एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा हङकङले नेपाललार्ई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

वर्षाले रोकिएर ढिलो गरी सुरु भएको खेलमा नेपालले टस जितेर हङकङलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । ओमानको अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अलआउट भयो ।

हङकङका कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित भएपछि केही समय ढिलो गरी टस भएर खेल सुरु भएको थियो ।

वर्षाको कारण खेल ढिलो सुरु हुँदा २० ओभरको खेललाई परिवर्तन गरेर १८–१८ ओभरमा झारिएको छ । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । यता हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ ।

यसअघि खेलेको दुई खेलमा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले हारेको थियो ।

प्रतिक्रिया