गणतन्त्रलाई अझै परिस्कृत र परिमार्जित गर्नुपर्छ

माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री

गणतन्त्रको स्थापनाको १८औँ वर्ष प्रवेशको दिन जनताको संघर्ष, बलिदान र संकल्पलाई स्मरण गर्ने गौरवपूर्ण स्मृतिलाई सम्मान गर्ने दिन हो । निरंकुश राजतन्त्र र शाह वंशीय परिपाटी अन्त्य गरेर जनता सार्वभौमसत्ता सम्पन्न भएको घोषणा गरिएको दिन पनि हो । लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक र विजयी यात्राको परिणाम स्वरूप २०६५ जेठ १५ गतेका दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । नागरिकलाई शासन सत्ताको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

तर, आज जब हामी गणतन्त्र स्थापनाको १८ बर्से मोडमा आइपुगेका छौँ, यति छोटो अवधिमै गणतन्त्रप्रति प्रश्न उठाइनु गम्भीर विषय बनेको छ । यसमा दोष प्रणालीलाई दिनु उपयुक्त र जायज देखिँदैन । राजनीतिक दल, नेता र सामान्यतया सरकारको समग्र मूल्यांकन गर्ने र प्रत्येक ५ वर्षमा उनीहरूको भाग्य र भविष्यको निर्धारण गर्ने जिम्मेवारी आमजनताको क्षेत्राधिकारभित्र तय भइसकेपछि दोष व्यवस्था र गणतन्त्रलाई दिन मिल्दैन ।

संसारका कुनै पनि व्यवस्था आफैँमा पूर्ण रूपमा दोषमुक्त छैनन् । अहिलेको गणतन्त्रलाई अझै परिष्कृत र परिमार्जित गर्नुपर्छ । हाम्रो संविधानले समाजवाद उन्मुख आर्थिक परिपाटीको कुरा गरेको छ । तर, समाजवादी व्यवस्थाका मुख्य पक्ष एवं जनताका मौलिक हक र अधिकारलाई व्यवहारमा लागू गर्ने काम नै हुन सकेको छैन । त्यसकारण प्रणालीभन्दा पनि प्रणाली संस्थागत गर्नुपर्ने जिम्मेवार नेतृत्व र दलले सही दृष्टिकोण र चरित्र प्रदर्शन गर्दै अपेक्षित गतिका साथ अघि नबढ्नु नै मूल कारण हो ।

नेपालको गणतन्त्र पूर्ण रूपमा परिपक्व भएको छ भनेर भन्न अझै सकिन्न । किनभने गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र होइन– यो विचार, व्यवहार र संस्कारको समुच्च रूप हो । जनतासँगको इमानदार प्रतिबद्धता, सेवा प्रवाहमा पारदर्शिता, परिणाममुखी काम, जबाफदेहिता र सहभागिताले मात्र गणतन्त्रको आधार बलियो हुन्छ । तर, आज सत्तामा पुगेका कतिपय नेताहरू नै गणतन्त्रका मूल मर्म र भावना तथा मूल्य र मान्यताबाट विचलित भएकाले नै जनतामा नैराश्य, असन्तुष्टि र वितृष्णा देखिन थालेको छ ।

भ्रष्टाचार, सेवा प्रवाहमा लापरबाही, न्यायमा पहुँचको कमी, अपारदर्शिता, राजनीतिक अस्थिरता, दलभित्रको गुटबन्दी र जनताबाट विमुखता– यी सबै गणतन्त्रप्रति प्रश्न उठाउने प्रमुख कारणका रूपमा देखिएका छन् । नेतृत्वले जनचाहना र जनअपेक्षालाई उच्च प्राथमिकतामा राखेर आचरण नगरेमा जनताले जतिसुकै सुन्दर प्रणालीमाथि प्रश्न उठाउने अवस्था सिर्जना हुन्छ ।

हामीले ल्याएको यो गणतन्त्र लाखौँ जनताको आन्दोलन, हजारौँ सहिदको बलिदान र भावी पुस्ताको आशा, अपेक्षा र विश्वासको परिणाम हो । त्यसैले मुलुकको नेतृत्व गर्नेहरूले व्यवस्था परिवर्तनसँगै जनताका आशाहरूलाई पूरा गर्नेतर्फ प्रभावकारी कदम चाल्न नसक्दा कतै उनै नेताहरूबाटै गणतन्त्र खतरामा त छैन ? भनेर प्रश्न उठिरहेको छ । जनताको विश्वास गुमाएर कुनै पनि शासन व्यवस्था दिगो हुन सक्दैन ।

यसर्थ, हामी सबैले यो गणतन्त्रलाई बचाउन, बलियो बनाउन र संस्थागत गर्न आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । जनता र समाजलाई परिवर्तन र रूपान्तरण गर्दै उनीहरूलाई उन्नत, समृद्ध र सुखी बनाउँदै देशको प्रतिष्ठा र मानलाई माथि उठाउन सामग्रिक सोच राख्दै परिणाममुखी र दूरदृष्टियुक्त काम गरेर जनताको विश्वास जित्नु आवश्यक छ । गणतान्त्रिक व्यवस्थालाई अझै उन्नत बनाउन हामीले हाम्रो देशलाई वैज्ञानिक समाजवादी प्रणालीमा नै लैजानुपर्छ र यो समाजवादी प्रणाली नेपाली विशेषता अनुरूपकै हुनुपर्छ ।

यस सन्दर्भमा, म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आह्वान गर्न चाहन्छु– हामीले हासिल गरेको यो मूल्य र उपलब्धिको रक्षा गर्दै समृद्धिको यात्रालाई अघि बढाउन यहाँहरूको सक्रियता एवं सहभागिता समेत आवश्यक छ । हामीले केवल आलोचना, दोष र निराशा छर्ने मात्र होइन, सुधार र परिवर्तनको साझा एजेन्डा निर्माण गर्दै अघि बढ्न आवश्यक छ ।

अन्तमा, १८औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण देशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गणतन्त्र सुदृढ होस्, लोकतन्त्र जनमुखी होस् र समाज समावेशी तथा न्याय समानतामा आधारित बनोस् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया