ज्यान मार्ने उदेश्यले आक्रमण गर्नेमाथि प्रहरीले नै जाहेरी दर्ता नगरेको आरोप

रौतहट । ज्यान मार्ने उदेश्यले टाउकोमा प्रहार गरी घाइते बनाउनेमाथि कारबाहीको लागि जाहेरी दिँदा पनि रौतहट प्रहरीले अहिलेसम्म जाहेरी दर्ता नगरेको एक पीडितले आरोप लगाएका छन् ।

रौतहट जिल्लाको परोहा नगरपालिका– ८ नरकटिया टोल बस्ने ५० वर्षीय विजेन्द्र पटेलले घटना भएको दुई हप्ता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्नमाथि कुनै कारबाही नगरेको आरोप लगाएका हुन् ।

सोमबार रौतहटको गौरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पीडित पटेलले यही वैशाख ६ गते राति १२ बजेको समयमा स्थानीय ओमलोक पटेल र विशेश्वर पटेलले टाउकोमा रड प्रहार गरी घाइते बनाएको आरोप लगाएका छन् ।

आरोपित दुवै जनाले गाउँमा विवाहमा आएका टेन्ट हाउसका सञ्चालक अनिल यादवलाई कुटपिट गर्दै गरेको बेला किन कुटपिट गरिराखेको भनेर सोध्दा त्यसैको रिसले आफूमाथि समेत आक्रमण गरी घाइते बनाएको पीडित पटेलले दाबी गरेका छन् ।

विवाहपछि आफ्नो मकै बारीमा बलेको टार्च लाइट कसले बालेको भनी हेर्न जाँदै गरेको अवस्थामा इनरसेन पटेलको घरदेखि १०० मिटरको दुरीमा ओमलोक पटेल र विशेश्वर पटेलले आफूमाथि पछाडिबाट टाउकाेमा प्रहार गरेको पीडित भनिएका विजेन्द्र पटेलले दाबी गरेका छन् ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटमा आरोपितमाथि जाहेरी दरखास्त दिएको र सो दर्ता गर्न पटक–पटक प्रहरीलाई आग्रह गर्दा पनि जाहेरी दर्ता नगरेको भन्दै पटेलले प्रहरी नायव उपरीक्षक एलिजा गिरीले पहिला उपचार गराएको बिल पेश गर्न अनावश्यक दबाब दिने गरेको आरोप लगाएका छन् ।

टाउकोमा चोट लागेका कारण अहिले समस्या नै रहेको र उपचारको क्रममा नै रहेकाले बिल उपलब्ध गराउन सकिने अवस्था नरहेको उनको भनाई छ । आरोपितले आफ्नो उपचार खर्च समेत नदिएको भन्दै पीडित भनिएका पटेलले कानुनी कारबाही गर्नुपर्ने आफ्नो माग रहेको र प्रहरीले बिल ल्याउनुपर्ने अडान राख्दै प्रहरी नै घटना मिलाउने प्रयासमा रहेको आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया