रामायणको कथा कति सत्य, कति मिथ्या ?

रामायणका राम पुरै काल्पनिक पात्र हुन् । तर, गौतम बुद्ध एउटा ऐतिहासिक व्यक्ति हुन् । तर, उनका पिताको राजधानी कहाँ थियो वा उनको जन्म कहाँ भएको थियो ? त्यसबारे कैयौँ विवादहरू पाइन्छन् । कुनै महत्त्वपूर्ण व्यक्ति आफ्नो इलाकामा जन्मेको भनेर दावी गर्ने प्रवृत्तिहरू धेरैतिर पाइन्छन् । त्यही कुरा गौतम बुद्धबारे पनि सत्य हुन सक्दछ । भारतका कैयौँ स्थानहरूलाई तिलौराकोट वा लुम्बिनी भनेर दावी गर्ने पनि गरिएको छ ।

मोहनविक्रम सिंह

रामायणमा उल्लेख गरेका विभिन्न सहरहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण सहर अयोध्या नै हो । तर, प्रथमतः जुन त्रेता युगमा अयोध्या सहर भएको बताइन्छ, त्यो बेला ढुंगेयुगीनकाल भएको हुनाले कुनै सहर नै बनेका थिएनन् । त्योबाहेक जुन ठाउँमा अहिले अयोध्या सहर छ, त्यो सहरको अयोध्या नाम पनि धेरै पछि रहेको हो । अहिले जुन ठाउँमा अयोध्या सहर छ, त्यसको नाम पहिले साकेत थियो । त्यसैले श्रीमद्भागवत, स्कन्दपुराण र मत्स्यपुराण आदि ग्रन्थहरूमा प्राचीन तीर्थहरूको नामको उल्लेख गर्दा अयोध्याको कतै उल्लेख गरिएको छैन । कतिपय इतिहासकारहरूले बताएअनुसार इसाको पाँचौँ शताब्दीमा स्कन्द गुप्तले साकेतको नाम अयोध्या राखे र त्यसलाई आफ्नो राजधानी बनाएका थिए । त्यसबाट पनि पहिलेको साकेत सहरको नाम अयोध्या राखिएपछि नै रामायण लेखिएको कुरामा कुनै शंका  रहन्न ।

रामायणका राम पूरै काल्पनिक पात्र हुन् । तर, गौतम बुद्ध एउटा ऐतिहासिक व्यक्ति हुन् । तर, उनका पिताको राजधानी कहाँ थियो वा उनको जन्म कहाँ भएको थियो ? त्यसबारे कैयौँ विवादहरू पाइन्छन् । कुनै महत्त्वपूर्ण व्यक्ति आफ्नो इलाकामा जन्मेको भनेर दावी गर्ने प्रवृत्तिहरू धेरैतिर पाइन्छन् । त्यही कुरा गौतम बुद्धबारे पनि सत्य हुन सक्दछ । भारतका कैयौँ स्थानहरूलाई तिलौराकोट वा लुम्बिनी भनेर दावी गर्ने पनि गरिएको छ । एउटा शोधकर्ताले उडिसाको भुवनेश्वरमा नै तिलौराकोट र लुम्बिनी भएको भनेर पिएचडीको एउटा शोधपत्र पनि लेखेका छन् । तैपनि ऐतिहासिक, पुरातात्विक अध्ययन वा अनुसन्धानद्वारा त्यसबारे सही निष्कर्ष निकाल्न सकिन्छ ।

त्यस प्रकारको अध्ययन र अनुसन्धानका आधारमा तिलौराकोट उनको पिताको राजधानी भएको र लुम्बिनीमा उनको जन्म भएको कुरा प्रमाणित भइसकेको छ । तर, रामको जन्मभूमि अयोध्या भएको कुराको कुनै ऐतिहासिक वा पुरातात्विक प्रमाण पाइन्न । उनको कालमा कुनै गाउँ वा सहरहरू नै बनेका थिएनन् भने उनको जन्म वा अस्तित्वसित सम्बन्धित कुनै ऐतिहासिक वा पुरातात्विक प्रकारको अध्ययन वा अनुसन्धान हुन सक्ने कुरा नै भएन । रामसम्बन्धी कतिपय मूर्ति वा स्मारकहरू पाइए पनि ती २०–२५ लाख वर्ष पहिलेका होइनन् ती धेरै पछिका हुन सक्दछन् ।

राम एउटा काल्पनिक पात्र हुन् तर त्यसको अर्थ उनी सम्पूर्ण रूपले काल्पनिक पात्र हुन भन्ने होइन । कुनै पनि साहित्यका काल्पनिक पात्रमा यथार्थताको पनि ठूलो अंश रहेको हुन्छ । कुनै पनि साहित्यमा कुनै खास बेलाको समाजको असर परेको हुन्छ । निश्चय नै त्यो कुरालाई हामीले यान्त्रिक रूपले लिनु हुँदैन । समाजमा कैयौँ प्रकारका विचार वा अन्तर्विरोधहरू हुन्छन् । लेखकहरूका पनि बेग्लाबेग्लै प्रकारका विचार वा मान्यताहरू हुन्छन् । बेग्लाबेग्लै देश, काल वा लेखकहरूका बेग्लाबेग्लै विचारहरूको असर साहित्यिक कृतिहरूमा पनि पर्दछ । त्यही प्रकारले बाल्मीकिले जुन कालमा रामायण लेखे वा उनका जुनप्रकारका विश्वास वा मान्यताहरू थिए, ती सबैको असर उनको कृति वा उनका पात्रहरूमा पनि परेको छ । कुनै पनि साहित्यकारले रचना गरेका पात्रहरू स्वतन्त्र हुँदैनन् । उनीहरूका गतिविधिहरू लेखकका इच्छा वा विचारहरूअनुसार नै सञ्चालित हुन्छन् । त्यस अर्थमा नै कुनै साहित्यिक रचना, त्यसका पात्रहरू वा उनीहरूका गतिविधिहरूमा यथार्थता हुन्छ भनिएको हो । त्यही कुरा रामायण तथा त्यसका पात्रहरू राम, सीता वा रावणहरूबारे समेत सत्य हो ।

वाल्मीकि रामायणमा रामलाई पुरुषोत्तमका रूपमा चित्रण गरिएको छ । उनलाई त्यस रूपमा चित्रण गर्नुको अर्थ त्यो बेलाका हिन्दू आदर्शहरूको रूपमा नै उनलाई चित्रण गर्नु हो । कुनै व्यक्तिलाई आदर्श व्यक्तिका रूपमा चित्रण त्यो बेलाका आदर्श मान्यताहरूका आधारमा नै गरिन्छ । त्यो बेलाका हिन्दू धर्मका श्रेष्ठ गुणहरूका आधारमा नै उनलाई पुरुषोत्तम भनिएको हो । बेग्लाबेग्लै समाज वा धर्मका आदर्श वा मान्यताहरू बेग्लाबेग्लै प्रकारका हुन्छन् । हिन्दू धर्मका मान्यताहरूका आधारमा रामलाई पुरुषोत्तम बताइयो । तर बौद्ध धार्मिक मान्यताहरूका आधारमा रावण आदर्श व्यक्ति थिए । कम्युनिस्टहरूका लागि माक्र्स, एंगेल्स आदर्श व्यक्तिहरू हुन् तर त्यही कुरा पुँजीपतिहरूका लागि स्वीकार्य हुँदैन ।

एउटै पात्रलाई पनि बैग्लाबेग्लै राजनीतिक, सामाजिक वा सांस्कृतिक मान्यताअनुसार बेग्लाबेग्लै प्रकारले प्रशंसा वा निन्दा गरिएको हुन सक्दछ । रामायणमा रामलाई पुरुषोत्तम बताइएको भए पनि सबै समाज वा धर्मका लागि उनी आदर्श व्यक्ति हुन सक्दैनन् । हिन्दूहरूका लागि रावण राक्षस थिए । तर बौद्धहरूका लागि उनी एउटा बौद्ध भिक्षु र जैनहरूका लागि जैन दिगम्बर थिए ।

राम एउटा काल्पनिक पात्र थिए भन्ने कुरा उनको त्रेता युगमा जन्म भएको, भनेर लेखिएको कुराबाट नै प्रष्ट हुन्छ । तर, गौतम बुद्ध एउटा ऐतिहासिक र लौकिक व्यक्ति थिए । तैपनि उनका विषयमा कैयौँ कल्पनाहरू जोडिएका छन् र उनको दैवीकरण पनि गरिएको छ । त्यो दैवीकरणको प्रक्रिया यो हदसम्म अगाडि बढेको छ कि कुनै बेला हिन्दूहरूद्वारा चोर, राक्षस वा यक्ष भनेर निन्दा गरिएको व्यक्तिलाई विष्णुको नवौँ अवतारसम्म बताइएको छ । गौतम बुद्धबारे त्यस प्रकारका एदम विपरीत र काल्पनिक विचारहरू खालि हिन्दूहरूले मात्र प्रकट गरेका छन् भन्ने होइन, प्रथमतः हिन्दूहरूको अवतारवादको दृष्टिकोणको अनुसरण गर्दै गौतम बुद्धभन्दा पहिले कैयौँ बुद्धहरूको अवतार भएको बताइएको छ । उनको जन्मको समयमा ब्रह्माले हात थापेको, उनी जन्मनेबित्तिकै सात पाइला हिँडेको र उनले टेकेका पाइलाहरूमा कमलका फूलहरू फुलेका जस्ता कुराहरू पनि बताइएको छ । गौतम बुद्धले ईश्वर, देवी–देवता आदिलाई मान्दैनथे । तर, पछि उनका शिष्यहरूले नै उनलाई ईश्वरका रूपमा प्रतिष्थापित गरे ।

हिन्दू धार्मिक ग्रन्थहरूमा सीताको जन्मबारे बेग्लाबेग्लै कथनहरू प्रचलित छन् । उनका बारेमा सबैभन्दा बढी प्रचलित कथा एउटा यज्ञको सिलसिलामा राजा जनकले भूमिपूजाका लागि जमिन खन्दा सीता फेला परेको भन्ने छ । एउटा रामायणमा रावणकी जेठी पत्नीबाट सीताको जन्म भएको बताइएको छ । त्यसपछि एउटा ज्योतिषीले त्यही छोरीका कारणले उनको मृत्यु हुने भविष्यवाणी गरेपछि रावणले सीतालाई एउटा बाकसमा हालेर समुद्रमा बगाइदिएको बताइएको छ । त्यो बाकस बग्दै–बग्दै जनकपुर पुग्यो र त्यहाँ जमिन खन्दा जनक राजाले सीतालाई फेला पारेका थिए । लंकामा समुद्रमा फालिएकी सीता बग्दै बग्दै जनकपुरमा पुग्नु अत्यन्त काल्पनिक र भौगोलिक दृष्ट्रिकोणले सम्भव नै नहुने कुरा हो ।

अद्भुत रामायणमा रावणले ऋषिहरूलाई मारेपछि उनीहरूको रगत एउटा घडामा हालेर श्रीलंकामा लगेको बताइन्छ । उनले त्यो घडामा विष छ भनेर आफ्नी पत्नी मन्दोदरीलाई राख्न दिएका थिए । एकपल्ट भ्रमणमा गएको रावण लामो समयसम्म नफर्केपछि मन्दोदोरीले आत्महत्या गर्नका लागि त्यो विष पिएकी थिइन् र त्यसबाट उनलाई गर्भ रह्यो । आफ्नो पति घरमा नभएको बेलामा गर्भ रहेको थाहा पाएपछि उनलाई ठूलो पीर प¥यो । त्यसपछि उनले त्यो भ्रूणलाई जमिनमा गाड्न पठाइन् । पछि जनकले जमिन खन्दा त्यही भ्रूणबाट जन्मेकी सीतालाई फेला पारेका थिए ।

जनक राजाकी कुनै छोरी नभएपछि उनले आकाशतिर फर्केर छोरीको कामना गरेका थिए । त्यसपछि मेनका उनकी छोरी सीता भएर जन्मेकी थिइन् भन्ने पनि एउटा कथन छ । यो कुराको माथि नै उल्लेख भइसकेको छ कि भारत र हिन्द चीनसमेत गरेर एक हजारभन्दा बढी रामायणहरू लेखिएका छन् । ती रामायणहरूमा काक भुसुण्डी रामायण, अद्भुत रामायण, अध्यात्म रामायण, आनन्द रामायण, रामचरित्र मानस, हनुमान् पुराण भानुभक्त रामायण आदि आउँछन् । ती बेग्लाबेग्लै रामायणहरूमा रामसम्बन्धी बेग्लाबेग्लै कथाहरू बताइएका छन् । जैन धर्मग्रन्थमा रामलाई जैन अवतार बताइएको छ । त्यसैले उनी अहिंसावादी भएको हुनाले रावणको वध रामले नगरेर लक्ष्मणले गरेको बताइएको छ । बौद्ध ग्रन्थमा सीतालाई रामलक्ष्मणकी बहिनी बताइएको छ । त्यसमा राम, लक्ष्मण र सीता वनवास जाँदा श्रीलंका नगएर हिमालयतिर गएको बताइएको छ । त्यसमा राम, रावण युद्धजस्तो कुनै कुराको पनि उल्लेख छैन । त्यसमा वनवासबाट अयोध्या फर्केपछि रामले सीतासित विवाह गरेको बताइएको छ ।

लाओसको रामायणमा छेपाराहरूले लंका जाने पुल बनाइदिएको बताइएको छ । थाइल्यान्डको रामायण (रामकृति) मा रावणको आत्मा उनको गुरु कहाँ रहेको र हनुमानले कुशलतापूर्वक त्यो आत्मालाई ल्याएपछि नै रामले रावणलाई मार्न सकेको बताइएको छ । श्रीलंकामा पनि राम कथा निकै लोकप्रिय छ तर त्यसमा रामको सट्टा रावणलाई नायकका रूपमा देखाइएको छ । मलायाको रामायणमा मुख्य भूमिका लक्ष्मणको भएको बताइएको छ । त्यसमा हनुमान्् ब्रह्मचारी नभएको कुरा पनि बताइएको छ ।

रामले सीतालाई परित्याग गरेको विषयमा पनि बेग्लाबेग्लै कथनहरू प्रचलित छन् । थाइल्यान्डको रामायणमा अयोध्या फर्केपछि सीताले रावणको एउटा चित्र बनाएको हुनाले रामले उनलाई परित्याग गरेको बताइएको छ । पद्म पुराणमा त्यसबारे बेग्लै प्रसंगको चर्चा गरिएको छ । त्यसमा लेखिएको छ, आफ्नो बाल्यकालमा सीताले दुइटा भाले–पोथी सुगाहरू समातेकी थिइन् । पोथी सुगाको गर्भमा बच्चा थियो पछि उनले भाले सुगालाई छाडिदिइन्, तर पोथी सुगालाई छाडिदिइनन् । पत्नीसितको वियोगको कारणले भाले सुगाले प्राणत्याग ग¥यो । आफ्नो प्राणत्याग गर्ने बेलामा त्यो सुगाले सीतालाई यो श्राप दिएको थियो, ‘तिमीलाई पनि गर्भवती भएको बेलामा तिम्रा पतिले त्यागिदिनेछन् ।’

प्रतिक्रिया