विश्वव्यापीकरण र नेपाली संस्कृतिमा प्रभाव

नेपाल सानो अल्पविकसीत देश भएकोले विदेशी आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक प्रभाब बाट बच्न जरुरी छ । यसका लागि नेपाली भाषा, भेषभुषा, कला, संस्कृति सम्पदा, मूल्य मान्यतालाई विग्रन दिनु हुन्न । ऐन, कानुन र नीति बनाई त्यसको संरक्षण र प्रवद्र्वन गर्न स्थानिय सरकारलाई अधिकार दिनुपर्छ ।

धनेन्द्र बस्नेत

विश्वका भिन्न भिन्न देशका मानिसहरु वीचको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक पक्षमा आउने एकरुपतालाई विश्वव्यापीकरण भन्ने गरिन्छ । वस्तु, सेवा, प्रविधि, पूँजी र श्रमका सवालमा विश्वव्यापी रुपमा हुने अन्तरक्रिया, अन्तरसम्वन्ध, र आत्मानिर्भरता हो । २१ औं शताब्दिमा सिमाविहिन व्यापार, स्वतन्त्र कारोवार पूँजी, सूचना तथा प्रविधि विश्वव्यापी रुपमा विस्तार भएको छ । विश्वव्यापीकरण राष्ट्रिय अर्थतन्त्रलाई विश्व बजारमा खुला छाडी त्यसमा राज्यको भूमिकालाई न्यूनीकरण गर्दै लैजाने प्रक्रिया हो । विश्वव्यापीकरण भित्र एकल अर्थतन्त्र, नीजिकरण, बजारीकरण, उदारीकरण, अन्तर्राष्ट्रियकरण गरी नीतिगत व्यवस्था गरिन्छ । देशको अर्थतन्त्र, दर्शन, सूचना, प्रविधि, राज्यको नियन्त्रण भन्दा बाहिर हुन्छ ।

अत्याधुनिक यातायातका साधनहरुको विकास, विद्युतीय प्रविधिको विकास, आम संचार, जैविक प्रविधिको विकास, बहुराष्ट्रिय कम्पनीहरु, अन्तर्राष्ट्रिय बिमान सेवा आदिले विश्वलाई विश्व ग्राममा रुपान्तरण गरेको छ । यसरी विश्व एउटा सीमाहिन राज्य बनेको छ । आर्थिक पक्ष, समाजिक पक्ष, साँस्कृतिक पक्ष, प्राविधिक पक्ष, दार्शनिक पक्ष जस्ता कुराले विश्वव्यापी रुपमा पर्यटन, आप्रवासी, शरणार्थी जस्ता कुरामा प्रभाव पारेको छ । सूचना तथा संचार उत्पादन वितरण मार्फत संसारमा मानिसको स्वतन्त्रता ,कल्याण र अधिकार जस्ता कुराहरु अन्तर राज्य रुपमा संचालित छन् । विश्वव्यापीकरण, उदारीकरण, संरचनात्मक संयोजन, आर्थिक सुधार वजारीकरण, खुलापन, निर्यात प्रवद्र्वन, कार्यकुसलता, आर्थिक स्वायत्तता पूँजीवाद, प्रविधि र श्रमको विश्वव्यापीकरण र पश्चिमी संस्कृति, सभ्यताको प्रभाव संसार भरी परेको छ ।
विश्वव्यापीकरणको कारणले अन्तरकृया, अन्तरनिर्भरता र एकीकरणको अन्तरघुलन मार्फत मानिसको सामाजिक संरचनामा परिवर्तन आईरहेको छ । बसाइ सराई, हात हतियार खरिद बिक्रि, वातावरणिय ह«ास, आतंकवाद मानव वेचविखन,लागु पदार्थको कारोवार जस्ता कुराहरुले गर्दा विश्व अशान्त र अस्थिरता बाट आक्रान्त बनेको छ । २००७ सालको क्रान्ति देखि जब विदेशिहरुका लागि खुला गरियो तब हाम्रो देशमा विश्वव्यापीकरणको प्रभाव परेको पाइन्छ । प्रजातान्त्रिक प्रणलीको विस्तार, बजार शक्तिको प्रधानता, विश्वमा एकल अर्थतन्त्र प्रणालिको विस्तार, नयाँ प्रविधिमा भएको विकास र प्रविधिको हस्तान्तरण जस्ता कुराले विश्वव्यापीकरण बढ्यो ।

विश्वव्यापीकरणको सकारात्मक प्रभाव

विश्वव्यापीकरण हाम्रो जस्तो मुलुकमा लाभदायक देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा श्रम विभाजनु उपभोक्तावाद र नयाँ नयाँ वस्तुको प्रयोग, सामाजिक साँस्कृतिक रुपान्तरण, प्रविधिको विकास र हस्तान्तरण, नयाँ नयाँ ज्ञानको विकास र विस्तार, वहुराष्ट्रिय कम्पनिको प्रवेश र रोजगारको श्रृजना, विज्ञान, अनुसन्धान सुचनामा विकास जस्ता कुराहरुको विकास भएको छ । विश्वव्यापीकरणले चाडपर्व, जीवनशैली, लवाईखवाइ, जिम्मेवारीपन, ज्ञान विज्ञानका सवाल, सदाचारिता, मूल्यमान्यता, विवेक, चेतना जस्ता कुराले मानिसको दैनिकीमा रुपान्तरण गरेको छ ।

विश्वव्यापीकरणले गर्दा एक ठाँउमा उत्पादन भएको चिज अर्को देशमा विक्रि हुने हुँदा गुणस्तरीय वस्तुको उपभोग गर्न पाइरहेका छन् । एक पक्षिय तथा बहुपक्षिय व्यापार लगानीको दायरा बढेको छ । नेपाल डब्लु.टि.ओ. को सदस्य राष्ट्र बनेपछि त झन् यसले प्राथमिकता पायो । विश्व बैक अन्तर्राष्ट्रिय मुद्राकोषको सदस्य राष्ट्र बनेपछि ऋृण लिन सजिलो भयो । यसका साथै विभिन्न क्षेत्रमा सहयोग प्राप्त हुँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन सदस्यको साथै नेपालले विश्व बजारमा श्रमको प्रवेश पायो । जसवाट अहिले सय भन्दा बढी देशमा नेपालीहरु काम गर्न पुगेका छन् । उनीहरुले पठाएको पैसाबाट जनताको जीवनस्तर व्यापक सुधार भएको छ भने बेरोजगारी समस्याको समाधान, गरिवी निवारण गर्न पनि सहयोग पुगेको छ ।

विश्वव्यापीकरणको नकारात्मक प्रभाव

हाम्रो जस्तो भूपरिवेष्ठित देश, अर्धऔपनिवेशिक, परनिर्भर र गरिव देश विश्वव्यापीकरणको प्रभावबाट टाढा रहन सक्दैन । नेपालमा वैदेशिक सहायता प्राप्त गर्न संयक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपियन युनियन लगायत विभिन्न संघ संस्थाका शर्तहरु पालना गर्नुपर्ने हँुदा राष्ट्र, राष्ट्रियता माथि दबाब पर्नगई उदरीकरण, नीजिकरण, संरचनात्मक परिवर्तन गर्नुपर्ने हँुदा नीति निर्माणमा राज्यको भूमिका कमजारे बन्दै गइरहेको छ । औपचारिक सरकार भन्दा अनौपचारिक सरकारको बोलवाला बढ्दै गइरहेको छ । विभिन्न किसिमका गैर सरकारी संस्थाहरुको प्रभावमा परेको छ । यसले गर्दा आर्थिक नीतिमा प्रभाव परि परनिर्भरता बढ्दै गएको छ । पूँजी, वस्तु र सेवाहरुमा वाह्य प्रभाव परेको छ ।

हाम्रो जस्तो विकासशील देशमा असमानता , समाजिक समस्या , अन्याय, शोषण, दमन, बेराजगारी, गरिवी,असुरक्षा, व्यक्तिवादी प्रवृत्ति बढ्दै गइरहेको छ । जसले गर्दा देशले आफ्नो स्वाधिनता गुमाउंदै गएको अबस्था छ । विश्वव्यापीकरणले गर्दा देशमा भएको श्रोत साधन माथि वाह्य आँखा पर्न गई हाम्रो भुमि, खनिज, खोलानाला, वनजंगल, आदिमा विदेशी प्रभाव बढ्न पुगेको छ । विकसित देशले विकासशिल र अतिकम विकसित देशलाई शोषण गर्ने परम्परा रहिआएको छ । सामाजिक, आर्थिक, राजनीतिक ,र सांस्कृतिक सवालमा हस्तक्षेप भई नेपाल परनिर्भरताको बाटोमा फस्न पुगेकोछ ।

यसले गर्दा नव उपनिवेशवादको शुरुवात भएको छ । विकसित वा पूँजीवादी देशहरुले प्रजातन्त्र, मानवअधिकार, बहुलवाद, आर्थिक सुधार गर्ने नाममा हस्तक्षेप गरेका छन् । राज्यको पून संरचना, उदारीकरण, नीजिकरण जस्ता कुराको नाममा देशलाई संकटमा धकेली राजनीतिक अस्थिरता सृजना गरी आंतकवाद, अराजकता,दण्डहिनता,गरीवि, वेरोजगारी बढाएका छन् । धार्मिक चलखेल, नीति योजना निर्माणमा हस्तक्षप गर्ने गरेकाछन् । उनीहरुले नै चाहेको क्षेत्रमा ऋण प्रवाह गरी देशलाई गरिविको चक्रव्युहमा फसाउने गरेका छन् । यस कारण हाम्रो देशमा व्यापार घाटा, आयात मुखी प्रणाली, भुक्तानी सन्तुलनमा खलवली, आर्थिक विकासका सूचकांक कमजोर बनेको छ ।

नेपालको सन्दर्भमा विश्वव्यापीकरण

नेपाल भुपरिवेष्ठित देश हो । नेपाल जस्तो देशमा भुमण्डलीकरणको प्रभाव विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषले लिइएको राज्यको संरचनात्मक समायोजन कार्यक्रम वढी प्रभावमा परेको छ । २०४६ सालको राजनीतिक परिवर्तन पछि नेपाली काँग्रेसको सरकारले २०४८ सालमा लिएको उदारीकरण र नीजिकरणको नीतिले सरकारी उद्योग धन्दा धमाधम नीजिकरण सँगै बन्द भए । त्यसपछि नेपाल सरकारले नीति,योजना तथा कार्यक्रममा उदारीकरणको नीति अपनाई सरकारी, सहकारी र नीजि साझदेरीको अवधारण अगाडी ल्याएको छ । २०४६ सालको आन्दोलन पछि प्रजातन्त्र,बहुदलबाद, मानव अधिकार, प्रेस स्वतन्त्रता, मौलिक हक अधिकार, गैर सरकारी संस्थाको अत्यधिक स्थापना र अनौपचारिक सरकारको प्रभावले नेपालको राजनीति अस्थिर र जर्जर बन्यो ।

बैदेशिक सहयोग, बैदेशिक मुद्राको कारोवार विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको हुनाले नेपाल विश्वव्यापिकरणको प्रभाव बाट पछि हट्न सकेन । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरिसकेपछि यसले विभिन्न अन्तर्राष्ट्रिय सवालहरुलाई राष्ट्रिय संविधान, ऐन, कानुनमा राखेर त्यसलाई संस्थागत गर्नेकाम गरेको छ । वैदेशिक सहायता, बहुराष्ट्रिय कम्पनिहरुको प्रवेश, अन्तर्राष्ट्रिय वित्तिय संस्थाको प्रवेश, पर्यटनको प्रवद्र्वन, आधुनिक प्रविधि विश्वव्यापि रुपमा फैलिएको छ । श्रम गन्तव्य र विश्व बजारमा प्रवेश पाएका कारण नेपालको गरिवी निवारण, वेरोजगारी समस्याको समाधान भएतापनि नेपालीको शिक्षा, स्वास्थ्य, खानेपानी, पोषाक, बोलीचाली, व्यबहार, मूल्य मान्यता संस्कार,धर्म आदिमा विदेशी गन्ध देखिन थालेको छ । हाम्रो जस्तो सहानुभूति र सहकार्य गरेर मिलेर बसेको समाजमा धार्मिक, जातीय, भौगोलिक, क्षेत्रिय द्वन्द्वहरुको सृजनजा हुन पुगेको छ । राजनीतिक असक्षमता, कर्मचारीतन्त्रमा लालफित्ता शाहि, नोकर शाहि र विलासि जीवन शैलिको विकास हुन पुगेको छ । जसले भ्रष्टचार, अनैतिकता, कलह, राजनीतिक अस्थिरता, राजनीतिक वितृष्णा फैलिएर राज्य एक असफल राष्ट्रको संघारमा उभिएको छ । हाम्रो देशको व्यक्ति, परिवार, समाज र राष्ट्रमा यसको प्रभाव परेको छ ।

श्रम शक्तिको अन्तर्राष्ट्रियकरण भएकोले नेपाली श्रम, सिप, प्रतिभा पलायन भई नेपालमा कमजोर जनशक्ति, निष्क्रिय जनसंख्याको संख्याबढी हुन पुगेको छ । जसका कारण उत्पादन क्षमता कमजोर भएको छ । घुमिफिरी रुम्जाटार भने झंै नेपालीले रगत पसिना बगाएर कमाएको पैसा आयतमा निर्भर हुँदा फेरी विदेशमै पुगेको छ । यसप्रकारको राज्यको निरियताले बहुराष्ट्रिय कम्पनी र विदेशीहरुले नेपाललाई एक राजनीतिक प्रयोगशालाको रुपमा विकास गरेका छन् । यसले गर्दा नेपालको संस्कृतिमा व्यापक हमला हुन पुगेको छ । २०५२ सालवाट चलेको माओवादी शसस्त्र विद्रोहले झन् यसलाई मलजल गरी देशको आर्थिक, सामाजिक, भौतिक, मनोवैज्ञानिक संरचनाहरु नष्ट भए । २०६२ को वृहत जनआन्दोलन पछि विदेशिले तयार पारेका नीति, धार्मिक, आर्थिक, मुद्दाहरुले नेपाली सँस्कृति, संस्कार ऐन, नियम, प्रचलन, प्रथा सबै माथि धावा बोल्यो ।

२०८० साल सम्म आइपुग्दा विभिन्न बाहनामा राजनीतिक अस्थिरता, व्यापक धर्म परिवर्तन, नेपाली मौलिकपनमा मानहानी, भ्रष्टचार, अराजकता, दण्डहिनता, वर्गिय विभेद, प्रतिभा पलायन, असुरक्षा, सार्वभौम सत्तामा खतरा उत्पन्न हुन पुग्यो । नेपालमा आजकाल पश्चिमी राष्ट्र उत्तम हो भन्ने मानसिकताको विकास भएको पाईन्छ । देशभित्र भौतिकवादी संस्कृतिको प्रभाबले गर्दा अत्याधिक खर्च प्रणालीको विकास भएको छ भने मानिसको श्रम ज्याला न्युन छ । यसले गर्दा जनजीवन प्रभावित हुन पुगेको छ । बढ्दो बहुराष्ट्रिय कम्पनी, भारत र चीनको बजार विस्तारको नीतिले नेपालको बजार झन् धरासायी बन्न पुगेको छ ।

देशभित्र पश्चिमी भाषा, जीवनशैली, गीत संगीत, आचरणले गर्दा नैतिकता भन्ने चिज हराउदै जान थालेको छ । मानिसमा व्यक्तिवादी चरित्रको विकास हुंदै गईरहेको छ जसले गर्दा केटाकेटी, बुढाबुढी आदिको कन्तविजोग बन्न पुगेको छ । महिलाहरुलाई अधिकार दिने नाममा झन् शोषण बढेको पाईन्छ । पर्यटकको अगमनले जैविक वातावरणमा ह्रास, प्रदुषणमा बृद्वि, चोरी, तस्करी, मानव वेचविखन, वेश्यावृद्वि जस्ता विकृतिहरु नेपाली समाजमा भित्रिए । यी सबै कुराले समग्र नेपालको हरेक पक्ष परनिर्भर मानसिकताले गुज्रिएको छ ।

नेपालमा विश्वव्यापीकरणले गर्दा नकारात्मक मात्र होईन सकारात्मक परिवर्तन पनि देखा परेका छन् । विप्रेषणको प्रवाह, विदेशी लगानीमा वृद्वि, वैदेशिक मुद्राको संचय, गरीवि निवारण, वेरोजगारी समस्याको समाधान, विदेशी श्रम र सिपको आमन्त्रण भएको छ । प्रतिस्पर्धात्मक बजार व्यवस्था, रक्षात्मक प्रणलीको विकास, विभिन्न किसिमको प्रजाती, सम्पदाको संरक्षण र प्रवद्र्वन गर्ने कार्य, सकारात्मक विभेद र समानुपातिक प्रणालीवाट पछाडी परेका विभिन्न जाती, वर्ग र लिंगलाई राष्ट्रिय मूल प्रवाहमा समावेशिकरण गर्ने काम भएको छ । नेपालको पूर्वाधार विकासमा वैदेशिक लगानी, बहुराष्ट्रिय कम्पनीको आगमनले गर्दा स्वदेश भित्र रोजगारीको सृजना, बढ्दो शहरीकरण,आधुनिक कृषि प्रणाली, रजनीतिक दलहरु विच सहमति, सहकार्यको नीतिमा जोड, करको दायरामा विस्तार, जीवन स्तरमा सुधार, पौष्टिक आहारको विकास, सरकारको सिमित क्षेत्र, विद्युतीय सरकार, विकास निर्माणमा जनसहभागिता, सामुहिक निर्णय प्रक्रिया, नेतृत्व विकास भएको छ । भ्रष्टचार नियन्त्रण प्रयास, पारदर्शिता, उत्तरदायित्व, विभिन्न देश सँग कुटनीतिक सम्बन्धमा विस्तार, अन्तर्राष्ट्रिय संगठनको सदस्य, व्यापार प्रवद्र्वन, प्रविधि हस्तान्तरण र जनशक्तिको विकास जस्ता कुराले प्रवेश पाउनु विश्वव्यापिकरणको फाइदाहरुको रुपमा हामीले लिन सकिन्छ ।

नेपालले खेल्नुपर्ने भुमिका

नेपाल सानो अल्पविकसीत देश भएकोले विदेशी आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक प्रभाब बाट बच्न जरुरी छ । यसका लागि नेपाली भाषा, भेषभुषा, कला, संस्कृति सम्पदा, मूल्य मान्यतालाई विग्रन दिनु हुन्न । ऐन, कानुन र नीति बनाई त्यसको संरक्षण र प्रवद्र्वन गर्न स्थानिय सरकारलाई अधिकार दिनुपर्छ । आन्तरिक उत्पादनलाई जोड दिई वैदेशिक सामानहरुको आयत कम गर्ने,मौलिक वस्तुहरुलाई प्राथमिकतामा राख्ने, नागरिकमा राष्ट्रियताको भावना अभिवृद्वि गराउने, सामाजिक संजाललाई विभिन्न किसिमको ऐन, नियम बनाई छाडातन्त्र नियन्त्रण गर्ने,आन्तरिक लगानीकर्तालाई प्रोत्साहन गरी गुणस्तरीय वस्तु उत्पादन गरी निर्यात मुखी व्यापारलाई जोड दिई आत्मनिर्भर बन्ने, स्वदेशी पूँजीको परिचालन गर्ने, युवा जनशक्ति पलायन हुनबाट रोक्न नीतिगत व्यवस्था गरी विश्वव्यापीकरणको दुस्प्रभावबाट नेपाल लाई जोगाउन सकिन्छ ।

आजको सूचना, यातायात र संचारको विकासले गर्दा विश्वव्यापीकरण रोकावट गर्न सकिदैन । यसलाई आत्मसाथ गर्दै नेपालले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक प्रभाव वाट मुक्त भई आत्मनिर्भर, स्वाभिमान, सार्वभौम सम्पन्न भई सगरमाथाझैं विश्वसामु उच्च राख्न यो देश भित्र बसोबास गर्ने सवै नागरिकको समान दायित्व हुनुपर्दछ ।

प्रतिक्रिया