म ओली विरोधी नै हो ?

प्राडा जयराज आचार्य एक अन्तर्वार्तामा बुद्धिजीवीलाई देख्ने बित्तिकै नेताहरूलाई एलर्जी हुन्छ भन्दै हुनुहुन्थ्यो । वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली बुद्धिजीवी र नेताका बीच तेलपानीजस्तो सम्बन्ध भएर हैरान भएको भन्नुहुन्थ्यो । नपढ्ने र नलेख्ने नेताले नै पठन र अध्ययन र लेखन गर्ने नेताको खुब रिस गरेको यस लेखकलाई थाहा छ ।

प्राडा बद्रीविशाल पोखरेल

केही दिनअघि एमाले नेता गुरु बरालका छोरा यसु बरालको विराटनगरमा जनवादी/सामाजिक विवाह सम्पन्न भएको थियो । उक्त विवाहमा जाँदा एक एमाले प्याकुरेल थरि नेतासित जम्काभेट भयो । मैले भेटको सुरुमै सामान्य शिष्टाचारको औपचारिकता पूरा गर्न उनलाई कमरेड्ली अभिवादन गरेँ । उनले त सुरुमै मेरा अखबारी लेखमा प्रयोग गरेको भाषा प्रयोगमा मसित खडेखडे कडा कटाक्ष गरिहाले । मैले पनि क्षयरोग लागेपछि भैँसीलाई नै हान्ने सुइँ हान्नुपर्छ, नेता कमरेड, मल्हमपट्टि लगाएर र सुम्सुम्याएर असाध्य रोग निको हुन्न भनिदिएँ ।

उनले प्रवृत्तिगत विषय नउठाएर सिधैँ व्यक्तिको नाम केन्द्रित मेरा लेखको कटुआलोचना गरे । प्रत्युत्तरमा प्रवृत्ति नबुझ्नेलाई सिदासिदी लेख्नुपर्ने बाध्यता बताएँ । टोप बहादुरका टाउकैमा नहानेसम्म थेत्तराको मति सप्रिन्न भनेपछि चुप लागे । बिनबित्थामा कुनै महाराजबाट हेपिन पटक्क नमान्ने स्वभाव भएकाले सवाल अनुसारको जवाफ दिन बाध्य भइयो । यसपछि तपार्इं पार्टी अध्यक्ष ओलीविरुद्ध लेख लेख्नुहुन्छ भनेर तिनले खबरदारी भाषा बोले । अब भने म तीन छक्क परेँ । मैले लेखेका सबै लेखहरू तपाईंले सबै पढेजस्तो लागेन भनेँ तर उनी मैले भनेका कुरा मान्न तयार थिएनन् ।

पछिल्लो अवधिमा जसले र जुन पार्टीकाले जेजति मात्रामा देश र जनताका हितमा काम गरेको छ भने त्यसलाई समर्थन गर्नुपर्छ र राम्रा कामलाई प्रोत्साहित गर्नुपर्छ भन्ने फराकिलो चेत र चिन्तनका साथ आफूले लेख्ने र बोल्ने गरेको छु । जंगबहादुर राणाले नेपालको सीमामा जंगेपीलर गाडे । यस कामले बुद्धको जन्मस्थल लुम्बिनी नेपालभित्र परेको हो । के यस कामलाई पनि सराप्ने त ?

जसकसैका पनि बैगुन होलान् तर एउटै मात्र पनि गुन, ज्ञान र गुरुत्व छ भने त्यसको उल्लेख गर्नैपर्छ । यसले सबै नेता चोर भन्ने सुनियोजित रूपमा स्थापित गर्न खोजिएको भाष्यलाई निस्तेज गर्न सकिन्छ । नेपोलियन बोनापार्टले देश र दुनियाँमा भ्रष्ट नेताभन्दा भ्रष्ट चरित्र र चिन्तन देखेर पनि त्यसलाई निर्भीकताका साथ समाजमा उजागर नगर्नेचाहिँ ठूला भ्रष्ट हुन् भनेका छन् ।

हाम्रै देशमा सत्य कुरा उजागर नगर्ने हामीजस्ता तीन तमासे बौद्धिकहरू कम भ्रष्ट होइनौँ । ‘मौनम् सम्मति लक्षणम्’ भनेझैँ हामी भ्रष्टका मतियार बन्छौँ । बारबार नुहाइधुवाइ गरिएन भने ठूलै नेताको मात्र होइन आफ्नै शरीर डुङडुङ्ती गन्हाउँछ । जननेता मदन भण्डारीले नेपाल बुद्धिजीवी परिषद्लाई पार्टी र नेतालाई सुझाव, सल्लाह र मित्रवत् आलोचना गर्ने संस्था हो भन्नुभएको थियो । माया र स्नेह मिश्रित विरोध वा असहमति पनि नबुझ्नेलाई कसरी सम्झाउनु ?

