इलामको माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

फिक्कल । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बड्दो क्रममा छ । २७ हजार ६१५ मतगणना गर्दा सुहाङ तीन हजार ७५४ मतान्तरले अगाडि छन् । नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार ३२४ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९०१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार ५१२ मतसहित चौथो सीमित छन् । माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्यासित मतपरिणाम आएको छ ।

पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन् । सो वडामा एमालेका नेम्वाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे । रास्वपाका लिम्बूले ३ मत पाए । सो वडामा किरात धर्मगुरू आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन् । अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया