२०४२ सालमा नेपाली कांग्रेसले पञ्चायति व्यवस्थाको विरूद्ध सुरू गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो कांग्रेसको नेतृत्वमा । गणेशमानजी र गिरिजाबाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठुलो मतभिन्नता झांगिइँदै गएको देखिन्थ्यो । राजाले केही दाउ खेलेका थिए । कीर्तिनिधि बिष्टको सल्लाहमा गिरिजाबाबुले एकाधपटक राजा वीरेन्द्रलाई भेटनुभएको थियो । गणेशमानजीलाई यो मन परेको थिएन ।
लामो समयको अन्तरालमा काठमाडौं आएँ । अर्को दिन बिहानै पिएल दाइलाई भेटन चाक्सीबारी पुगेको थिएँ । तुरून्तै भेटन पाएँ र सोधेँ तपार्इंलाई कस्तो छ ? केही महिनादेखिको बिमारीले गर्दा फेरिएको त्यो हँसिलो अनुहार बिस्तारै आफ्नो स्थानमा फर्कंदै गरेको लाग्यो । स्वर पुरानै थियो । ‘फिल मच बेटर । तर, अत्यधिक थकाइको अनुभव र रोगले जन्माएको खानाप्रतिको बेस्वादले दिक्दार लागेको छ ।’ पिएल दाइले मलाई बडो अपनत्वका साथ आफूसँगै ओछ्यानमा बसाएर यसरी बताउन्जेल म केही पुराना यादहरूको भेलमा निकै पर पुगिसकेको थिएँ ।
त्यसदिन नरदेवीबाट पैदल हिँडेर हामी बालाजु औद्योगिक क्षेत्रमा रहेको ‘नेबिको’ बिस्कुट फ्याक्ट्री पुगेका थियौँ । पिएल दाइको कुनै परिचित थिए त्यहाँ, चेरी भनेर बोल्नुहुन्थ्यो । फेरी गफिँदै हामी बालाजु, सोह्रखुट्टे, पकनाजोल, लैनचौर, ठमेल, क्षेत्रपाटी, इन्द्रचोक हुँदै न्युरोड गेटसम्म आइपुगेका थियौँ । हिँडाइ लामो भएको थियो । २०४०–४१ साल तिरको त्यस हिँडाइमा पिएल दाइले बडो बिस्तारका साथ गणेशमान जीको विचार निर्माणको पद्दतिका बारेमा केही कुरा बताउनुभएको थियो । र, बिपी कोइरालाले गणेशमान सिंहको नाजुक आत्मसम्मानका लागि अपनाउने गरेको त्यो भन्दा पनि कलिलो शैली बारे हाँस्दै भन्नुभा’थ्यो पिएल दाइले– त्यो के ‘ह्यान्डल बिथ केयर’ भन्छन् नि, हो ! बिपीको तेही शैली अहिले चाहिन्छ गणेशमान जीलाई डिल गर्न बुझ्यौ ?
२०४२ सालमा नेपाली कांग्रेसले पञ्चायति व्यवस्थाको बिरूद्ध सुरू गर्न लागेको सत्याग्रह भन्दा केही महिना पहिले बडो तनाव उब्जेको थियो कांग्रेसको नेतृत्वमा । गणेशमानजी र गिरिजाबाबु बीचको कार्यगत शैलीको कारणले बाहिर बडो ठुलो मतभिन्नता झांगिइँदै गएको देखिन्थ्यो । राजाले केही दाउ खेलेका थिए । कीर्तिनिधि बिष्टको सल्लाहमा गिरिजाबाबुले एकाधपटक राजा वीरेन्द्रलाई भेटनुभएको थियो । गणेशमानजीलाई यो मन परेको थिएन । यसले गर्दा सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर हुने गणेशमानजीलाई लागेको थियो ।
तर, गिरिजा बाबुको विचार भिन्नै थियो । उहाँलाई लागेको थियो, पञ्चायत बिरूद्धको लामो संघर्षले साथीहरूमा थकाई पनि छ । केही साथीहरू पञ्चायततिर लागे पनि । राजासँगको यस्तो भेटले नेपाली कांग्रेसको ‘रिकगनाइजेसन’ बढ्नेछ । शान्तिपूर्ण आन्दोलनमा हामी राजाले पन्छाउन नसक्ने एक पक्ष रहेछौँ भन्ने धारणा स्थापित पनि हुन्छ । यसरी सोच्नुहुन्थ्यो गिरिजा बाबु । अनि उहाँले जनजीवनका समस्याहरूलाई आधार बनाएर राजाकासमक्ष बिन्तीपत्र बुझाउने कुरा प्रस्ताव गर्नुभएको थियो । विद्युत् महसुल, भ्रष्टाचार, खानेपानीको समस्या, जनतामा शान्ति सुरक्षाको अभाव आदि कुरा उठाएर गाउँगाउँमा गई एउटै बेहोराको निवेदनमा आमजनताको हस्ताक्षर गराउने र सो सबै निवेदनहरू संकलन गरी हस्ताक्षरकर्ताको कुल संख्या उल्लेख गरी राजदरबारमा बुझाउने कुरा थियो गिरिजा बाबुको । तर, गणेशमानजीको चित्त बुझिरहेको थिएन ।
