उमेर ढल्के पनि ठिटोजस्तै देखिन्छन् प्रचण्ड

उमेरले बुढो भनेर के गर्नु, गालाबाट रगत चुहिएलाजस्तो झर्झर परेको छ । माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस अध्यक्ष शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलाई हेरौँ । टन्न खाएर गाला र पेट ‘प्वाक्वप्वाक्व’ परेको छ । प्रायःजसो नेता ७० वर्ष कटिसकेका छन् । तर, त्यस्तो देखिँदैन, किन ? किनकी जनताले तिरेको करमा मोजमस्ती जो गर्न पाएका छन् । जनताले तिरेको करमा देशविदेश गएर उपचार गर्ने, चट्ट पारेर हिँड्ने, मिठोमसिनो खाने भएको हुँदा यिनीहरू अहिले पनि ठिटो देखिएका छन् ।

अनुषा थापा

देश छाड्नेको लावालस्कर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । मुलुक रित्तो हुनेगरी नेपाली युवा विदेशिरहेका छन् । अघिल्लो दिन बाबुआमाको काजकिरिया सकाएर भोलिपल्ट छोराछोरी विदेश लाग्छन् । महिला आफ्नो दुधे बालक छोडेर विदेशिन बाध्य छन् । विवाह गरेको पर्सीपल्ट श्रीमान् विदेश गइहाल्छन् ।

विदेश जाने क्रम बढेसँगै हाम्रो चालचलन हराउँदै गएको छ । विवाह गरेको पाँच दिनमा दुल्हन फर्काउनुपर्ने हुन्छ । बिहे गरेको १६ दिनमा पुनः बेहुला ससुराली र बेहुली माइती जानुपर्छ । बुबाआमा मरेको ४५ दिनमा मासिक गर्नुपर्छ । त्यसपछि हरेक महिना गर्नुपर्ने काम हुन्छ । तर, बेरोजगारी र गरिबीले त्यो चालचलन नै मेटाइदियो । कमाउनका लागि विदेश जान हतारो भइरहेको हुन्छ, चालचलन कसले हेरेर बस्ने ? अहिले त महिला सुत्केरी हुँदासमेत श्रीमान् साथमा हुँदैनन् । हामीकहाँ बच्चा जन्मेको सात, नौ वा ११औँ दिनमा न्वारन गर्ने चलन छ । न्वारन गरेपछि सुत्केरी छोरीलाई माइती लैजाने गरिन्थ्यो । शिशुका लागि आमाको स्तनपान अमृत हो भने शिशुको अधिकार । सुत्केरी पनि कमजोर हुन्छन् । तर, बाध्यताको अगाडि के लाग्दो रहेछ ? त्यही कमजोर ज्यान लिएर अर्काको देशमा पसिना बगाउन जान्छन् ।

न्यून आर्थिक अवस्था र रोगका कारण किशोरकिशोरीसमेत बुढा देखिन थालेका छन् । किशोरकिशोरी र बुढा राजनीतिकर्मीको अनुहार तुलना गर्नुपर्छ, बुढा राजनीतिकर्मी नै ठिटोजस्तो देखिन्छ । उमेरले बुढो भनेर के गर्नु, गालाबाट रगत चुहिएलाजस्तो झर्झर परेको छ । माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस अध्यक्ष शेरबहादुर देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलाई हेरौँ । टन्न खाएर गाला र पेट ‘प्वाक्वप्वाक्व’ परेको छ । प्रायःजसो नेता ७० वर्ष कटिसकेका छन् । तर, त्यस्तो देखिँदैन्, किन ? किनकि जनताले तिरेको करमा मोजमस्ती जो गर्न पाएका छन् । जनताले तिरेको करमा देशविदेश गएर उपचार गर्ने, चट्ट पारेर हिँड्ने, मिठोमसिनो खाने भएको हुँदा यिनीहरू अहिले पनि ठिटोजस्तै देखिएका छन् ।

जनतालाई भेडा, बाख्राझैँ बेच्ने, उनीहरूले रगत, पसिना, घामपानी नभनी काम गरेर पठाएको रेमिट्यान्समा मोज गर्ने । यो क्रम विगतदेखि नै चलिरहेको छ । विडम्बना, जनताको आँखा खुलेन । यिनीहरूलाई अब लखेट्नुपर्छ भनेर जनता जुट्दैनन् । जनताले केही गर्न सक्दैनन् भनेर यी नेताहरूले साह्रै हेपेका छन् । वर्षायाममा जुका लाग्छ भन्ने त सबैलाई थाहा छ । पहिले त्यो जुका निकै सानो हुन्छ । मान्छेको रगत खाएपछि त्यो ढाडिन्छ र भुइँमा खस्छ । अहिलेका नेताहरू जुकाभन्दा गएगुज्रिएका भए । जनतालाई जति चुसे पनि यिनीहरूलाई नपुग्ने रहेछ । कमसेकम अघाएपछि जुकाले त मान्छेको शरीर त छोड्छन् तर, राजनीतिक दलहरूको सत्ताको भोक कहिले नअघाउने रहेछ ।

राजनीतिक पार्टीको झोले बन्न सक्नेहरूलाई यहाँ पनि छ । अन्यलाई थन्क्याएर, लुटेर, पार्टीका नेताको चाप्लुसी गरेर तिनले नेपालमै बसीबसी खाइरहेका छन् । नेताको चाप्लुसी गर्न नसक्नेहरूलाई त केही छैन । उनीहरू आफ्नै जन्मथलोमा बस्नुभन्दा पनि पाउँदैनन् । साहुसँग महँगो ब्याजमा पैसा लिएर खाडी छिर्न बाध्य छन् । म्यानपावरले पनि त्यही आर्थिक अवस्था कमजोर भएकालाई ठग्छ । सरकार पनि चुस्ने, म्यानपावर दलाल पनि लुट्ने । जताबाट पनि जनता नै मरेका छन् । सरकारले मलेसियासहित विभिन्न खाडी मुलुक जान ‘फ्रि टिकट र फ्रि भिसा’ भन्ने गरेको छ । तर, जनताले पाएका होइनन् ।

सरकारले देशमै रोजगारी त दिन सकेन, विदेश जाँदा सहजीकरणसमेत गर्न सकेको छैन । म्यानपावर कम्पनीले खाडी मुलुक पठाउनका लागि एकदेखि तीन लाख रुपैयाँसम्म असुलिरहेका छन् । बिहान बेलुका भात खान नसक्नेले यत्रो पैसा कहाँबाट ल्याउने ? साहुबाट ऋण लिएर गयो, पछि तिर्न सकेनन् भने साहुले नै घरखेत उडाइदिन्छ । नेताहरू गतिला नहुँदा जनताले कतिसम्म भोग्नुपर्दो रहेछ । विदेशी मुलुकको नेतृत्व सबल छन्, त्यसैले ती देश सबै कुरामा अब्बल छन् । नेपालीहरू कमाउन भनेर जान्छन्, बाकसमा फर्किन्छन् । योभन्दा पीडादायी कुरा अरू केही हुन सक्छ ? भाषा नबुझ्दा नेपालीहरू विदेशको जेलमा सडिरहेका छन् ।

कति नेपाली विदेशी भूमिमा अलपत्र छन् । म्यानपावर दलालीले यहाँबाट एउटा काम भनेर पठाउँछ, उहाँ पुगेपछि अर्कै । कमाउन गएका महिलाहरू अर्काको पेट बोकेर आइरहेका छन् । यति हुँदासमेत सरकारको चित्त दुख्दैन ? राजनीतिक दलहरूको आँखा खुल्नु पर्दैन ? जनतालाई यिनीहरूले धुरुक्कै बनाएका छन् । नेपालमा राजैराजा छन् । संघदेखि स्थानीय तहसम्म राजा छन् । जनता अर्काका देशमा गएर नेता, जनप्रतिनिधि, कर्मचारीलाई पालेका छन् । भर्खर बिहे गरेको जोडी विदेशमा रगतपसिना बगाइरहेका छन्, बुढाखाडा नेताचाहिँ श्रीमतीको हात समातेर हिँडेका छन् । नेताहरू न आफ्नो परिवारसँग टाढिनु नै परेको छ ।

