नेपाली खोकन्ते समाजवाद भर्सेज बेलायती भोगन्ते समाजवाद

बेलायतले सबै नागरिकलाई रोजगारी, युवालाई आधारभूत जीवनजिउने, सबैलाई बस्ने आवास र घर किन्न नसक्नेलाई कोठा अनि त्यही कोठाबाट जीवन बनाउने आधार निर्माण गरिदिएको छ । विपन्नलाई राहत, मध्यमलाई सामान्य कर र धनीलाई अधिक कर लगाइएको छ ।

सरोजदिलु

‘समाजवाद’ भनेको राज्यको सञ्चालन, विकास, नियन्त्रण जनताबाट हुनुपर्छ, उत्पादन र अवसरहरूमा सबैको बराबरी स्वामित्व हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । साधारण अर्थमा समाजमा रहेको असमानता, गरिबी, पछ्यौटेपना, बेरोजगारी, कुशासन, अशिक्षा, सामाजिक विभेद, हिंसा, रोग–शोक–भोकको अवस्थाबाट नेपाली जनतालाई मुक्त बनाउनु वा सबैलाई सन्तुष्ट र समृद्ध बनाउनु नै समाजवाद हो ।

समाजवाद भनेको एकआपसमा सहिष्णुता, सहकार्य, समन्वय, सद्भाव र सहयात्रा र सत्ताको साझेदारी हुनु पनि हो । अर्थात, समाजको नेतृत्व सामुहिक रूपमा गर्ने, उत्पादनमा उत्तिकै तहमा सबै लाग्ने अनि त्यसको नियन्त्रण र वितरणसमेत बराबरी हिस्सा हुने वातावरणको निर्माण नै समाजवाद हो । त्यसर्थमा सबैभन्दा सुन्दर र प्रगतिशील विचार भनेकै समाजवाद हो । यस्तो समाजवादी व्यवस्थामा जनताद्वारा नियन्त्रित शासन हुन्छ, त्यसले जनताका लागि काम गर्दछ भने राज्यका श्रोतसाधन, संरचना तथा उत्पादनहरूमा सिधै जनताको लगानी, स्वामित्व र साझेदारी हुन्छ ।

जनताको अपनत्वमा उत्पादनका साधनहरू चलायमान हुन्छन्, बजारहरू गतिशील र नियन्त्रित हुन्छन् । त्यही बजारले सिर्जना गरेको नाफाबाट जनता लाभान्वित हुनेछन् । नागरिकको स्रोत, आम्दानी तथा पुँजीमा एकरूपता आउँछ । कसैले कसैको डाह, इगो र रिसिबी गर्ने वा कसैले कसैलाई होच्याउने वा हेलोहोचो गर्ने अवस्था रहँदैन । कोही गाडीघोडामा चढ्ने, कोहीचाहिँ बाटोमा मकै पोलेर जीवन निर्वाह गर्दासमेत बालेन आएर मुन्ट्याउने, गरिबका खानाखजाना खोस्ने, मिल्काइदिने अवस्था हुन्न । शिक्षा, स्वास्थ, सूचना निःशुल्क हुन्छ । प्रत्येक नागरिकले श्रम गर्नैपर्ने हुन्छ । कोही श्रम गर्ने, कोही श्रम खोस्ने वा समानताका कुरा खोक्ने वा जजमानी गरेर ढलीमली गर्ने हुन्न । सायद समाजवादले यिनै चिन्तन, सोच, मार्ग वा लक्ष्य र त्यसलाई निर्देशन गर्ने चरित्रहरूको कल्पना गर्दछ । तर, नेपाली राजनीतिमा उही थोेत्रा कुराहरूलाई बङ्ग्याएर वा खोकन्ते कुरा गरेर जे पनि समाजवाद हो भन्नेहरूको भिड बढ्न थालेको हो ।
नेपालको संविधानले समाजवादको परिकल्पना गरेको आठ वर्ष बित्यो । संविधानको कार्यान्वयनका लागि तीन वर्षभित्र कानुन बनाएर समाजवादतर्फ उन्मुख हुने भनेको पनि त्यति नै भइसक्यो । झण्डै एकदशकको दौरानमा ठुल्ठूला गफ भए, तर समाजवादको यस्तो कुनै लक्षण वा आधार देखा परेन । हामी त अरू मुलुकलाई सराप्दै समाजवादको कुरा मात्र गरिरहेका छौँ । तर, हामीले पुँजीवादी भन्दै आएका मुलुकहरूले समाजवादको चरित्र, चिन्तन बोकेका छन्, हामीले वर्षौंदेखि कुरा गर्दै आएको लक्ष्यमा तिनीहरू नै पुगिसकेका छन् । बेलायतले सयौँवर्षसम्म विश्वका कतिपय मुलुकहरूमा अधिपत्य जमायो । आज पनि कति राष्ट्रहरूलाई उसले आफ्नो मातहतमा राखेको छ, जसलाई हामी साम्राज्यवादी मुलुकका रूपमा चिन्छौँ । त्यही बेलायतमा हामीले पढेको, नेपाली जनताले खोजेको समाजवाद छ ।

बेलायतले सबै नागरिकलाई रोजगारी, युवालाई आधारभूत जीवन जिउने, सबैलाई बस्ने आवास र घर किन्न नसक्नेलाई कोठा अनि त्यही कोठाबाट जीवन बनाउने आधार निर्माण गरिदिएको छ । बिपन्नलाई राहत, मध्यमलाई सामान्य कर र धनीलाई अधिक कर लगाइएको छ ।

पर्यावरणले समेत समाजवादतर्फ डो¥याउँदछ । बेलायती जनताले पर्यावरण बचाएका छन् । बाटोभरी हरियाली, हिउँ फुल्ने बुट्यानहरू हामी यात्रुका लागि उभिएर मुस्कुराइरहेका छन् । अनि, बेलायती सभ्यता झल्काउने १५औँ शताब्दीतिर बनेका पुरानो शैलीको घरहरू उस्तै छन् । त्यस्ता पुरातात्विक स्थलहरूलाई राज्यले नै संरक्षण सम्वद्र्धन गरेको छ । सबै घरमा मोटरेबल सडक जोडिएको, सडक किनारामा दुबोका गार्डेनहरू, घरअगाडि तीन–चार वटा कार पार्किङ गर्न मिल्ने जमिन छाडिएको र घरको पछाडि प्रशस्त तरकारी सागसब्जी लगाउन मिल्ने जमिन हुन्छ । पानी, बिजुली, ग्याँस, खाद्यान्नजस्ता सरकारको सुविधाहरू घरभित्रै जोडिएका हुन्छन् । जमिन जम्मा क्षेत्रफलका आधारमा नभई अगाडि मोहडाको हिसाबले मात्र किनबेच हुन्छ । गल्ली कतै देखिँदैन, फराकिला सडक र त्यसमाथि सुरक्षित यात्रा र चौबाटोहरूमा फराकिला पार्किङहरू, एउटा चोकबाट अर्को चोकमा पुग्दा फेरि बगैँचाहरू छन् । सबै घरमा कार पुग्नै पर्छ ।

प्राकृतिक स्रोतको दोहन होइन, उपयोगले देशलाई समृद्ध बनाउनुपर्छ भन्ने आसयले ठुल्ठूला फाँटहरू, जमिन र पानीलाई प्रशस्तरूपमा संरक्षण र उपयोग गरिएको छ । कृषि र जंगलमा अत्यधिक लगानी गरिएको पाइन्छ । जंगललाई कृषिऊर्जामा परिणत गरिएको छ । जमिनको खण्डीकरण वा प्लटीकरण कतै देखिन्न । कृषक सबैका आआफ्ना कार, खेतीपाती गर्ने, काट्ने खन्ने, छर्ने मेसिनहरू हुन्छन् । यतिसम्मकी प्राकृतिक स्रोतसाधन, सूर्यको प्रकाश, स्वच्छ हावा, स्वस्थ पानी, हरियाली पर्यावरण, चीसोतातोमा सबैको पहुँच हुनुपर्छ भन्नेमा सरकार संवेदनशील छ ।

युवा–बालबालिकाका लागि हरियाली गार्डेन, पार्क तथा खेलकुद वा सिक्ने ठाउँहरू निर्माण गरिदिएर उनीहरूमा सकारात्मक मानसिक विकास हुने वातावारण सिर्जना गरिएको छ । जसले गर्दा तिनीहरू पढाइ पूरा गर्नासाथ मैले काम गर्नुपर्छ भनेर सिक्दछन् । १६ वर्षसम्म बच्चाहरूलाई घरमा होस् या सडकमा एक्लो छाड्न पाइन्न, रुवाउन पनि पाइँदैन । त्यसो गर्नु हिंसा र बालअपराध हो । बालबच्चालाई सम्पति आर्जन गरिदिने मात्र होइन, उचित शिक्षा, संस्कार, संस्कृति र सभ्यता पनि सिकाउने पनि हो । यहाँ छोराछोरीले समेत बाबुआमासँग अंश माग्दैनन्, बाबाआमाको जायजेथा मेरो हो पनि भन्दैनन्, न त बाबुआमाले छोराछोरीले पाल्छन् कि भनेर अपेक्षा राख्दछन् । सम्पतिको नाममा दाजुभाइ वा दिदीबहिनीहरू झगडा गरेको उदाहरण छैन । १८ वर्षपुगेपछि अब मैले आफैँ काम गर्नुपर्छ भनेर सानै भए पनि काम सुरु गर्दछन् । हाम्रोजस्तो यो महिलाले के लाएकी छे, के खान्छे वा कसरी हिँड्छे भनेर अर्को महिलाले हेर्दैनन् ।

यहाँको स्कुलमा विद्यार्थीलाई उसको सर्टिफिकेट सार्वजनिक गरेर स्याबासी वा पुरस्कार पनि दिइँदैन । रिजल्ट आफ्नै साथीले समेत हेर्न पाउँदैनन् । नराम्रो नतिजा आउँदा अभिभावक वा शिक्षकले ‘त्यसले यस्तो ग¥यो, तैले खै गरिस्’ भनेर दबाब दिइँदैन । यसो गर्दा अब्बल विद्याार्थीमा घमन्ड सिर्जना हुन्छ, अहंकार देखिन्छ भने कमजोर विद्यार्थीको मनोबल खस्कन्छ, हीनताबोध बढ्छ । यसो गर्नु भनेको बालबालिकालाई मानसिक हिंसा दिनु हो । बरु कमजोर विद्यार्थीलाई एउटा सहायक शिक्षक दिएर छुट्टै कक्षाहरू लिई सबल बनाउने कोसिस हुन्छ ।

बेलायतीहरू डिजिटल डेमोक्रेसी र सुशासनको कुरा गर्दैछन् । तर हामीले पुलिसहरूको डन्डे प्रणालीमा देशको सुशासन राम्रो छ भन्नुपरेको छ । उनीहरू सामाजिक सञ्जाललाई डिजिटल जीवनका लागि उपयोग गरिरहेका छन्, हामीले भने ती सञ्जालहरूलाई छाडा संस्कृति देखाउने माध्यम बनाएका छौँ । खाइपाइ आइरहेकाहरूले गरिखान खोज्नेहरूलाई रीसडाह गरी व्यक्तिगत वा संस्थागतरूपमा अनेक बहानामा प्रगति गर्नबाट रोक्नेटोक्ने गरिन्छ, नेपालमा । यहाँ त हुनेहरूले अझ प्रगति गर्छन्, नहुनेहरूलाई प्रगति गर्न प्रोत्साहन गर्दछन् । म ठूलो तँ सानो, मैले धेरै पाउनुपर्छ तैले पाउनै हुन्न भनेर हेलोहोचो र रिस–डाह गर्दैनन् ।

सूचनाप्रणालीमा बेलायत अगाडि छ । चोकचोकका बस स्टान्डहरूमा कहाँ जाने, कुन रुटमा जाने, कति बजे बस आउँछ भनेर यात्रु सुविधाका प्रशस्त सूचनाहरू राखिएका छन् । अझ बस पर्खिने यात्रुहरूलाई घामपानी वा हावाले नोक्सान नपुगोस् भनेर सोही किसिमको बसस्टेन्डहरू बनाइदिएको छ । बाटो काट्दासमेत स्विच आफैँ थिची रातो बत्ती बालेर गाडी रोक्न पाइन्छ । स्विच थिचेपछि स्पिडमा चलिरहेको मोटरहरू समेत रोकिएर पैदल यात्रुलाई बाटो काट्न प्राथमिकता दिन्छन् । यसरी अर्कोलाई सहजता दिँदा प्रत्येकपल्ट धन्यवाद दिइन्छ, त्यो ‘धन्यवाद’ले मानिस–मानिसबीचमा मिठो सांस्कृतिक सम्बन्ध हुनुपर्छ भन्ने संस्कृति बेलायतीहरूले संसारलाई सिकाएका छन् ।

हाम्रोजस्तो एउटैले बिउवीजन बनाउने खन्ने–जोत्ने, उत्पादन गर्ने, खाद्यान्नको रिफाइन गर्ने र बजारसम्म पु¥याउनपर्ने अवस्था होइन । एउटाले बिउ बनाउँछ,, अर्कोले उत्पादन गर्छ, अर्कोले उत्पादनलाई किनेर रिफाइन गर्छ अनि अर्कोले बजारको व्यवस्था गर्छ, फेरि अर्कोले व्यापार गर्छ । त्यसपछि मात्र उपयोग गर्ने जनताले प्राप्त गर्छन् । यसोगर्दा पुँजी चलायमान र कामको सिर्जना धेरै हुन्छ । मूल्य अधिक पर्न गए पनि अधिकसेअधिक रोजगारी सिर्जना हुन्छन्, त्यो रोजगारीले नागरिकको क्रयशक्ति वृद्धि गर्छ ।

चोर्नुपर्ने बाध्यतालाई हामीले व्यवस्थापन गर्न नसकेको कारणले उसले चोरेको हो भनेर सरकारले कतिपयलाई माफी दिई उसलाई गरिखाने व्यवस्था गरिदिएको छ । तैपनि जानीजानी गरेको गल्तीमा कसैलाई छुट हुन्न । बरु मसँग यति पैसा छैन वा पैसा नभएर तिर्न सकिन भन्दा यसले पनि बाँच्नुपर्छ भनेर सबै मान्छेको बाँच्ने अधिकारलाई सम्मान गरेको छ । पुलिसहरू हत्तपत्त रिसाउँदैनन्, मानिसमाथि हात हाली हाल्दैनन् । उनीहरूमा डन्डे अहमता छैन । नागरिकलाई सम्मान गर्नु उनीहरूको परमधर्म हो ।

बेलायती बजेट भाषणसमेत हेर्ने अवसर मिल्यो – बजेट भाषणसमेत थिएटरमा नाटक गरेजस्तै रमाइलो, अनौपचारिक र ठट्यौली पाराको । सरकारको नेतृत्वमा एउटा वर्ग वा एउटै जात मात्र होइन, अन्य देशबाट आएर नागरिक भइसकेकाले समेतले नेतृत्व गर्न पाउँछन् । परिणामतः आज सरकार प्रमुखमा भारतीय मूलका ऋषि सुनकदेखि सदनमा, स्थानीय निकायमा, काउन्सिलहरूमा भारतीय, पाकिस्तानी, अफ्रिकी मूलबाट आएकाहरू प्रशस्त निर्वाचित भएका छन् । अझ सरकारले विभिन्न समुदाय र प्रवासी मुलीहरूसँग बराबर छलफल चलाउँछ । नेपालीहरूसँगसमेत बर्सेनि छलफल चलाएर उनीहरूका लागि सुविधा बढाउने गरेको छ । सरकारी सेवामा कसैले झुठो बोल्न पाइँदैन । करमा छली गर्नु, जनताबाट घुस खानु त महाअपराध नै हो । कर्मचारीले जनतालाई यो, त्यो कागजपत्र पुगेन भनेर दुःख दिँदैनन् । हरेक सेवाहरू डिजिटल प्रशासन प्रणालीमा छ । नागरिकले अनलाइनमा कुनै कामको आग्रह गर्दछन्, हुलाकमार्फत सक्कली कागजपत्रहरू पठाइदिन्छन् र सेवाग्राहीले चाहेको सेवा वा काम सम्पन्न भएर हुलाकमार्फत ठीक समयमा आफ्नो घरको ढोकामा आइपुग्छन् ।

नेपालमा जुत्ता–चप्पलविना मानिस नहिँड्नु र यहाँ कार नचढ्नु उस्तै हो । भुइँमा फोहोर टिप्नेहरूका समेत कार हुन्छन् । हरेक सहरमा ट्रेन पुगेको छ । लोकल बसहरू घरघरमा पुग्ने गरी सहरको निर्माण गरिएको छ । एउटा सहरदेखि अर्को सहर जोड्ने हवाइजहाजसरह सुविधायुक्त दुईतले बसहरू हुन्छन् । प्रायः सार्वजनिक यातायातहरू सरकारकै स्वामित्वमा हुन्छन् । सवारी साधनहरू आफ्नो समयमा हिँड्छन्, समयमा पुग्ने कोसिस गर्दछन् । मानिस होस् या नहोस् बस समयमा चलि नै रहन्छ, थप यात्रु आउँला कि भनेर रोकिँदैन । यात्रुहरूको सम्मान हुन्छ । यात्रामा बुढाबुढी, अपांग र बालबालिकाको खुबै ख्याल गरिन्छ । बसहरूसमेत अपांग, बालबालिका र बुढाबुढीका लागि जमिन छुनेगरी तल लच्किदिन्छन् ।

यसरी राज्यले हरेक जनताको सपना पूरा गर्दै छ । सबैको शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्दै लगेको छ, सबैलाई समृद्ध बनाउँदै छ । अधिकांश रोजगार छन् । आज म भोकै छु, बास छैन, सडकमा सुतेको छु भन्ने विषयलाई राज्यले गम्भीररूपमा हेर्दछ । गाउँ वा सहरको विकासका आधारहरू शान्ति, सुरक्षा, आत्मसम्मान र सामथ्र्य विकास रहेछ भन्ने कुरा बेलायतले सिकाउँदछ । यसरी अनेकतालाई एकरूपतामा समेटेर सबैको समान हिस्सेदारी निर्माण गर्नु नै शाब्दिक समाजवाद हो, जुन बेलायतमा देखिन्छ ।

प्रतिक्रिया