पञ्चहरू तथा कम्युनिस्टहरूले यसलाई ‘बिन्तीपत्रको राजनीति’ भनेर प्रचार गरिरहेको थिए । आन्दोलनका लागि कांग्रेसको बढदै गएको प्रभावको परिदृश्यमा सत्याग्रहको तयारीलाई बिन्तीपत्रे राजनीतिको आरोप गणेशमानजीको ईगोले हम्मेसी स्वीकार्ने विषय थिएन । यसलाई पञ्च र कम्युनिस्टहरूले खुब हौस्याएका थिए । पुरै कांग्रेस वृत्त यसबाट चिन्तित थियो । गणेशमानजी र गिरिजा बाबुका बीच विचारको बुझबुझारथ हुनुपर्ने सबैको चासो थियो । पार्टीभित्र पिएल दाइ र शैलजा दिदी–यी दुई जना मात्र थिए, जो दुबै नेताका बीच सहज संवादलाई बढाउने सामथ्र्य राख्दथ्यो । म यही बारेको केही कुरा गर्न त्यस बेला पिएल दाइलाई भेटन गएको थिएँ ।
हेर, जेपी उहाँ गणेशमान त हो । सबैले कहाँ सम्हाल्न सक्छन र ! यसैले त मैले ‘ह्यान्डल विथ केयर’ भनेको हुँ । पिएल दाईले नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनको कुरो सुनाउनुभयो । वीरगञ्ज अधिवेशनमा पार्टीका धेरै ठुला नेताहरूको सभापतिमा सुवर्ण शमशेरलाई समर्थन थियो । गणेशमानजीले सुवर्ण शमशेरलाई सभापति बनाउन चाहानुभएको थिएन । गणेशमानजीले सुवर्णजीको बिरूद्ध कुनै बलियो उम्मेद्वार पाउनुभएको थिएन । बिपीले पनि सुवर्णजीलाई नै समर्थन गर्नुभएको थियो । यो पनि गणेशमानजीलाई मन परेको थिएन । बिपीलाई चिन्ता थियो, सभापतिको यस चुनावमा सबैले सुवर्णजीलाई मत दिएर यदि गणेशमानजी एकदमै थोरै मत पाएर पराजित हुनुभयो भने उहाँलाई ठुलो धक्का लाग्नेछ । पैसा र धनका धनीको कांग्रेस भयो । मेरो त्यागको कुनै मान्यता भएन भन्ने कुराले गणेशमानजीलाई बडो दुःखी तुल्याउनेछ । यो ठुलो चिन्ता थियो बिपीलाई । अनि गणेशमानजीले अलिक बढी तथा सम्मानजनक भोट पाउनुस् भनेर बिपीले आफ्ना बिश्वासी केही साथीहरूलाई गणेशमानजीको पक्षमा मत दिन अह्राउनु भएको थियो । सायद २०१२ सालतिरको कुरो हो यो । पिएल दाइले पाउ–पैदल हिँडिरहेको मलाई सोध्नुभएको थियो– ‘ल भन जेपी, आज कांग्रेसमा को छ र यसरी गणेशमानजीलाई ह्यान्डल गर्ने ?’
कांग्रेस भित्रको त्यस समस्याको त्यसबेला समाधान भयो । सबैले सत्याग्रहलाई बढाए । राजासमक्ष निवेदन पनि दिइयो । राजाका प्रमुख सचिव पशुपति भक्त महर्जनले लाखौँ जनताको हस्ताक्षरयुक्त निवेदन बुझ्न मानेनन् । राजदरबारको पश्चिमी गेटको निवेदन शाखामा बुझाइयो । अन्ततः गणेशमानजीले कांग्रेस छोड्नुभयो । उहाँको देहावसान भयो । चाक्सीबारीबाट गणेशमान जीको पार्थिव देह उठाइँदा र त्यस महायात्रमा हिँड्दा मलाई लागेको थियो–‘गणेशमान जीको मृत्युलाई त किमार्थ पन्छाउन सकिन्न्थ्यो । तर, यदि त्यस दिन पिएल दाइले भन्नुभए अनुसार बिपीले गणेशमान जीलाई सम्हाल्ने गरेजस्तै त्यस बेलाका नेताहरूले सम्हालिदिएको भए पशुपतिसम्मको गणेशमान जीको यात्रा अझ महान हुने थियो ।
आज रुग्ण पिएल दाइसँगै उहाँको सानिध्य उहाँकै छेउमा बस्दा मेरो मनमा यी सब कुराहरू उर्लेएर आयो । पुराना त्यस कुरामा बगेको मलाई थाहै भएन यसबीच पिएल दाइले आफू गम्भीर बिमारीबाट थलिएर बल्ल आफ्नो हातबाट खाना खान थालेको भन्दै हुनुहुन्थ्यो । अनी मैले गहिएर उहाँलाई हेरँे । आफ्नो बोलचालमा बहुधा अंग्रेजीका वाक्यांशहरू बोल्ने गरेका पिएल दाई बातबातमा मेरो नाम लिनुपर्दा जेपी आनन्द बोल्नुहुन्थ्यो । यो नयाँ कुरा थिएन । तर यसले मेरो उहाँसँगको लामो सम्बन्धको झल्को दिन्थ्यो । अब मलाई जेपी आनन्द भनेर बोलाउनेहरू कमै भेटिन्छन् । धेरै बेर कुरा भयो । मेरो गाउँको घर पनि पुगेको संझना आयो उहाँलाई । एकसरो धेरै कुराहरू सुनाउनुभयो । सबैभन्दा बढी याद आइरहेको छ, पिएल दाइले भनेको–जेपी राजनीतिको भन्दा बाहिर पनि जीवन छ, न बिर्सनु !’ सायद उहाँले यो कुरो म भित्रको मलाई भन्नुभएको थियो । आजै, आजैको अर्थात आज ९ असोज २०८० को कुरो हो यो । म फेरी पनि लेख्नेछु, पिएल दाई प्रेमलाल सिंहको बारेमा । (पूर्वमन्त्री गुप्ताको फेसबुकबाट)
प्रतिक्रिया