एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो तेस्रो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सुरुमा टस जितेर नेपालले हङकङलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

वर्षाले खेल सुरु हुन ढिलाई भएपछि २० ओभरको खेल १८–१८ ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएर नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले दुई विकेटको क्षतिमा १२.३ ओभरमै विजय लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा नटआउट रहे । पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७० रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए ।

कुशल र आशिफले ३३ बलमा ७० रनको साझेदारी गरेका थिए । छैटौँ ओभरको तेस्रो बलमा कुशल ३२ रन बनाउँदा एलबीडब्लु धरापमा परे । उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर आशिफ शेख ४० रन बनाउँदा पेभेलियन फर्के । १८ बलमा ३ चौका र ३ छक्का हानेका आशिफ इसान खानको बलमा आउट भए ।

त्यसअघि हङकङका कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित भएपछि केही समय ढिलो गरी टस भएर खेल सुरु भएको थियो । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा रहेको थियो भने त्यो पूरा भएको छ ।

यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियासँग खेल्नेछ । १० टोली सहभागी प्रिमियर कपका समुहमा शीर्ष २ मा रहने टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन् ।

प्रतिक्रिया