निर्विकल्प गणतन्त्र

अहिले गणतन्त्रभन्दा निरंकुशतन्त्र ठिक हो भन्ने जनमत बनाउन प्रयास हुँदै छ । यस्ता कुराको निकै दुरुपयोग भएको छ । यसमा हामीले खबरदारी गर्नुपर्छ ।

लोकतान्त्रिक गणतन्त्र उन्नत व्यवस्था भएकाले यो सबैभन्दा राम्रो छ । यो व्यवस्थाप्रति निराशावादी हुनुपर्ने वा शंका गर्नुपर्ने अवस्था आइसकेको छैन । हामीले जुन उद्देश्यका साथ गणतन्त्र ल्याएका थियौँ, त्यो पूर्ण नहुन सक्छ । त्यसलाई पूर्णता दिने भनेको हामी सबै गणतन्त्रवादीले हो । यसमा आशंका गर्ने वा निराश हुनुपर्ने अवस्था कत्ति पनि छैन । यही व्यवस्थाबाट जनताको समृद्धि खोज्ने हो ।

संविधानमार्फत् गणतन्त्र संस्थागत भएको १ दशक भयो । यो अवधिमा यसलाई सञ्चालन गर्ने सवालमा नेतृत्वबाट केही कमी र समस्या भए होलान् । त्यसैका आधारमा कसैलाई लाग्न सक्छ– कतै यो व्यवस्था नै खराब पो हो कि ! तर, त्यो सही होइन, यो प्रणाली खराब हुनै सक्दैन । कहीँकतै यसलाई हेर्ने र बुझ्ने सवालमा भ्रम छ भने त्यसलाई चिर्नुपर्छ । यसको अपमान गर्ने गरी बोलिनु वा हेरिनु परिवर्तनप्रतिको अपमान हुनेछ । यो दुनियाँकै उत्तम व्यवस्था भएकाले कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ ।

यसलाई सञ्चालन गर्ने सवालमा इमान भएन र मुख्य राजनीतिक दलमै वैमन्यस्य भयो भने समस्या आउन सक्छ । त्यस्तो अवस्था आउन नदिन मुख्य दलहरू जिम्मेवार हुनपर्छ । दल र तिनका नेताले निजी स्वार्थभन्दा माथि उठेर व्यवस्था र मुलुकप्रति समर्पित भए लाग्ने हो भने जनताको जीवन समृद्ध बनाउन सकिन्छ । गणतन्त्रको विकल्प अरू व्यवस्था हुनै सक्दैन । कसैलाई लागेको होला– गणतन्त्रको विकल्प पुरानै निरंकुश वंशज परम्पराको व्यवस्था वा अन्य कुनै प्रकारको तानाशाह व्यवस्था होला भन्ने । तर, यो अहिलेको नयाँ पुस्ताले कुनै पनि हालतमा स्वीकार गर्दैन ।

कसैकसैलाई भ्रम छ– हामीले नेतृत्वको आलोचना गरिरहँदा व्यवस्थाविरुद्ध बोल्यो भनेर । त्यो होइन, हामी नेतृत्व सच्चिएर जुन उद्देश्यले गणतन्त्र ल्याइएको थिो, त्यहीअनुसार व्यावहारिक रूपमा जनताको हितमा काम गर्नुपर्छ भन्ने पक्षमा हो । आलोचनाले सुध्रिन र काम गर्न सहज बनाउँछ भन्ने हामीले बुझेका छौँ । अहिले स्कुलका पुस्तकदेखि कलेज÷विश्वविद्यालयका पाठ्यक्रममा समेत गणतन्त्र, यसको मूल्य र मान्यताका बारेमा पढाइ हुन्छ । यसले मान्छेमा व्यवस्थाप्रति सचेत गराएको छ र त्यसअनुसार नेतृत्व हिँड्नुपर्छ भन्ने बुझाएको छ ।

तर, समस्या कहाँ भयो भने, सिस्टम पढाइयो, इतिहास पढाइएन । त्यसका बारेमा पनि जानकारी गराउनुपर्छ । इतिहास कसैका लागि गर्वको विषय छ भने कसैका लागि घृणाजन्य होला । हामीले यसबारेमा सही ढंगले बुझाउन सक्नुपर्छ । हरेक राजनीतिक परिवर्तन, त्यसका दौरान भएका क्रान्ति र आन्दोलनबारेमा पनि सचेत गराउन सक्नुपर्छ ।

अहिले गणतन्त्रभन्दा निरंकुशतन्त्र ठिक हो भन्ने जनमत बनाउन प्रयास हुँदै छ । यस्ता कुराको निकै दुरुपयोग भएको छ । यसमा हामीले खबरदारी गर्नुपर्छ । कहीँकतै जनतालाई गलत सूचना प्रवाह गर्ने प्रयास भइरहेको छ, अब मुलुकमा केही हुँदैन भनेर अहिले गणतन्त्र विरोधीहरुले एकखालको अभियान नै चलाइएको छ । यसमा सञ्चारमाध्यम पनि प्रयोग भएका छन् । नेपालमा केही हुँदैन, देश रित्तिँदै छ भन्ने भाष्य बनाइँदै छ ।

अझै पनि गणतन्त्रमा चुनौती छ भन्ने अवस्था छैन । केही पात्रका कारण समस्या भएको हो । अब ती पात्र सच्चिने कि सक्किने भन्ने अवस्था छ । यसमा आशावादी हुने ठाउँ धेरै छ । आज मात्रै होइन, भोलिका दिनमा पनि यसमा चुनौती होला भन्ने लाग्दैन । गणतन्त्रमा चुनौती भएर वा असफल भएर राजतन्त्र वा कुनै पनि प्रकारको निरंकुशता स्थापना हुन सक्दैन । गणतन्त्र असफल भएर निरंकुशता आएको इतिहास विरलै छ । तर, यसविरुद्ध मान्छेले किन बोलेका छन् भन्नेमा चाहिँ समीक्षा गर्नैपर्छ । नेतृत्वको व्यवहार, सत्तामा हुँदा रामराज्य नै छ भन्ने, बाहिरिँदा छटपटाहट हुने जस्ता कुराले पनि यसमा काम गरेको छ । तर, गणतन्त्रको फूलबारीमा कुनै चुनौती आएमा हामी समाधान गर्न सक्छौँ ।

प्रतिक्रिया