जनसंख्या अभावको समस्या आउने संकेत

युवा जनशक्ति पलायन हुनु तथा आन्तरिक बसाइँसराइ तीव्र हुनुले जन्मदरमा पनि प्रभाव पारेको छ । साथै २०६८ सालमा १५ देखि २४ वर्ष उमेर समूहका मानिसहरू २० प्रतिशत रहेकामा २०७८ सालमा १९ दशमलव ७ प्रतिशत देखिनु तथा २०६८ सालमा २५ देखि ६५ वर्ष उमेर समूहका मानिसहरू ४५ दशमलव ५ प्रतिशत रहेकामा २०७८ सालमा ४३ दशमलव ३ प्रतिशत देखिनुले भविष्यमा जनसंख्याको बारेमा फरक किसिमले विचार गर्नैपर्ने तर्फ संकेत गरेको छ ।

सञ्जय साह मित्र

अहिले हरेक दिन विदेश जानेको लर्को छ । काम गर्न तथा अध्ययन गर्न दुवै प्रयोजनका लागि युवाहरू विदेश पलायन भइरहेका छन् । राष्ट्रिय जनगणना २०७८ ले नेपालभित्र बसोबास गर्ने जनसंख्यामा आश्रितको प्रतिशत ६० दशमलव २ रहेको छ, जुन २०६८ सालको जनगणनामा ६१ दशमलव ९ रहेको थियो । आश्रित जनसंख्यामा बालबालिका र ज्येष्ठ नागरिक पर्दछन् । नेपालमा बालबालिकाको संख्या घट्दो क्रममा देखिएको र ज्येष्ठ नागरिकको संख्या बढ्दो क्रममा देखिएको छ । काम गर्ने मुख्य युवा जनशक्ति विदेश पलायन हुने र बालबालिकाको संख्या घट्नाले भविष्यमा कतै नेपालमा जनसंख्याको अभाव हुने संकेत देखिन थालिएको त होइन ?

२०६८ सालको राष्ट्रिय जनगणनाले नेपालमा १४ वर्षभन्दा कम उमेरका बालबालिकाको प्रतिशत ३४ दशमलव ९ थियो तर २०७८ सालको जनगणनामा भने यस उमेरको समूहमा ह्वात्तै कमी आएको छ । १४ वर्षसम्मका बालबालिकाको प्रतिशत २०७८ सालको जनगणनाबाट जम्मा २७ दशमलव ८ प्रतिशत देखिएको छ । एक दशकमा १४ वर्षसम्मको उमेर समूहका बालबालिकामा ७ दशमलव १ प्रतिशतले कमी आउनु आफैँमा आश्चर्यलाग्दो गम्भीर विषय हुनुपर्छ । यसले भविष्यमा काम गर्ने उमेरको जनसंख्यामा पनि कमी आउन सक्ने सम्भावनातर्फ संकेत गरेको छ । समग्र स्थितिलाई विचार गर्ने हो भने १५ देखि २४ उमेर समूह र २५ देखि ६४ उमेर समूहमा पनि २०६८ सालको तुलनामा कमी आएको छ । ६५ वर्षभन्दा माथिको उमेर समूहमा भने १ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।

नेपालीको औसत आयुमा वृद्धि हुँदा पनि ज्येष्ठ नागरिकको प्रतिशतमा वृद्धि हुन सक्छ तर सामान्यतया विद्यार्थी र कामकाजी दुवै उमेर समूहका मानिसको प्रतिशतमा कमी आउँदा यदि यही प्रवृत्ति चालू दशक वर्षमा पनि रहिरह्यो निकै सचेत हुनुपर्ने अवस्था आउन लागेको देखिन्छ ।

भौगोलिक दृष्टिकोणले हेर्ने हो भने हिमाली प्रदेशको जनसंख्या निरन्तर ओरालो लागिरहेको छ । हिमाली क्षेत्रका कतिपय पालिकाको मतदाता सय वा हजारमा झरिसकेको छ । हरेक जनगणनाले हिमाली क्षेत्रको जनसंख्या कम भइरहेकै देखाइरहेको छ । बिस्तारै पहाडमा पनि केही जिल्लाको जनसंख्या कम हुँदै गएको छ । समग्र पहाडी क्षेत्रको जनसंख्यामा पनि प्रभाव परेको छ । मुख्य सहरी क्षेत्रमा जनसंख्या थुप्रिइरहेको छ र तराई क्षेत्रमा निरन्तर जनसंख्या बढिरहेको छ । कतै जनसंख्या बढ्दै जानु र कतै जनसंख्या घट्दै जानुले एकातिर जनसंख्या सन्तुलनमा प्रभाव देखिन सुरु गरिसकेको छ भने अर्कोतिर जनसंख्याको वर्तमान स्वरूपमा पनि परिवर्तन आउने हो कि भन्ने आशंका देखिन गएको छ ।

नेपालमा जन्मदर घटेको छ । जन्मदर घट्नु र युवा पलायन हुनुबीच सकारात्मक सम्बन्ध हुन सक्छ । जब युवाहरू पलायन भइरहेका छन् भने जन्माउनेको अभाव हुनु स्वभाविक हो । बिस्तारै विवाहको उमेर पनि सकारात्मक परिवर्तन आइरहेको छ । एक वा दुई सन्तान भएपछि दम्पत्तीले चित्त बुझाइरहेको पाइएको छ । यसले गर्दा प्रति परिवारमा औसत मानिसको संख्या पनि कम हुँदै गएको, परिवारको आकार सानो हुँदै गएको छ । गत १० वर्षमा नेपालको समग्र जनसंख्यामा खासै वृद्धि नहुनु र बालबालिकाको संख्यामा निकै धेरै कमी आउनुले भविष्यमा अब नेपालको जनसंख्यामा कमी आउने सम्भावनालाई संकेत गरेको हुनुपर्छ । नेपालमा जन्मदर कम हुनु र विदेश पलायनको मात्रामा व्यापक वृद्धि हुनु विचारणीय पक्ष रहेको छ । अहिले जुन उमेरका मानिसमा विदेश पलायनको तीव्र आकांक्षा रहेको छ, त्यस उमेरले पनि यही संकेत गरेको हो कि देशमा जनसंख्यालाई टिकाउनेतिर विशेष ध्यान दिनु आवश्यक भइसकेको छ ।

किन युवाहरू विदेश पलायन भइरहेका छन् ? अध्ययन र रोजगारी त मुख्य कारण हुन् नै । उसो भए यहाँको अध्ययन र रोजगारीमा आकर्षण वा विश्वास नदेखिएको हो वा यहाँभन्दा कुनै कारणले विदेशमा आकर्षण बढी छ । कतिपयले देशमा आर्थिक मन्दी आएपछि सर्वसाधारणमा आएको निराशाको कारण विदेश पलायनको प्रवृत्तिले विस्तार पाएको तर्क दिइरहेका छन् तर अर्को तर्क यो पनि रहेको छ कि नवयुवामा विदेश पलायनको मोह अत्यधिक हुँदा देशमा आर्थिक मन्दी आएको हो । सबैले विदेश जानका लागि पैसा खोज्ने, सबैले जमिन बेच्न चाहने, बजारका मानिसले पनि बेचेर अर्को देश जान चाहने सोचाइ आउन थालेपछि गाउँमा जमिन किन्ने र सहरमा घर किन्ने मानिसको अभाव हुन पुगेको विश्लेषणलाई पनि आधारहीन मान्न सकिँदैन । जब सबैले एकैचोटि बैंकमा पैसा राख्ने हो भने बैंकले ब्याज दिन सक्दैन र यदि सबैले बैंकबाट एकैचोटि पैसा निकाल्न चाहने हो भने बैंकले ऋण लगानी गर्न सक्दैन । सबै वर्ग, उमेर तथा क्षेत्रका मानिसले भविष्य देख्नका लागि विदेशी चस्मा नै लगाउने हो भने यहाँ जताततै निराशा मात्र देख्न सकिन्छ ।

अहिले विद्यालय जाने उमेरका बालबालिकाको संख्यामा निकै धेरै कमी आएको छ । यस तथ्यांकले हिमाल र पहाडका धेरै विद्यालयमा विद्यार्थी संख्यामा कमी ल्याएको हुनुपर्छ । सहरी क्षेत्रमा नभए पनि ग्रामीण क्षेत्र र लेकतिरका गाउँका विद्यालयहरूमा १० वर्ष पहिले र अहिलेको विद्यार्थीको उपस्थिति निकै कम भइसकेको हुनुपर्छ । अहिले नै नेपालका विभिन्न विश्वविद्यालयमा विद्यार्थी संख्याको अभाव भएको बताइन थालिएको छ । समग्रमा विद्यालय तहमा बालबालिकाको अभाव खासै नदेखिएको भए पनि अबको दशकमा यो समस्या विद्यालय तहमा पनि देखिने र विश्वविद्यालय तथा क्याम्पस तहमा अझ विकराल हुने सम्भावना आँकलन गर्न सकिन्छ । विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थी अभावको प्रभाव उत्पादन र रोगजारीका अन्य क्षेत्रमा पनि देखिन सुरु हुन्छ । उत्पादन र जनशक्तिबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । हामीकहाँ दक्ष जनशक्तिको अभाव रहेको मानिँदै आएको छ । अब अर्धदक्ष तथा अदक्ष जनशक्तिको माग हुने क्षेत्रमा पनि जनशक्तिको अभाव देखिन बेर छैन । यद्यपि कृषिको क्षेत्रमा भने जनशक्तिको अभाव देखिन थालिएको छ । जनशक्तिको अभावमा खेत नै बाँझो रहने गरेका खबरहरू आइरहन्छन् ।

जे जे कारणले सर्वसाधारण विदेश जान खोजिरहेका छन्, ती कारणहरूको निवारण हुनु जरुरी छ । हामीकहाँ बारी बाँझो छ तर हामी हरियो तरकारी भने बाहिरबाट ल्याएर भान्सामा पकाउनु परेको छ । यसले पैसा र स्वास्थ्य दुवै गएको छ । उत्पादनको वातावरण किन बन्न सकिरहेको छैन ? किसानलाई पानी, मल, बिउ तथा विशेषज्ञ सेवा समयमा उपलब्ध गराउने र उत्पादन बिक्री हुने निश्चित वातावरण हुने हो भने युवाहरूले आफूलाई टिकाउन र बिकाउन सक्ने हुन्छन् स्वदेशमै । अहिलेको अवस्था यस्तो छ कि उत्पादनशील जनशक्ति विदेशमा र उपभोग गर्ने मुख्य जनशक्ति स्वदेशमा रहेका छन् । रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरूको जमातमा पुरुषको संख्या बढी छ । घरमा महिला तथा बालबालिका रहेका छन् जो विदेश गएका अभिभावकमाथि आश्रित छन् । यस अवस्थामा विदेशबाट आउने रेमिटान्सले नजिकको बजारबाट किनेको तरकारी पनि बाहिरको हुने गरेको छ ।

विडम्बना त यो पनि रहेको छ कि यहाँ आफ्नो घर र बारीको काम नगर्ने तर विदेशमा गएर जतिसुकै सानोतिनो काम भए पनि गर्ने अर्थात् यहाँ बेकार बसेर समय खेर फाल्ने तर उत्पादनशील काममा आफूलाई नलगाउने । सानोतिनो काम गरिरहेकालाई पनि हेय दृष्टिले हेर्ने र कामप्रति दुरुत्साहन गर्दै विदेशमै जाँदा सम्मान हुने मनोविज्ञान निर्माण गर्ने । अनि विदेशमा कमाएर ल्याएको पैसाबाट सबै सामान फेरि विदेशकै किन्ने । यसले गर्दा देशको अर्थतन्त्रका साथै सामाजिक व्यवहारसम्ममा रेमिटान्सको प्रभाव देखिन्छ । नितान्त कामको खोजीमा गएकाले मात्र सम्भव भएको पूरा आर्जन देशमा पठाउने हो र केही गरी त्यहीँ विदेशमै बस्न सकिने चाँजोपाँजो मिल्न सक्ने अवस्था हुन्छ भने त्यहीँ बचत सुरु हुन्छ । अनि आफ्नो व्यवस्थापन, त्यसपछि घरपरिवारका अन्य सदस्यको त्यहीँ व्यवस्थापन सुरु हुन्छ । यस्ता धेरै मानिस छन् जो बुढेसकाल बिताउनको लागि पनि विदेश गएका छन् ।

विदेश जाने जनसंख्यामा मध्यम वर्ग र उच्च वर्ग बढी छन् भने देशको आन्तरिक बसाइँसराइमा सबै किसिमको जनसंख्याको योगदान रहेको छ । यसरी सबै किसिमका मानिसले गर्दा जनसंख्यामा असन्तुलन आउन लागेको हो । युवा जनशक्ति पलायन हुनु तथा आन्तरिक बसाइँसराइ तीव्र हुनुले जन्मदरमा पनि प्रभाव पारेको छ । साथै २०६८ सालमा १५ देखि २४ वर्ष उमेर समूहका मानिसहरू २० प्रतिशत रहेकामा २०७८ सालमा १९ दशमलव ७ प्रतिशत देखिनु तथा २०६८ सालमा २५ देखि ६५ वर्ष उमेर समूहका मानिसहरू ४५ दशमलव ५ प्रतिशत रहेकामा २०७८ सालमा ४३ दशमलव ३ प्रतिशत देखिनुले भविष्यमा जनसंख्याको बारेमा फरक किसिमले विचार गर्नैपर्ने तर्फ संकेत गरेको छ ।

प्रतिक्रिया