अहिले दैनिक ६०० देखि १२ सयको ओपिडीमा उपचार भइरहेको तथ्यांक छ । अस्तव्यस्त रहेको अस्पताललाई मिलाउनका लागि धेरै नै मिहिनेत गर्नुपरेको डा.पण्डितले बताए । पहिले अस्पतालमा दुई वटा मात्रै टिकट काट्ने काउन्टर रहेकोमा अहिले ६ वटा काउन्टर बढाएर सहज बनाएको उनी बताउँछन् । विभिन्न वार्डहरूलाई बिस्तार गरी सर्जरी सेवामा पनि सुधार गरेको र अहिले मुटुरोगको सेवा पनि बिस्तार गरिएको उनको भनाइ छ । डा.पंडितले फोहोर व्यवस्थापनका लागि भने धेरै नै समस्या खेप्नुपरेको बताए । सरसफाइ कर्मचारीहरूलाई काम गर्नका लागि प्रोत्साहित गरेपछि अहिले धेरै नै सुधार आएको उनको अनुभव छ । डा.पण्डितका अनुसार सरकारले नागरिकलाई सहजताका लागि स्वास्थ्य बिमा योजना ल्याए पनि उचित प्रचारप्रसार र जनचेतनाका कमीले अहिलेसम्म यो सुविधा लिनेको संख्या कम छ । कम आय भएका नागरिकहरूका लागि स्वास्थ्य बीमा धेरै नै लाभकारी रहेको डा. पण्डितले बताए ।

यस्तो छ पशु स्वास्थ्यको अवस्था

धनुषामा गत वर्षजस्तो यसवर्ष पशुहरूमा कुनै रोगको संक्रमण नभएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा.संजीव कुमार ठाकुरले बताएका छन् । गत वर्ष लम्पीस्किन रोगले हैरान पारेको बताउँदै लम्पीस्किन रोगको भ्याक्सिन लगाएकोले यस वर्ष पशुहरूमा त्यस्ता कुनै रोग नलागेको उनले बताए । नियमितरूपमा चलाइने पिपिआर, खोरेत, चरचरे, भ्यागुते रोगका भ्याक्सिन अहिले पनि जारी रहेको बताउँदै उनले भ्याक्सिन लगाइसकेकालाई यो रोग नहुने भएको पशु किसानहरूलाई चिन्तित नहुन डा.ठाकुरको आग्रह छ । अहिले धनुषाको सबै पालिकामा पशु सेवाका लागि सेवा केन्द्रको निर्माण भइसकेको बताउँदै उनले भेटनरी अस्पतालमा दैनिक ७० देखि ८० वटा पशुको उपचारहरू हँुदै आएको जानकारी दिए । अहिले खास गरेर पशुहरूलाई कुकुरले टोकेर हैरान पारेको र त्यस्ता केसहरू बढी आउने गरेको उनले बताए ।

जिल्लामा बढी माछा उत्पादन गर्नका लागि १० लाखको एरिएटर खरिद तथा वितरण कार्यक्रम गरेको र पशुहरूलाई खुवाउनका लागि १० लाखको च्याप कटर खरिद गरेर वितरण गरेको बताए । माछा मासु बिक्री कक्ष निमार्णका लागि टेन्डर आह्वान गर्दा पनि कसैले चासो नलिएपछि करोडौँ बजेट फिर्ता गरिएको उनले बताए ।

प्रमुख ठाकुरले पशुपालन गर्नुभन्दा पहिले भेटनरी अस्पताल तथा पशु विज्ञहरूसँग सल्लाह लिएर मात्रै पशुपालन गरे यसबाट मनग्य आम्दानी हुने बताए । साथै पशुहरू बिरामी हुने बित्तिकै उपचारमा लाग्न उनले सल्लाहसमेत दिए ।

प्रतिक्रिया