कांग्रेस पूर्वसांसद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई रौतहट बम विस्फोट प्रकरणमा सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी परेको छ ।

जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर जलाउने पूर्वसांसद आलमलाई सफाइ दिने दुई जना न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने मागसहित न्यायपरिषदमा उजुरी परेको हो ।

युवराज पौडेल (सफल) ले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा उजुरी दिएका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।

यसअघि पीडित एवं साक्षीको संरक्षणका लागि जिल्ला अदालतले नै विशेष प्रकारको आदेश जारी गरेको थियो । जिल्ला अदालतले विभिन्न आधार देखाउँदै व्यक्तिहत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो ।

तर जिल्ला अदालतले औँल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरुको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरु थारु र महर्जनमाथि छानविन हुनुपर्ने माग भएको हो । उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।

न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भिर उल्लंघनको आरोपमा न्यायाधीशहरुमाथि छानविन हुन सक्ने व्यवस्था छ । निवेदनमा कुनै उल्लेख नगरेपछि पौडेलले न्यायाधीशद्वयको कार्यक्षमतामा प्रश्न उठाई उजुरी दिएका हुन् ।

गत बुधबार उच्च अदालत जनकपुरको बीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिएको थियो । अदालतको सफाइ पाएपछि आलम जेलमुक्त भइसकेका छन् ।

प्रतिक्रिया