बहसमा क्युरेटिङ

काठमाडौं । नेपालमा कला क्युरेटिङको पाटोलाई व्यवस्थित ढंगले अगाडि बढाउने लक्ष्यका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमबारबाट सुरु भएको बागमती ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ अन्तर्गत बुधबार ‘क्युरेटिङः हिजो र आज’ विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताका रूपमा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक सुजन चित्रकार रहेका थिए । उनले आफू पढेरभन्दा पनि परेर क्युरेटर भएको बताउँदै क्युरेटिङका विभिन्न पक्षका बारेमा चर्चा गरे । उनले भने, ‘खाना सबैले पकाउन सक्छन् तर कसरी पस्किने भन्ने कुरा चाँही क्युरेटिङ हो । यसलाई हेर्न आउने मान्छेले क्युरेटिङलाई कसरी लिन्छ भन्ने कुराले पनि महत्व राख्छ ।’ सो कार्यक्रममा कलाकार कैलाश कु. श्रेष्ठले क्युरटिङका विविध पक्षका बारेमा चर्चा गरेका थिए ।

कलालेखक मुकेश मल्लले कलाकारले कहाँ कस्ता काम गरिरहेका छन् भन्ने कुराको रेकर्ड हुनु जरूरी रहेको बताए । उनले पश्चिमबाट प्रभावित भएर त्यहीको नर्मसमा बसेर कलाकर्म गर्नुपर्ने बाध्यतामा पनि सिर्जना भइरहेको धारणा राखे । कार्यक्रममा कुलपति हार्तम्छालीले कलालाई प्रस्तुति गर्ने कुरालाई क्युरेटिङ गरी कला ज्ञानको वृद्धि गर्न सबैको सल्लाह सुझावको आवश्यक भएको बताए । उनले क्युरेटिङले कलाको ज्ञानमा थप ऊर्जा थप्ने कुरामा जोड दिए ।

कार्यक्रमको समापन गर्दै उपकुलपति लालकाजी लामाले अग्रज कलाकारले उठाएको विषयलाई समातेर काम गर्ने कुरा बताउँदै कलेक्सन, छान्ने प्रक्रियालगायतका सबै क्युरेटिङको पाटो भएको धारणा राखे । प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदिप शाक्यले सहजीकराण गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू प्रदीप अधिकारी, दिनेश्वर महतो, अरुणा हिङमाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया