टी–२० विश्वकपका लागि क्यानले सार्वजनिक गर्यो नेपालको नयाँ जर्सी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी हुने टी–२० विश्वकप क्रिकेटका लागि नेपालको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको नयाँ जर्सीको सबैभन्दा तल गैँडा र सगरमाथा रहेको छ । त्यसैगरी रातो रङ, हल्का मधुरो र सेतोमा रहेको छ भने बिचमा नेपाल लेखिएको छ । त्यस्तै बिचको भागको रङ निलो रहेको छ भने बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो राखिएको छ ।

कलर अर्थात् घाँटीको भाग रातो रङ छ । दुवै भागतर्फ बाउलामा नेपालको झण्डा राखिएको छ । त्यसैगरी पछाडिको अधिकांश भाग निलो रङमा छ ।

त्यस्तै जर्सी नम्बरमाथि खेलाडीको नाम छ भने तल्लो भागमा सगरमाथा नै छ । सोमबार नयाँ जर्सी सार्वजनिक गर्दै क्यानले भनेको छ, ‘प्रतिष्ठित आईसीसी पुरुष टी– २० विश्वकप २०२४ मा हामी विश्वव्यापी मञ्चमा लैजाने तयारीमा रहेको नेपालको आधिकारिक प्लेइङ किट प्रकट गर्दै ! ।’

आगामी जुनबाट सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेका छन् ।

नेपालले नेदरल्याण्डससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्ने छ । जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग हुने खेल भने वेस्टइण्डिजमा हुनेछ । टी–२० विश्वकप (२०२४) मा नेपालसहित २० वटा देश सहभागी हुँदैछन् ।

प्रतिक्रिया