सकियो क्यारिकेचर प्रदर्शनी

काठमाडौं । ‘नेपाली क्यारिकेचर २०८०’ प्रदर्शनी सम्पन्न भएको छ । बिहीबार अन्तरक्रियात्मक कार्यक्रम गर्दै समापन भएको उक्त प्रदर्शनीमा ३३ कार्टुनिस्टका ४२ बढी क्यारिकेचर राखिएको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनी फागुन २७ गतेबाट सुरु भएको थियो ।

अन्तरक्रियामा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले यस विधामा युवा पुस्ताको आकर्षण देख्दा खुसी लागेको बताए । उनले यस विधामा लागेर पनि जीवननिर्वाह गर्न सकिने सम्भावना देखाएको बताउँदै यस्ता कार्यक्रम गर्न कार्टुनिस्ट क्लब अफ नेपालजस्ता संघसंस्था जोडिँदा सहज भएको धारणा राखे । कार्टुनिस्ट अनुप गुरुङले कार्टुनको पात्र छनोट र प्रतियोगितामा सहभागी हुँदाको अनुभव सुनाएका थिए । उनले क्यारिकेचरमा पात्रको चरित्र कलात्मक रुपमा आउनुपर्ने विचार व्यक्त गरे । कलाकार नवीन्द्रमान राजभण्डारीले पहिले र अहिलेको क्यारिकेचर कला फरक भएको बताउँदै प्रविधिको विकास यसको मुख्य कारण भएको विचार व्यक्त गरे ।

कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर बनाउँदा अथवा यस्ता प्रतियोगितामा सामाजिक दृष्टिले सकारात्मक छवि बनाएका व्यक्तिलाई छनोट गरी क्यारिकेचर बनाउँदा त्यसले सकारात्मक सन्देश दिने र दर्शकले मनोरञ्जन पनि लिने बताए । उनले क्यारिकेचर चुनौतीपूर्ण कला विधा भए पनि यसमा कलाकारले मिहिनेत गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले प्रदर्शनीले कलाकारलाई क्यारिकेचरलाई फरक व्यावसायिक क्षेत्रको सम्भाव्यता अन्वेषण गर्ने बाटो देखाएको बताए ।

समापन समारोहमा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिज, महासचिव रवि मिश्र, कार्टुनिस्टहरू अनुप गुरुङ, उमेशचन्द्र अधिकारी, सुदर्शन सिग्देल, भानु भट्टराई, लगायतसँगै विभिन्न कलेजका विद्यार्थीको सहभागिता रहेको थियो । क्यारिकेचर प्रदर्शनीमा अविन श्रेष्ठ, अकृन अधिकारी, अनिसा भण्डारी, अनुप गुरूङ, अर्पिता शाक्य, अशोकमान सिं, वामन चालिसे, बासु क्षितिज, भानु भट्टराई, विनय भण्डारी, विश्व थापा, चेतन गौतम, देवेन्द्र थुम्केली, हरिशरण ढुंगाना, केशव राज खनाल, महेश बस्ताकोटी, मनरा प्रजापति, एनबि गुरूङ, पल्पासा मानन्धर, पानसिंह तमोर, रवि मिश्र, रविन सायमी, रविन्द्र मानन्धर, रामहरि रिमाल, राजेश मानन्धर, रामकृष्ण थापा, सविना रिजाल, सानुराज डंगोल, सागर शाह, सुजिता महर्जन, सुदर्शन सिग्देल, सौरभ कोइराला, उमेशचन्द्र अधिकारी लगायतले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया