बम बारीको त्रासदीबाट जन्मिएको स्टार

लन्डन । ३६ वर्षीय नोभाक जोकोभिक निर्विवाद संसारका सुपरस्टार हुन् । अमेरिकाका पिट सम्प्रासको नाममा रहेको कीर्तिमान भंग गर्दै लगातार धेरै वर्ष शीर्ष बरियतामा रहेका थिए । सम्प्रास १९९३ देखि १९९८ सम्म लगातार ६ वर्ष शीर्ष स्थानमा रहेर कीर्तिमान कायम गरेका थिए । त्यस भन्दा अघि जोकोभीकले २०११,२०१२,२०१४,२०१५,२०१८ र २०२० को अन्त्यमा उनी शीर्ष बरीयतामा थिए । दुई वर्ष अघि सफलतासँगै आफू बच्चा भएकै समयका आदर्श टेनिस खेलाडी पिट सम्प्रासलाई सम्झिएका छन् । कुनै दिन तीनै सम्प्रासलाई आदर्श मान्ने उनी सम्प्रासकै कीर्तिमानलाई भंग गर्दै त्यहाँ रहनुलाई महान् उपलब्धिको रूपमा लिन तयार भएको कुरा बताउँछन् ।

हाल सर्वीयाका नागरिक जोकोभीकको बाल्यकाल र हालसम्मको जीवन यात्रा पक्कै सहज थिएन । ९० को दशकको युगोस्लाभीया गृहयुद्धको चपेटमा यसरी क्षत विक्षत भयो की त्यही युगोस्लाभीया टुक्रा टुक्रा भएर सर्बीया, मोन्टेनेग्रो,क्रोएसिया तथा बोस्नीया हर्ज गोभीना बनेको छ । यो विभाजन मात्र थिएन, आन्तरिक युद्ध थियो । तनाव थियो । यसै तनावका बिच धेरै जना अभिभावकलाई आफ्ना बच्चा कसरी हुर्काउने भन्ने समस्याले सताएको थियो । १९८७ मा जन्मिएका नोभाक जोकोभीकका आमा बाबुका लागि पनि यो स्वाभाविक चिन्ताको विषय थियो । २४ ग्रान्डस्लाम उपाधि जितेर कीर्तिमान कायम गरेका उनको नाममा सर्वाधिक १० पटक अस्ट्रेलियन ओपन विजेताको रूपमा अर्को कीर्तिमान छ ।

त्यसो त उनको सनसनीपूर्ण प्रदर्शनको सुरुवात नै अस्ट्रेलियन ओपनबाट भएको थियो । रोजर फेडेरर र राफेल नाडालको प्रतिस्पर्धा भई रहेको समयमा उनले यी दुईको दबदबालाई पार गर्दै २००८ मा अस्ट्रेलियन ओपन उपाधि जितेका थिए । २०१० मा पुग्दा नाडाल, फेडेरर जोकोभीक समान स्तरका खेलाडीको रूपमा चिनिन थाली सकेका थिए । यी तिनले नै एक शताब्दी विश्व टेनिसमा प्रभाव राखे । २०११ मा चार मध्यका तीन मेजर उपाधि सहित कीर्तिमान तथा पाँच मास्टर उपाधि जितेर पहिलो पटक एटीपी बरीयताको शीर्ष स्थानमा उक्लिएका हुन् । २०१० को दशकमा अत्यन्त प्रभाव जमाएका जोकोभीकले यस दशकमा तीन पटक दोस्रो बरीयताको खेलाडीको रूपमा वर्षको अन्त्य गरे । उनले जित्न बाँकी रहेको एउटै ग्रान्डस्लाम फ्रेन्च ओपनको उपाधि पनि २०१६ मा जिते । त्यो वर्ष उनी क्यारियरकै उत्कृष्ट लयमा थिए । सर्बीयालाई २०१० को डेभिस कपको उपाधि दिलाएका उनले २०२० मा एटीपी कपको उपाधि पनि दिलाएका थिए । ओलम्पिक खेलकुदमा भने उनले बेइजिङमा प्राप्त कांस्य पदक नै उत्कृष्ट प्रदर्शन थियो ।

यी महान् खेलाडीको हालको सफलतासँगै बाल्यकालको त्रासदीको पनि त्यत्तिकै चर्चा हुने गरेको छ । युगोस्लाभीयाको विभाजनसँगै यी खेलाडीको बाल्यकाल अत्यन्त पिडादायक बनेको थियो । उनका बाबु सर्डान जोकोभीक सर्व थिए भने आमा डिजाना जोकोभीक क्रोएसियाली थिइन् । अर्थात् जोकोभीकको मामा घर क्रोएसियामा थियो ।

जुन समय उनले बेलग्रेडमा क्ले कोर्टको निर्माण गरेर टेनिस सिक्न सुरु गरेका थिए सोही समय युगोस्लाभीया आदिवासी माथिको यातना, आम नागरिक माथि सैनिक ज्यादती तथा हजारौँ जनाको दुखान्त निधनका कारण प्रताडित थियो ।

एक भारतीय खेल विशेषज्ञले त तत्कालीन समयमा बदनाम युगोस्लाभहरुको छवि सुधार्ने काम नै जोकोभीकले गरेको धारणा राख्छन् । कत्तिसम्म भएको थियो भने १९९९ मा जोकोभीक टेनिस कोर्टमा जन्म दिन मनाइ रहँदा नाटोले युगोस्लाभीयाबाट कोसोभोको सेनालाई छुटाउनु पर्ने भन्दै हवाई आक्रमण गरेका थियो । केक काटेर ह्यापी बर्थ डे भन्दै गरेको समयमा टाउको नजिकैबाट कुनै हतियार गए पछिको अवस्था कस्तो भयो होला ? सम्झँदा पनि कहाली लाग्दो थियो, जोकोभीकका लागि ती दिन ।

एक दिन नाटोले बम प्रहार गरेको थियो । यो आवाज सुन्ने बित्तिकै जोकोभीकको आमा आत्तिएर यता र उता गर्न लागिन् । यसै क्रममा उनको टाउको हिटरमा ठोक्कियो । त्यो ठोक्काइले आमा त बेहोस भइन्,उनका बाबु पनि आत्तिन थाले , त्यस दिनको घटना पनि जोकोभीक कहिले पनि बिर्सन सक्दैनन् ।

फाइटर प्लेनको लक्ष्य भन्दा फरक किसिमले चल्ने योजना बेलग्रेडले बनाएको थियो । एक दिन जोकोभीकका प्रशिक्षक र उनलाई आमा जत्तिकै माया गर्ने जेलेना जेन्कीकीले एक दिन अघि बम बारी भएकै स्थानमा प्रशिक्षण गर्ने योजना बनाए । नाटोका सेनाले लगातार दुई दिन एकै स्थानमा बम बारी गर्दैनन् भन्ने अनुमान सहित त्यस स्थानमा प्रशिक्षण गर्ने निर्णय भएको थियो । त्यसरी डराएर प्रशिक्षण गरेको पनि उनी बिर्सन सक्दैनन् ।

जोकोभीककै अनुसार लगातार बम बारी हुन थाले पछि विद्यालयका साथै कोर्ट पनि बन्द गरिए । जोकोभीककै समकालीन पूर्व शीर्ष बरीयताकी सर्व खेलाडी अन्ना इभानोभीक डराएर रातको समयका बाबु आमालाई च्यापेर सुतेको दिन कहिल्यै पनि बिर्सन सक्दिनन् । ९० को दशकको त्यो त्रासदी भोग्ने पुस्तामा कुनै पनि चुनौतीको सामना गर्ने क्षमताको विकास भएको पनि धेरै बताउँछन् ।

त्यसो त ९० को दशकको गृह युद्धको समय भन्दा अघि पनि युगोस्लाभीयामा संसार हल्लाउने खेलाडी नभएका होइनन् । यो क्रम त्यो गृह युद्धकालीन समय पछि पनि रोकिएन । सोभियत संघकै स्वरूपको राजनीति र अर्थ व्यवस्थालाई अनुसरण गरेको युगोस्लाभीयामा कम्युनिस्ट शासनमै प्रशस्त खेलको आधार तयार पारिएका थिए । ८० को दशकमा पनि प्रभावशाली खेलाडी उत्पादन गर्न सफल भएको युगोस्लाभीयामा ९० को दशकमा पनि भौतिक संरचना भने जोगाइएका थिए । विभिन्न देशले ओलम्पिक महोत्सवको समेत आलोचना गरे पनि कम्युनिस्ट देश युगोस्लाभीयाले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ रहेको थियो ।

त्यसो त पुरानो युगोस्लाभीया र पछिल्लो सर्वीयाका खेलाडीको जित पछि तीन औला उठाएर अभिवादन गर्ने प्रचलन पनि रहेको छ । यसको मतलब युगो्स्लाभ सेनालाई अभिवादन हो । तर, जोकोभीकका लागि यो महत्त्वपूर्ण होइन । उनका लागि त १२ वर्षको उमेरमा आफ्नै नजिक भएको विस्फोटको याद महत्त्वपूर्ण हो । राजनीति र सीमाको नाममा गुमेको धेरेको ज्यान महत्त्वपूर्ण हो । यस कारण अहिले पनि बाढी पीडित होस या भूकम्प पीडित, उनी सहयोगका लागि तत्पर हुन्छन् । उनको प्रस्ट आशय छ की मान्छेको जीवनको तुलनामा अन्य हरेक कुरा गौण हुन् ।

जोकोभीकको भाषामा रिस, झगडा, र हिंसाले कसैलाई पनि हित गर्दैन । यदि देशको नाममा मान्छेको बिचमा प्रेम मरेर हिंसाको सुरुवात हुन्छ भने संसारका कुने देशको आवश्यकता नै छैन भनेर जोकोभीकको चेतनाले १२ वर्षको उमेरमा नै भन्ने गरेको थियो । अहिले पनि उनी यसमा अडिग छन् ।

२०१० को समयका जोकोभीकका दुई मुख्य प्रतिद्वन्द्वी रोजर फेडेरर र राफेल नाडालको फर्म गई सकेको छ । उनका केही नयाँ प्रतिस्पर्धा तयार भएका छन् । परन्तु यी खेलाडीको अझ केही वर्ष प्रभाव रहने सम्भावना कायम नै छ । सायद टेनिसमा बाँकी रहेका केही कीर्तिमान पनि उनले यस बिचमा भङ्ग गर्ने छन् । ९० को दशकको त्यो त्रासदीबाट निस्किएर स्टार बनेका जोकोभीक अहिले कोर्ट भित्र र कोर्ट बाहिर धेरैका आदर्श पात्र हुन् र रही रहने छन् ।

प्रतिक्रिया