दोस्रो खेलमा आयरल्याण्डविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं । घरेलु मैदानमा जारी दोस्रो टी–२० अभ्यास खेलअन्तर्गत आज नेपाल ‘ए’ टोलीले आयरल्याण्ड ‘ए’ वुल्भ्सविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला आयरल्याण्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन् । स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा रहेका छन् ।

नेपाल पहिलो खेलमा शुक्रबार आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो । त्यसैले तीन खेलको सिरिजमा नेपाल १–० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ । पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो ।

आज हुने दोस्रो खेलको प्लेइङमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, विपिन खत्री, बसिर अहमद, राशिद खान, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन् । अहिले खेल सुरु भइसकेको छ ।

प्रतिक्रिया