एसीसी प्रिमियर कप : साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको नेपाल र साउदी अरेबियाबीचको खेलमा साउदिले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । ओमानमा जारी यस खेलमा वर्षाले पिचमा समस्या भएपछि २० ओभरको खेललाई आठ ओभरमा झारेर ढिलो गरी खेल सुरु भएको हो ।

नेपाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित आठ ओभरमा ७ विकेटको क्षतिमा जम्मा ७३ रन बनाएर नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको हो । साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए । अन्य कुनै पनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि।सी र ललित राजवंशीले १–१ विकेट लिए ।

ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन सकेको थिएन । गएराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीनवटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो ।

प्रतिक्रिया