तरुणदल किन र के का लागि ?

सागर शाक्य

नेपाल तरुणदल स्थापना भएको ७० वर्ष नाघेको छ । नेपालको सबैभन्दा जेठो राजनीतिक पार्टी नेपाली कांग्रेसकै हाराहारीको इतिहास नेपाल तरुणदलको छ । तरुणदल किन र के का लागि स्थापना गरिएको हो ? भन्ने सन्दर्भमा विश्लेषकहरूले विभिन्न तर्कहरू राख्ने गरेको पाइन्छ ।

२००७ सालको जनक्रान्ति सम्पन्न भएको तीन वर्ष बित्दानबित्दै २०१० कात्तिक १० गते नेपाली कांग्रेसद्वारा नेपाल तरुणदल स्थापना भएको हो । नेपाल तरुणदल स्थापना किन र के का लागि भएको हो ? भन्ने प्रश्नको उत्तर खोज्न २००७ साल ताकाको पृष्ठभूमिलाई सिंहावलोकन गर्नै पर्ने हुन्छ । २००७ सालको क्रान्तिले नेपाललाई एउटा युगबाट अर्को युगमा प्रवेश गराएको कुरामा दुई मत छैन ।

राजनीतिक रूपमा नेपाल एकीकरणदेखि २००७ सालसम्मको अवधिलाई एउटा युग र त्यसपछिको अवधिलाई अर्को युगका रूपमा लिइने गरिएको छ । अंग्रेज साम्राज्यले दक्षिण एसियाका देशहरू धमाधम निल्दै गर्दा पृथ्वीनारायण शाहको नेतृत्वमा भुरे टाकुरे राज्यहरूलाई मिलाएर अहिलेको नेपाल जन्माइएको हो । तर २००७ सालसम्म पनि नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिन्निथ्यो ।

उपत्यका बाहिरका जनताले काठमाडौंबासीलाई मात्रै नेपाली भन्ने गर्थे । उपत्यका बाहिरका जनता काठमाडौं प्रवेश गर्दा प्रवेशाज्ञा लिनुपर्ने अवस्था थियो । देश नेपाल भए पनि मेचीदेखि महाकाली तथा दशगजादेखि हिमाली भोटसम्मको सरहदका सबै जनताले आफूलाई नेपालीको रूपमा पहिचान लिन सकिरहेका थिएनन् । २००७ सालको जनआन्दोलनपछि आफ्नो भूगोलभित्रका सबै नागरिकहरूको नेपाली जनताका रूपमा साझा पहिचान बन्यो ।

नेपालको भौगोलिक एकीकरणलाई जनस्तरको एकीकरणसम्म पु¥याएको नेपाली कांग्रेसले हो । नेपाली कांग्रेसमा झापाका राजवंशीदेखि दार्चुलाका व्यासीसम्म र कञ्चनपुरका राना थारूदेखि ताप्लेजुङका शेर्पासम्मको आवद्धता रह्यो । मेचीदेखि महाकाली तथा दशगजादेखि हिमाली भोटसम्मको सरहदका सबै जनता एउटै झण्डा र एउटै टेबुलमा बसेर निर्माण गरेको नेपालको पहिलो संस्था नेपाली कांग्रेस हो । नेपाल एकीकरणको अधुरो काम नेपाली कांग्रेसले पूरा गरेको हो ।

२००७ सालको क्रान्ति सम्पन्न भएसँगै नेपाल प्रजातान्त्रिक युगमा प्रवेश गरेको हो । तर यो प्रजातान्त्रि युग विश्वव्यापी थियो । किनकी यही कालखण्डमा विश्वबाट धेरै देशहरू उपनिवेश मुक्त भएका थिए । उपनिवेशबाट मुक्त भएपछि कुन खालको शासन व्यवस्था अंगीकार गर्ने ? भन्ने सन्दर्भमा विश्वव्यापी विवाद थियो । यो विवाद स्वभाविकै थियो । एकातिर बेलायतको जस्तै उदार लोकतन्त्रको लहर चलेको थियो भने अर्कोतिर सोभियत संघको जस्तै कम्युनिस्ट शासनव्यवस्थाको लहर चलेको थियो । यी दुवै विचार युवाहरू माझ अत्यन्त लोकप्रिय थिए । यी दुवै राजनीतिक लहरबाट नेपाल अछुतो थिएन ।

कोरा प्रजातन्त्रले मात्रै जनताका आकांक्षा सम्बोधन गर्न सक्दैन भन्ने कुरा बुझेका बिपी कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारे । प्रजातान्त्रिक समाजवादको अवधारणालाई जनतासमक्ष पु¥याउन अलग संयन्त्रको आवश्यकता महसुस गरियो । त्यसैको उपज थियो नेपाल तरुणदल । यो जिम्मेवारीका लागि बिपी कोइरालाले नेपाली कांग्रेसको संयन्त्रको मात्रै भर किन परेनन् ? युवाहरूको छुट्टै संगठनको आवश्यकता किन देखे ? भन्ने प्रश्नको उत्तरले नै बिपी कोइराला कतिसम्म दूरुद्रष्टा थिए भन्ने कुरा स्पष्ट पार्छ ।

नेपाली कांग्रेस उदार लोकतन्त्रको हिमायती थियो । यता कम्युनिस्ट पार्टीतर्फ पनि युवाहरूको आकर्षण बढ्दै थियो । किनकी त्यतिबेलाको सामाजिक तथा आर्थिक संरचना कम्युनिस्ट दर्शनमा युवाहरूको आकर्षण बढाउन मलजल गर्ने खालको थियो । नेपालको परिप्रेक्षमा यो समस्या अझै टड्कारो थियो । किनकी राजनीतिक रूपमा प्रजातन्त्रको स्थापना भए पनि आर्थिक तथा सामाजिक रूपमा सामन्तवादले निकै बलियोसँग जरा गाडेको थियो । सामन्तवाद रहेसम्म लोकतन्त्रको प्रतिफल जनतासमक्ष नपुग्ने र लोकतन्त्रको प्रतिफल नपुग्दा जनतालाई कम्युनिस्टहरूले सजिलै भड्काउन सक्ने धरातलीय यथार्थताप्रति बिपी कोइराला भलिभाँती परिचित थिए । बिपी कोइरालालाई यसै दूरदर्शी राजनेता भनिएको होइन ।

कोरा प्रजातन्त्रले मात्रै जनताका आकांक्षा सम्बोधन गर्न सक्दैन भन्ने कुरा बुझेका बिपी कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारे । प्रजातान्त्रिक समाजवादको अवधारणालाई जनतासमक्ष पु¥याउन अलग संयन्त्रको आवश्यकता महसुस गरियो । त्यसैको उपज थियो नेपाल तरुणदल । यो जिम्मेवारीका लागि बिपी कोइरालाले नेपाली कांग्रेसको संयन्त्रको मात्रै भर किन परेनन् ? युवाहरूको छुट्टै संगठनको आवश्यकता किन देखे ? भन्ने प्रश्नको उत्तरले नै बिपी कोइराला कतिसम्म दूरुद्रष्टा थिए भन्ने कुरा स्पष्ट पार्छ ।

पहिलो कुरा त पार्टीमा सिधै आवद्ध भएकाहरू सत्ता स्वार्थमा बढी केन्द्रित हुनु स्वभाविक थियो । उनीहरूको मुख्य ध्यान पार्टी सत्ता र राज्य सत्तामा पुग्नु थियो । उमेर बढ्दै जाँदा व्यक्तिगत स्वार्थ पनि बढ्दै जाने मानिसको आम चरित्र हो । युवाहरूमा व्यक्तिगत स्वार्थ कम हुन्छ । जोश र जाँगर बढी हुन्छ । दोस्रो कुरा नेपालमा आधुनिक शिक्षाको आरम्भ भएको २००७ सालको क्रान्तिपछि हो ।

आधुनिक शिक्षा प्राप्त गर्ने अवसर युवाहरूले पाउनु स्वभाविकै थियो । युवाहरूले शिक्षासँगै प्राप्त गरेको आधुनिक चेतनालाई समाजको भित्री तप्कासम्म पु¥याउनका लागि तरुणदलको आवश्यकता महसुस गरिएको हो । कम्युनिस्टका आकर्षक नाराले युवाहरू प्रजातान्त्रिक सिद्धान्तबाट विचलित नहोउन् भन्ने अवधारण बिपी कोइरालाको थियो ।

