जे पनि पत्याई दिने हामी नेपाली कस्ता ?

विश्व राजनीतिमा चासो राख्ने एउटा सामान्य लाटोले पनि बुझ्ने कुरा के हो भने बिदेशी खुफिया एजेन्सी त्यसमा पनि अमेरिकाको सीआइए र भारतको रअ जस्ता निकायले चाहेको खण्डमा जुनसुकै बेला हामी जस्ता फुस्राहरुलाई काम तमाम गर्न सक्छ । त्यत्रो सुरक्षा घेराभित्र रहेकोे राजदरबार त आँखा झिमिक्क पारेको भरमा सखाप पार्ने शक्तिले यस्ता दुई कौडीका फुस्राहरु भ्याउन कत्रो कुरा होला ?

मोहन लामा रुम्बा

माननीय सांसद सीको राउतले सनसनी हुने तरिकाले भन्दै रहेछन्– ‘मेयर बालेन शाहलाई सरकारले पक्राउ गर्ने तयारी गर्दै गरेको थियो रे ।’ उक्त गोप्य स्थानमा मुलुकको प्रधानसेनापति, प्रधानमन्त्री गृहमन्त्री देखि शेरबहादुर देउवा सम्म थिए रे । त्यस्तो गोप्य स्थानमा ऊनी पनि छेउमा टुप्लुक्क बसेर सुन्दै थिए रे । शेरबहादुर देउवाले पक्राउ गर्न हुन्न भनेर अडान लिएको रे ।

सर्लक्क पत्याई दिने हामी गोर्खे जो छौं । सहानुभूतिको मिसन ८४ बुझ्ने कतिले होला कठै । आज एकजना साथीले आएर भने ‘मेयर बालेनलाई गोली हानेछ नी तपाईंलाई केही जानकारी छ रे ।’ मैले भने – ‘खै कहिले ?’ उनले भने– ‘ लौ तपाईंलाई थाहा छैन ? गालामा छोएर गोलि गएको छ रे हल्का चोट लागेको छ रे ।’ मैले भने–‘खै त कुनै मिडियामा आएको छैन कहिले भएको त्यस्तो ? उनी भन्दै थिए–‘सबै घटना गुपचुप गरेको छ रे ।’मैले मनमनै गम खाँदै सोचें, क्या सटिक तरिकाले रणनीतिक सहित सुक्ष्म रूपमा मिसन ८४ सुरु गरिसकेछन् भनेर मौन बसें । बुझ्नेलाई श्रीखंण्ड नबुझ्नेलाई खुर्पा बिंड ।

एकदिन प्रसंगबस नेपालको सिमा बारेमा डा. रमेश ढुंगेलज्यु सँग वार्तालाप हुँदै गर्दा जानकार भइयो । उहाँले ‘नेपालको भारत सँग जोडिएको सिमा बारेमा पुरानो अभिलेख दस्तावेजको मुल प्रति नेपाल सरकार सँग होइन फलानो सिमाविद्ले आफ्नो घरमा लगेर थुपारेको छ’ भनेर भन्दै हुनुहुन्थ्यो । ती सिमाविद् भनेर चिनिएका व्यक्ति नै हुन् । भारत सँग सिमा सार्ने सहमतिमा ल्याप्चे ठोकेर आउने तिनै हुन् र नेपालको (सिमा सम्बन्धि) जानकारहरु भन्ने गर्छन् तिनले तलब भत्ता समेत दक्षिण बाट बुझ्छन् भनेर ।

केहि समय अगाडि तिनको एउटा अन्तर्वार्ता रहेछ, ऊनी भन्दै थिए –‘ मलाई रअ (भारतको जासुसी संस्था) को खतरा रहेकोे थियो, त्यसैले मैले सार्वजनिक रूपमा यदि मलाई मा¥यो भने भारतले मार्छ भनेर भन्दिएँ, जब मैले यसरी बोलेपछी मलाई जोकोहीले मारे पनि भारतलाई गाल आउने भयो । त्यही भएर अहिले मलाई भारतले नै सेक्युरिटी दिने गरेको छ । ताकि तिनलाई गाल नआओस् भनेर ।’ अन्तर्वार्ताको तलतिर पाठक प्रतिक्रिया हेरेको ति सिमाविद् प्रति ‘नेफोली’ राष्ट्रवादीहरुको सहानुभूतिको ओइरो लागेको रहेछ । क्या गज्जब ! भारतको सुरक्षा पनि पाइने ‘नेफोली लास्टवादी’हरुको सहानुभूति पनि पाइने ।

एकजना युट्युब तिर गेरुवा वस्त्र लगाएर टपरटुईयाँ भविष्यवेत्ता बनेर हिँड्ने ठिटो केटोको अन्तर्वार्ता रहेछ । ऊनी पनि भन्दै रहेछन्–‘मैले भगवान रामको जन्मभूमि चितवनमा हो भनेर हिंड्न थाले देखिन रअले मार्न खोजी रहेकोे छ, दिनहुँ धम्की आउन थालेको छ, ज्यानको बाजी लगाएर हिंड्दै छु ।’ युट्युबको भ्युज संख्या उदेकलाग्दो थियो । तलतिर पाठक प्रतिक्रिया हेरेको ओहो ! ‘लास्टावादी’हरुको सहानुभूतिको ओइरो लागेको रहेछ, कठै ।

केहि वर्ष अगाडि पुर्व लडाकुको एउटा अन्तर्वार्ता हेरेको थिएँ, ऊनी पुरानो दिनको स्मरण गर्दै भन्दै थिए–‘हामीले केन्द्रिय नेताहरूलाई सुरक्षा दिँदै रोल्पा रुकुम बाट दाङ हुँदै नेपालगन्ज बाट भारतको सिमा सम्म लगेर छोडेर आउने गथ्यौं, नेपाल भित्र रहँदा सीआइए र रअ बाट ज्यानको खतरा हुन्छ भनेर हामीले अगाडि पछाडी लालसेनाको सुरक्षा दस्ता दिएर भारतको बोडर पार गराउथ्यौं । बोडर कटेपछि त कोही नचाहिने रहेछ ।’ अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवाद बाट ज्यानको खतरा भन्दै ‘कन्स्पीरेन्सी थ्योरी’ प्रयोग गरेर त्यतिबेला लडाकु युवाहरुको सहानुभूतिको शोषण गरेको अनुभव थियो त्यो उनको ।

विश्व राजनीतिमा चासो राख्ने एउटा सामान्य लाटोले पनि बुझ्ने कुरा के हो भने बिदेशी खुफिया एजेन्सी त्यसमा पनि अमेरिकाको सीआइए र भारतको रअ जस्ता निकायले चाहेको खण्डमा जुनसुकै बेला हामी जस्ता फुस्राहरुलाई काम तमाम गर्न सक्छ । त्यत्रो सुरक्षा घेराभित्र रहेकोे राजदरबार त आँखा झिमिक्क पारेको भरमा सखाप पार्ने शक्तिले यस्ता दुई कौडीका फुस्राहरु भ्याउन कत्रो कुरा होला ?

भर्खरै भारतको रअ ले क्यानाडा र बेलायतमा सुरक्षित रूपमा बसिरहेका खालिस्तानी अभियान्तालाई त्यहीँ मा¥यो, अमेरिकाको सिआईएले त जर्मनी फ्रान्स युरोपेली मुलुकको राष्ट्रपतिको दैनिकी ‘फोन टेप’ सम्म रेकर्ड लिइएको घटना छताछुल्ल नै भएको थियो । शक्तिराष्ट्रहरुको त्यत्रो पहुँच हुन्छ भने यहाँका पाङ्दुरेहरुले मलाई भारतको रअ बाट खतरा रे । अमेरिकाको सीआइएबाट खतरा रे ।

एकजना अस्ति मृगस्थलीमा भेटिएका थियो, ऊनी प्रवचनमा भन्दै थिए‘ भगवान रामको लागि म त ज्यान जोगाउन लुकीलुकी हिंडिरहेको छु । सीआइएकाट खतरा भएको छ ।’ अहिले यस्तै टपरटुईयाँहरुले ‘कन्स्पीरेन्सी थ्योरी’ प्रयोग मार्फत सहानुभूति आर्जन गरेर समर्थकको सदस्यता वितरणको योजना चलाउँदै छन् । धरातलीय यथार्थ के हो के होइन भनेर सामान्य विश्लेषण गर्न नसक्ने ठूलो जमातलाई ‘कन्स्पीरेन्सी थ्योरी’ बाट एउटा भावनात्मक प्रपोगाण्डा गर्न हरेक क्षेत्रमा सामाजिक संजाल दुरुपयोग भैरहेको छ । हुन त पत्याउनेहरुको हुल भएपछि भन्नेहरुको जमात त हुने नै भयो नी होइन र ?

प्रतिक्रिया