जनताले तिरेको कर र पठाएको रेमिट्यान्समा नेताहरू पूरै परिवार लाम लगाएर विदेश भ्रमणमा जान्छन् । कर तिर्नका लागि जनताले कति दुःख गरेका छन् ? यिनीहरूले देखेका छन् । देशका नेताहरूलाई ‘जनताको हड्डी घोटेर टीका लाउँदा’ समेत चैन आउँदैन । किनकी यिनीहरूलाई जति भए पनि पुग्नेवाला होइन । गरिबीको कारणले जनताले उपचार पाएका छैनन् । स्कुलको फिस तिर्न सकेका छैनन् । केही समयअघि स्कुलको फिस तिर्न नसक्दा धादिङमा एक विद्यार्थीले आत्महत्या गरे । यो कुरा राजनीतिक दलका नेताले बिर्सिए होलान् तर जनताले बिर्सिएका छैनन् ।

जनताले ज्वरो आउँदा एउटा सिटामोल खान पाएका छैनन् । खान नपाएर जनताले आत्महत्या गरेका छन् । नेताहरूले त उपचार गरेको नाममा राज्यको ढुकुटीबाट अर्बाैं रुपैयाँ लिएका छन् । केपी शर्मा ओली र वर्षमान पुन उपचारको नाममा सबैभन्दा बढी पैसा लिने नेतामा पर्दछन् । उपचारको नाममा विदेश दौडिने, राज्यको ढुकुटी लुट्ने । अनि यस्ताले देश बनाउँछन् ? जनतालाई यी नेता देख्दा घिन लागेर आउँछ । तर, के गर्ने देशमा जनताभन्दा कार्यकर्ता धेरै भए । सच्चा जनता त आज पनि झोला बोकेका छन्, विदेश दौडिएका छन् । जनताले कर तिरेका छन्, रेमिट्यान्स पठाएका छन् । तैपनि विदेशी ऋण बढेको बढ्यै छ । किनकी नेताहरूको सेवासुविधा बढ्दै गयो ।

जनताको थाप्लोमा ऋणको भारी थुपारिदिएर नेताहरू आरामसाथ आफ्नो जिन्दगी गुजारिरहेका छन् । जनतालाई बिहान खाए, बेलुका के खाऊँ भन्ने चिन्ता छ । तर, नेताहरूलाई के चिन्ता छ ? जनता बाकसमा फर्किए पनि यिनीहरूलाई पालेकै छन् । नेता, कर्मचारी, जनप्रतिनिधिलगायत सबै सामन्ती, शोषकी, भ्रष्टाचारी, घुसखोरी भए । अनि देश बन्छ ? जति भए पनि यिनीहरूलाई नपुग्ने । देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । राजस्व उठ्न छोडिसकेको छ । विदेशबाट पठाएको रेमिट्यान्सले जसोतसो देश चलेको छ ।

प्रधानमन्त्रीदेखि कर्मचारीले खाएको तलबभत्ता रेमिट्यान्सबाटै आएको हो । अब भन त देश कसले चलाएको छ ? खाडी गएकाले देश चलाएको होइन ? रेमिट्यान्स आउन छोडोस् न अनि देश कसरी चल्छ ? हेरौँला । नेताहरूले अझै हामीले देश चलाएका छौँ भनेर कुन मुखले भन्ने ? जनतादेखि मिडियाकर्मीसम्मलाई नेताहरूले ढाँटेका छन् । यी बुढाबाट केही विकास हुँदैन भन्ने कुरा जनताले बुझ्नुपर्छ । यिनीहरूले नेपाल बेचेर खान बेर लगाउँदैनन् । ढाँट्ने, झुक्याउने अनि आफू मोजमस्ती गरिरहने । नेता जनताको अभिभावक बन्न सक्नुपर्छ । पहिले जनता अनि आफूको भावना बोक्नुपर्छ ।

जनता भोकभोकै छन्, नेताहरू जति खाए पनि अघाउँदैनन् । नेताहरूले आफूलाई कुन आधारमा नेपाली राजनीतिकर्मी भन्ने ? यहाँ भएको कलकारखाना सबै बन्द गरिहाले, विदेशबाट ल्याएको सामान खाइरहेका छन् । अब नौटंकी बन्द गरौँ । पानी टाउकोभन्दा माथि गइसक्यो, त्यसैले होस् पु¥याऔँ । जनताको अगाडि कसैको केही लाग्दैन भन्ने कुरा नेताहरूले बुझुन् ।

प्रतिक्रिया