२०१० सालमा तरुणदल स्थापना गरिनु र २०१२ सालमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौँ महाधिवेशनद्वारा समाजवादी सिद्धान्त अवलम्वन गरिनु संयोग मात्रै थिएन । तरुणदलको स्थापना नेपाली कांग्रेसलाई सामाजिक न्याय सहितको लोकतान्त्रिक समाजवादी सिद्धान्तमा लैजाने गृहकार्यको महत्वपूर्ण खुड्किलो थियो । यसैगरी नेपाल तरुणदल स्थापनाको पृष्ठभूमि विश्लेषण गर्दा छुट्टाउनै नहुने अर्को पाटो पनि छ ।

नेपाली कांग्रेसको उद्देश्य सत्ता परिवर्तन मात्रै थिएन । मुख्य उद्देश्य सामाजिक क्रान्ति थियो । पार्टी स्थापना भएको छोटो समयमै नेपाली कांग्रेस राणाशासनविरुद्ध सशस्त्र क्रान्ति गर्न वाध्य भयो । यो वाध्यताको पनि आफ्नै कारण र पृष्ठभूमि थियो । प्रजातन्त्रको आवश्यकता, सामाजिक क्रान्तीको महत्वका विषयमा जनतालाई सुुसूचित गराएर शान्तिपूर्ण जनआन्दोलनको बलमा राजनीतिक परिवर्तन गर्ने नेपाली कांग्रेसको उद्देश्य थियो । तर नेपाली कांग्रेसमा जोडिन पुगेको ‘सी’ ग्रेडका राणाहरूको संगठन र राजा त्रिभुवनले राणाशासन फाल्न अली हतार गरे । बिपी कोइरालाले पनि यो मौकालाई सदुपयोग गर्न चाहे । त्यसैले नेपाली कांग्रेसले राणाशासन फाल्न हतियारको बाटो रोज्यो ।

सामाजिक क्रान्तिको महत्व र आवश्यकताका विषयमा जनतालाई सुसूचित गराउन नसक्दासम्म प्रजातन्त्र दिगो हुन्न भन्ने दृष्टिकोणका साथ नेपाल तरुणदलको स्थापना गरिएको हो । जनता सुसूचित नभएसम्म प्रजातन्त्रको जरा बलियो हुँदैन भन्ने कुरामा बिपी कोइराला स्पष्ट थिए । उदाहरणका लागि २०१६ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले जसको जोत, उसको पोत भन्ने कार्यक्रम ल्याउँदा ‘हाम्रो मालिकको जग्गा किन खोसिस् ?’ भन्दै मोहीहरू नै आन्दोलनमा उत्रिएको तीतो यथार्थता छ ।

जमिन्दारी तथा बिर्ता उन्मूलन गर्दा गरिब किसानहरूलाई सामन्तीहरूले आन्दोलनमा उतारे । राजा–रजौटा उन्मूलन गर्ने कार्यक्रमविरुद्ध पनि यसरी नै भुइँमान्छेहरूलाई आन्दोलनमा उतार्न सामान्तवादीहरू सफल भए । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले नेपाल तरुणदलको महाधिवेशन उद्घाटन गर्दै गर्दा जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई सेना लगाएर पक्राउ गरेका थिए ।

महेन्द्र शाहले यही दिन र यही मञ्च प्रयोग गर्नु संयोग मात्रै थिएन । २०१७ सालको कु पछि शासकहरूले सबैभन्दा ठूला टार्गेट तरुणदल माथि नै किन गरे ? भन्ने यथार्थतालाई पनि बिर्सन मिल्दैन । तरुणदलको अस्तित्व मेट्ने प्रयासमा पञ्चायतले राज्यको ठूलो साधन र स्रोत प्रयोग ग¥यो । पुनर्वहालीसमेत हुन नसक्ने गरी नेपाल तरुणदलको सांगठानिक अस्तित्व मेटाइयो । यो अवधिमा युवाहरूले नेविसंघमार्फत अघि बढाएको संघर्षलाई नजरअन्दाज गर्न मिल्दैन ।