द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादलाई समग्रतामा बुझ्ने नेताको चिन्तन र व्यवहार उच्चस्तरकै हुन्छ । अझ जबजअनुसार राम्रो काम राम्रै तरिकाले गर्नुपर्छ भनेझैँ मसित सन्तुलित संवाद गर्न नेतालाई कसले सुझाउने होला । एउटा कर्तव्यनिष्ठ बौद्धिक व्यक्तित्वसित उपयुक्त अशोभनीय संवाद गर्ने एकाध अरू पनि फेला पारेको हुँदा तिनको चरित्र सुधार्न पनि यो लेख्न बाध्य भइयो । तर, ती नेता आफ्ना मनका कुरा खोलेकाले यसमा कलम चलाइयो, जाती नै भयो । अँध्यारो र उज्यालोका बीच सदा प्रतिद्वन्द्विता भइरहन्छ । नकार र सकारका बीच द्वन्द्व हुन्छ, यो शास्वत कुरा हो । चन्द्रमाले आफ्नो दाग नदेख्ला तर अरूले देख्छन् नि । चन्द्रमाले आफ्नै दाग देख्ने र यसलाई मनन गर्ने हो भने दाग गाढा हुँदैन र बढोत्तरी हुँदैन । रोग लुकाए, रोग अझ भयानक र असाध्य पनि हुन्छ । महान् नेताका पनि काम गर्दा केही न केही कमजोरी हुन्छन् र हुनसक्छन् भनेर पार्टीमा आलोचना र आत्मालोचनाको पद्धति राखिएको हो । माक्र्स, माओ र लेनिन कमी कमजोरीरहित थिएनन् । स्टालिनपछि नेता बनेका ख्रुसचेभले नोकरसाही जनवादको पोल खोलेकै हुन् ।

माओ र उनका मण्डलीका कारण आधुनिक समृद्ध चीनका निर्माता तङसियाओ पेङले नरकको जीवन व्यतीत गर्न बाध्य हुनुपरेको थियो । धन्न तङले धेरै धैर्य धारण गर्नुभएको हुँदा उहाँ जीवित रहेर चीनको कायापलट गर्न सक्षम हुनुभयो । यस्ता उदाहरण पर्याप्त पाइन्छन् । पूर्व इतिहास र घटनाबाट पनि नसिक्ने हो भने गल्ती बढ्दै गएर त्यसले अपराधको स्वरूप ग्रहण गर्ने खतरा हुन्छ । स्वयं ओलीले एक प्रसंगमा मलाई धेरै नजिकबाट नहेर्न भन्नुभएको अर्थ आशय बुझ्नुपर्छ । अंश र पूर्णको द्वन्द्वात्मक सम्बन्धका आधारमा मात्र सही मूल्यांकन सम्भव हुन्छ । लेखको शीर्षक र त्यसभित्रको एक वाक्य पढेर मात्र दृष्टिकोण बनाउने अबुझ नेताको कुनै खडेरी छैन । शंकैशंकामा लंका जलाउन उद्यत पनि भेटिएका छन् । लेखन, पठन र यसको गहिराइ नै नबुझ्नेहरू अत्यन्त हल्का टिप्पणी गर्छन् ।

गुरुको ज्ञानलाई आदर कदर नगरे पनि अनादर कहिल्यै नगर्नु भनेर सिकाउने कोही छन् कि छैनन्, थाहा छैन । प्राडा जयराज आचार्य एक अन्तर्वार्तामा बुद्धिजीवीलाई देख्ने बित्तिकै नेताहरूलाई एलर्जी हुन्छ भन्दै हुनुहुन्थ्यो । वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली बुद्धिजीवी र नेताका बीच तेलपानीजस्तो सम्बन्ध भएर हैरान भएको भन्नुहुन्थ्यो । नपढ्ने र नलेख्ने नेताले नै पठन र अध्ययन र लेखन गर्ने नेताको खुब रिस गरेको यस लेखकलाई थाहा छ । नेता मणि थापा र खगेन्द्र राई आवरणका मात्र कम्युनिस्ट होइनन् । सांस्कृतिक क्षेत्रको चुरो व्यक्तिले अंशमा मूल्यांकन गर्दैनन् । संस्कृतिको स पनि थाहा नहुँदा रूपान्तरणको त परको कुरा भयो ।

यस लेखकलाई थेत्तराको ओखती पनि थाहा छ । रोग निको नहुन्जेल उपचार गरिरहने स्वभाव यस डाक्टरको रहेको छ । महान् नेतालाई रोग लाग्छ भन्ने कतिपय नेतालाई थाहा नहोला । भजन कीर्तन गर्न नै भ्याइनभ्याइ हुनाले आफूलाई धोइपखाली गर्न र जबज अनुसार श्रेष्ठ हुनुपर्छ भन्ने तिनको चेत नै हराएको होला । पार्टीमा पोलाहा नेता र कार्यकर्ताको बिगबिगी रहेको नेता भानुभक्त ढकालले एक कार्यक्रममा बताएका थिए । कतिपय नेतालाई समसामयिक विषयको सटिक प्रेस वक्तव्य लेख्न सकस परेको देखिन्छ । इतर पार्टीका नेता आफू निकट लेखक र टिप्पणीकारलाई सम्मान नगरे पनि अपमान गर्दा रहेनछन् । आफूलाई द्वन्द्ववादी भन्दै अन्धवादको घना अन्धकारले घेरिएको देखिन्छ ।

यही लेखकका लेखकहरू स्वयं कमरेड ओली पढ्नुहुन्छ, प्रतिक्रिया पनि दिनुहुन्छ । नेता गुरु बराल, डा.भीम रावल, इश्वरी रिजाल, हरि प्रसाद भण्डारी, सूर्य थापालगायत नेताहरूले फोन नै गरेर मेरो लेखनको लेखको सकार उल्लेख गर्नुभएको थियो । थापा कमरेडले त लेख लेख्ने एउटा गम्भीर र सामग्री नै दिनुभएको थियो । तर, कहिल्यै पढ्दै नपढ्ने र अंशमा मूल्यांकन गर्ने बेहोराका मारमा पर्ने गरिन्छ । तर भाग्ने होइन भिड्ने स्वभाव विकास गरेकाले खासै चिन्ता पनि छैन ।

त्यसै पनि अज्ञानीसित रिसाउनु हुँदैन भनिन्छ । अमेरिका अस्ट्रेलिया जहाँ गए पनि त्यहाँका एमाले नेता मेरो नाम सुन्ने बित्तिकै मसित नजिक हुन्छन् र मेरा लेखको सकार बताउँछन् । सामान्य सिटी सफारी चलाउने चालकले पनि मेरो लेख पढेको बताएका छन् । यसै पनि अधिकांश नेताहरू कला साहित्य र मनोविज्ञानका बारेमा सामान्य रूपमा जानकार पनि छैनन् । त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले केही दिनअघि नेपालको शिक्षा प्रणालीको दोष आँैल्याउँदै हुनुहुन्थ्यो । कक्षा १२ पछि पनि कम्तीमा माथिल्लो क्लासमा आमविद्यार्थीहरूलाई कला, साहित्य, संस्कृति, इतिहास र मनोविज्ञानजस्ता विषयको सामान्य ज्ञान नदिँदा मानिस बन्ने कुरा अधुरो भएको बताउनुभयो ।

विकसित मुलुकमा पनि जुनसुकै विषय क्षेत्रमा पढे पनि त्यस विद्यार्थीलाई समग्र मान्छे बन्ने खालको शिक्षा दिइँदो रहेछ । तर, नेपालमा त्यसको पर्याप्त अभाव रहेको देखिन्छ । को सित कसरी बोल्ने भन्ने कुराको सामान्य ज्ञानको अभाव धेरैजसोमा देखिन्छ । सबैलाई पार्टीको दुअन्नी र चउन्नी सदस्यसरह हेलाहोचो व्यवहार गर्ने बेहोरा देखिन्छ । अझ कवि, कलाकार र बुद्धिजीवीसित बरव्यवहार र बोलचाल गर्ने सामान्य तरिका पनि थाहा नभएका धेरै नेता देखिन्छन् । यो जबज अनुसारको व्यवहार कदापि होइन । नेता त जन समाजलाई अत्यन्त आकर्षित गर्ने चुम्बकझैँ क्षमताको हुनुपर्छ । सकारभित्र नकार र नकारभित्र सकार हुन्छ भन्ने अतिसामान्य ज्ञानको अभाव पाइन्छ ।

कतिपय नेताका उपर्युक्त खालका अद्वन्द्ववादी कटाक्षका कारण प्रगतिशील लेखकहरूको अभाव भएको मलाई अब स्पष्ट भयो । तैपनि प्राडा ऋषिराम शर्मा, पुष्कर कँडेल, निर्मल भट्टराई, युवराज बाँस्कोटा, मिथिला पोखरेल लगायतहरू लेखिरहेका छन् । प्रतिभाको फूलबारी भनेर हुँदैन त्यो प्रतिभा बौद्धिक प्राज्ञिक र सिर्जनामा देखिनुपर्छ, मैदानमा उत्रिनुपर्छ । भक्तले भक्तिबाहेक केही नै गर्दैन, कर्मचाहिँ गर्दैन । कर्मका बहुविध विषय र क्षेत्रहरू छन् । मानिसको मनको मयल धुने साबुन नै बौद्धिक, लेखकीय तथा सिर्जनात्मक क्षेत्र हो । सिर्जनात्मक समग्र क्षेत्रलाई क्रियाशील बनाउने हो सबै क्षेत्रका प्रतिभा उमार्न, हुर्काउन र बढाउन सकिन्छ । सिर्जनाका बत्तीहरू बाल्ने हो तमाम पुतली गोलबन्द हुन्छन् ।

जननेता मदनले झैँ सबै क्षेत्र, तह र तप्काहरूलाई प्रभावित पार्ने विषय, विधाको ज्ञानका अभावमा धेरैजसो नेताहरू काम नदेखेर र नबुझेर हैरान छन् । पार्टी केन्द्रले तोकेर विभिन्न प्रदेश, जिल्ला र नगरमा पठाएका प्रायः नेताहरू मात्र औपचारिक देखावा सतही काममा मात्र लागेका छन् । रुढीवादी धर्म र संस्कृतिभित्र जनधनको खोलो बगेको छ । तिनलाई समेत मदनले झैँ प्रभावित पारेर जनपक्षीय बनाउन सकिन्छ भन्ने सामान्य ज्ञानको अभाव देखिन्छ । तमाम बालबालिका र युवाहरूलाई विभिन्न बौद्धिक र भौतिक रचनात्मक काममार्फत् गोलबद्ध गर्न सकिन्छ । एउटा मानिस प्रहरीको तालिममा प¥यो भने उसको शरीर सखुवाको काठसरह हुन्छ सेनाको तालिममा प¥यो भने त्यसको शरीर फलामसरह हुन्छ । अझ काँचो माटो सरहका तमाम बाल युवालाई समय क्रममा मोर्चा संगठन र पार्टी वरिपरि गोलबद्ध गराउन सकिन्छ । जान्दा श्रीखण्डै श्रीखण्ड हुन्छ तर यस्ता कुरामा भक्तहरूलाई कुनै मतलव हुँदैन । यहाँ त नर्सरी र ब्याड नलगाई लहलह बालीको खोज गर्ने प्रवत्ति व्याप्त छ ।

ओली सरकारका पालाका अनेकौँ विकास निर्माणका विषयमा लेख्नुपर्ने साहित्यका विषय धेरै छन् तर लेख्न नै हतोत्साहित गरेपछि को लेख्छ । माओवादी पार्टी सम्बद्ध स्रष्टा समाजले उहिल्यै जनयुद्धमा समेत सौन्दर्य देखे र एउटा किताबको ठेली नै तयार पारे । बल्लबल्ल राजसा महासङ्ले जबजको सौन्दर्यसम्बन्धी पत्रिका प्रकाशन गरे, त्यसमा प्रदीप ज्ञवालीको चाहिँ लेख उत्कष्ट लाग्यो । अरू त धेरैजसो नेताका लेखहरू लेख्नका लागि लेखेजस्ता लागे । अन्धभक्तको भिड तासको घरझैँ हुन्छ र फु गर्दा ढल्छ तर विश्लेषणात्मक र विवेचनात्मक ज्ञान दरिलो र बन्दिलो हुन्छ, यसले बलियो आधार र धार बनाउँछ । त्यसैले विरोध र आलोचनाका प्रकार र प्रवृत्ति नै नबुझी टिप्पणी गर्नु अज्ञानता हो ।

प्रतिक्रिया