दुनियाँको अभ्यासमा आएको राजनीतिक प्रणालीमध्ये लोकतान्त्रिक गणतन्त्र अथवा गणतन्त्रात्मक शासन प्रणालीलाई सबैभन्दा उत्तम प्रणाली मानिन्छ । योभन्दा उन्नत प्रणाली अर्को छैन भन्ने विश्वास गरिन्छ र यो दुनियाँका अभ्यासहरूले पनि देखाएको छ । हामीले पनि २०६२÷०६३ सालको जनआन्दोलनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना ग¥यौँ र त्यसैको बाटोमा हिँडिरहेका छौँ ।
२०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो र २०७२ सालमा नयाँ संविधान जारी भएसँगै यसको संस्थागत भयो । संस्थागत भएको पनि १० वर्ष भइसक्यो । तर, यसको अभ्यासमा केही कमी र समस्या भने देखिएको छ । यो प्रणाली नै खराब हो भन्ने कोणबाट पनि केही तर्कहरू आउन थालेका छन् । तर, यो प्रणाली खराब होइन, यसलाई खराब मान्दैनौँ । यसको अभ्यासका क्रममा राजनीतिक दल, दलका नेतृत्व र सरकारमा पुगेका नेतृत्वले गरेको काम र अभ्यासका कारण त्यस्तो भ्रम परेको छ । कुनै–कुनै कोणबाट यसको अपमान गर्ने प्रयास भएको छ । यो प्रणालीको मूल्य, मान्यता, सिद्धान्त र चरित्रजस्ता सबै कुरा उत्तम मानिन्छ, त्यो हो पनि । यो प्रणालीलाई सही व्यक्तिको हातमा जिम्मा दिने हो भनेचाहिँ यसले राम्रो परिणाम दिन सक्छ भन्ने विश्वास छ ।
यो जनताको अपार समर्थनबाट स्थापना भएको प्रणाली हो । यसको परिकल्पना, मर्म र भावनाअनुसार हामीले व्यवहारमा उतारी यसको व्यवस्थालाई इमानपूर्वक कार्यान्वयन गर्ने हो भने यसले मुलुकलाई सकारात्मक परिणाम दिन्छ । तर, राजनीतिक दलमा रहेको खुट्टा तान्ने प्रवृत्ति, दलभित्रका अन्तरद्वन्द्व, अस्वस्थ प्रतिस्पर्धा, सत्ता केन्द्रित राजनीति र सत्तालाई सर्वोपरि ठान्ने प्रवृत्तिका कारण यसमा केही समस्या देखिएको ।
यद्यपि, समस्या प्रणालीमा होइन, सञ्चालन गर्ने पद्धतिमा हो । त्यसैले राजनीतिक दलहरूले सत्तालाई सर्वाेपरि नठानेर जनताको जीवनलाई सुखद् र सहज बनाउने, देशको प्रतिष्ठा उठाउने र लोकतन्त्रको भविष्य सुरक्षित गरी नयाँ पुस्ताको भविष्य सुरक्षित गर्ने कुरालाई मुख्य प्राथमिकता बनाउने हो भने यसप्रति आशा, जनताको भरोसा बढेर विश्वासिलो बन्नेछ ।
हामीले निसंकोच भन्नैपर्छ– त्यो दिशातर्फ अहिलेको राजनीति अभिमुख भएको छैन । राजनीतिक दलका क्रियाकलाप त्यसतर्फ केन्द्रित नभएकाले केही समस्या देखापरेका छन् । त्यसैले हामीले यसमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता छ । अहिलेको मौजुदा क्रियाकलाप र गतिविधिले यसलाई बलियो बनाउँदै छैन । समस्या बढाउँदै छ र अनेक प्रकारका प्रश्न उठेका छन् ।
अझ पुरानो व्यवस्था अथवा सक्रिय राजतन्त्रका पक्षपाती भनिनेहरूले प्रश्न उठाउने हिम्मत गर्न थालेका छन् । त्यो ठाउँ हामी आफैँले दिएको हो । हिजो गणतन्त्र स्थापनाका कारक राजा आफैँ बने । राजाको निरंकुशता त्यसको कारक बन्यो । आज गणतन्त्रमाथि प्रश्न उठाउने ठाउँ हामी आफैँले दिएका छौँ । त्यसैले यसलाई सुधार गरेर लैजान सकियो भने अझै पनि गणतन्त्रमा आशा गर्ने ठाउँ छ । अहिले नै हामीले निराश हुनुपर्ने अवस्था छैन ।
लोकतान्त्रिक गणगतन्त्रका आदर्श सिद्धान्त र यसका मान्यताहरूलाई हामीले व्यवहारमा अनुभूत हुने गरी काम गर्नुपर्छ । सिद्धान्तमा एउटा देखाउने, व्यवहारमा अर्को अभ्यास गर्न थालियो भने त्यसले सही परिणाम दिँदैन र त्यो व्यवस्थाप्रतिको इमानदारी हुँदैन । लोकतान्त्रिक गणतन्त्र भनेको जनताको व्यापक सहभागितामा चल्ने राजनीतिक प्रणाली हो । यो सबैले अपनत्व गर्ने गरी चल्नुपर्छ र त्यसको अनुभूति सबैले गर्न पाउनुपर्छ । त्यो अनुभूति अहिले भएको छैन, यो यथार्थ हो । यति मात्रै होइन, यो व्यवस्था स्थापना भएको देशमा यसलाई समाज कहाँ पु¥याउने भन्ने हाम्रो मिसन हुनपर्छ ।
आउने ५० वर्षमा नेपाललाई कहाँ पु¥याउने भन्ने हाम्रो दीर्घकालीन उद्देश्य पनि हुनपर्छ । ५–५ वर्षमा निर्वाचनको अभ्यास गरेर फगत प्रणालीको रटान लगाउने हो भने देखाउने दाँत मात्रै हुन्छ । त्यसैले यसलाई व्यवहारमा उतार्ने दिशामा अघि बढ्नुपर्छ । यो हामी सबैको जिम्मेवारी हो । अहिले पनि निराश भएर होइन, यसैमा आशावादी भएर यसको संस्थागत विकासमा लाग्नुको विकल्प छैन ।
प्रतिक्रिया