२०५४ कात्तिक ५, ६ र ७ गते नेपालगञ्जमा भएको नेपाली कांग्रेसको महासमितिको बैठकको समापन गर्ने क्रममा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल तरुणदलको पुनःस्थापना भएको घोषणा गरे । यो घोषणा गर्दा हलमा लगातार पाँच मिनेट जति ताली बजिरह्यो । त्यसपछि सभापति कोइरालाले तरुणदलको अध्यक्षका रूपमा बालकृष्ण खाणको नाम घोषणा गरे । खाणको नाम सुनेपछि पनि थप ५ मिनेट जति लगातार ताली बजिरह्यो । त्यतिबेला खाण कांग्रेसको इतर पक्षका सक्रीय नेता थिए । गणेशमान सिंहको जनजागरण अभियानमा खाणले महत्वपूर्ण योगदान पुर्याएका थिए । जनजागरण अभियानको मुख्य उद्देश्य सामाजिक न्याय र समानुपातिक समावेशी राज्य व्यवस्था थियो ।

समानताको नारा दिएर माओवादीको ब्यानरमा भएको हिंसात्मक गतिविधिमा युवाहरू आकर्षिक हुने संभावना बढ्दै गएको परिप्रेक्ष्यामा नेपाली कांग्रेसको महासमितिको बैठकले नेपाल तरुणदलको पुनःस्थापना गरेको हो । नेपाल तरुणदल पुनःस्थापनाको यो २७ वर्षको कालखण्डमा नेपालको राजनीतिमा धेरै उतारचढाव आएका छन् । तर यी सबै उतारचढाव २००७ सालको जनक्रान्तिको जगमै टेकेर भएका हुन् ।

तरुणदल स्थापना हुँदाताका २०१० सालमा एक वर्षमा दुई सय जनाले १२ (प्रमाणपत्र तह) कक्षा उत्तीर्ण गर्थे । अहिले एक वर्षमा पाँच लाख युवाले १२ कक्षा उत्तीर्ण गर्छन् । त्यतिबेला नेपालीको औषत आयु ३७ वर्ष थियो । अहिले ७४ वर्ष छ । त्यतिबेला रेडियो नेपाल काठमाडौं र आसपासमा मात्रै सुनिन्थ्यो । घरमा रेडियो राख्न सक्ने नगन्य थिए । गोरखापत्र साप्ताहिक थियो । अहिले प्रायः सबै नेपालीको हातहातमा मोबाइल टेलिफोन छ । विश्वमा भएका घटना एक सेकेन्डमा नेपाली जनताले थाहा पाउँछन् ।

आम जनताभन्दा कम सुसूचित व्यक्ति राजनीतिक संगठन वा नेतृत्व तहमा रहनु भनेको पार्टी तथा संगठन थप क्षयीकरण हुँदै जानु हो । आफू किन र के का लागि तरुणदलको संगठनमा आवद्ध छु ? भन्ने कुरा थाहा पाउनु पहिलो अवश्यकता हो । किनकी कारणविना परिणाम हुँदैन । नेपाल तरुणदल भनेको परिणाम हो । नेपाल तरुणदलको स्थापना किन भयो ? भन्ने कुरा कारण हो । आज विश्व २१औँ शताव्दीमा छ । तर, नेपाली समाज २१औँ शताव्दीमा पुग्न बाँकी छ ।

पूर्णलोकतन्त्र के का लागि ? सामाजिक न्याय, समानुपातिक समावेशिता के का लागि ? भन्ने यथार्थ कुरा समाजको कतिपय तप्कासम्म पुुग्न अझै बाँकी छ । जसरी २००७ सालको जनक्रान्तिले दशगजादेखि हिमाली भोटसम्म र मेचीदेखि महाकालीसम्मका जनतालाई नेपालीका रूपमा साझा पहिचान दिलाएको थियो त्यसलाई अझै बलियो र संस्थागत बनाउने यात्रा बाँकी छ ।

यो यात्राका लागि धेरै अवरोधहरू अझै बाँकी छन् । केही थप अवरोधहरू आएका छन् । यी अवधरोध चिर्न सक्ने भनेको नेपाल तरुणदलले मात्रै हो । तर यथास्थितिको तरुणदलले यो अवरोध चिर्न सक्दैन । किनकी पछिल्ला दुई दशकको अवधिलाई हेर्ने हो भने तरुणदलमा आवद्ध व्यक्तिहरूका गतिविधिहरू मीठा भन्दा तीता धेरै छन् ।

(शाक्य नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया