परिवार नियोजनको औचित्य सधैँभरिलाई

पदमराज जोशी

परिवार नियोजन सेवा हरेक व्यक्ति र परिवारका लागि व्यवस्थित परिवार निर्माण गर्न नभई नहुने कुरा हो । त्यसैले सरकारले परिवार नियोजनमा लगानी बढाउँदै लैजानुपर्छ । यसका अलावा अहिलेको युग सुहाउँदो पाठ्यपुस्तकमा यौन तथा प्रजनन् स्वास्थ्यका विषयबस्तु समावेश गर्नुपर्छ । अझै पनि २१ प्रतिशतभन्दा बढीले प्राप्त गर्न नसकिरहेको परिवार नियोजनका साधनको प्रर्याप्तताको सुनिश्चित राज्यले गर्नुपर्छ । स्वास्थ्यको अधिकारलाई राज्यले संविधानमा सुनिश्चित गरेर मात्र हुँदैन ।

परिवार नियोजनलाई जनसंख्या बढ्नु र घट्नुसँग मात्र जोडेर हेर्न मिल्दैन । जनसंख्या बढेको अवस्थामा मात्र परिवार नियोजन सेवा आवश्यक पर्ने तर जनसंख्या घट्दै गएपछि यो सेवाको औचित्य र आवश्यकतामाथि प्रश्नचिन्ह लाग्ने भन्ने होइन । किनकी परिवार नियोजनले जनसंख्या घटाउने काम मात्र गर्ने होइन । यसले सुखी परिवार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा करिब ६ दशक पहिले नेपालमा परिवार नियोजन कार्यक्रम सुरु गर्दा यसको लक्ष्य मध्ये एउटा लक्ष्य बढ्दो जनसंख्या दर घटाउनु पनि थियो ।

नेपालमा परिवार नियोजन सेवाको नेपाल परिवार नियोजन संघले सुरु गरेको थियो । सरकारले समेत परिवार नियोजन सेवा सुरु नगरेको अवस्थामा गैरसरकारी संस्थाको रूपमा स्थापना भएको संघले उपचारात्मक र प्रतिरोधात्मक गरी यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा दुबै सेवा प्रदान गरेर परिवार नियोजन सेवाको नेपालमा जग बसाएको हो । त्यति बेला जनसंख्या वृद्घिदर सात प्रतिशतभन्दा बढी थियो । भन्नुको अर्थ एक दम्पतीले सात जनाभन्दा बढी बच्चा जन्माउँथे । बिस्तारै जनसंख्या वृद्घिदर घट्दै गयो । परिवार नियोजनका कार्यक्रम सफल हुँदै गए । यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका क्षेत्रमा जनचेतना बिस्तार हुँदै गयो । जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् १९९६ मा जनसंख्या वृद्घिदर ४ दशमलव ६ थियो । अर्थात एक जना दम्पतीले सरदर ५ जना बच्चा जन्माउँथे । त्यो जनसंख्या वृद्घिदर नेपालका लागि बढी नै थियो । बिस्तारै जनसंख्या वृद्घिदर घट्दै गयो । २००१ मा ४ दशमलव १ हुँदै २००६ मा ३ दशमलव १ र २०२२ मा २ दशमलव १ मा पुग्यो । भन्नुको अर्थ अहिले एक जनादम्पतीले सरदरमा २ जना बच्चा जन्माउने गरेको पाइन्छ । सहरी भागमा त जनसंख्या वृद्घिदर दुईबाट पनि तल आइसकेको पाइन्छ । यस हिसाबले भन्ने हो भने जनसंख्या वृद्घिदर नियन्त्रणमा ल्याउनमा नेपाल परिवार नियोजन संघलगायत नेपाल सरकारका निकाय र यो क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवाला निकाय एक हदसम्म सफल भएका छन् ।

तर जनसंख्या वृद्घिदर घटाउनु मात्र परिवार नियोजनको उद्देश्य पक्कै पनि होइन । परिवार नियोजनको खास अर्थ भनेको खुसी परिवारको निर्माण गर्नु हो । हरेक व्यक्तिले कुन उमेरमा विवाह गर्ने, कति वर्षमा बच्चा जन्माउने, कति वर्षको अन्तरालमा बच्चा जन्माउने, कति बच्चा जन्माउने वा आफूलाई चाहिने परिवार नियोजनका साधन समयमा उपलब्ध हुनु नै परिवार नियोजनको ध्येय हो । परिवार नियोजनले व्यक्तिको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका विषयमा ग्यारेन्टी गर्नुपर्छ । नेपालको परिपेक्षमा पछिल्ला वर्षमा जनसंख्या वृद्घिदर घट्दै गइरहेको पाइए पनि अझै परिवार नियोजनको अपरिहार्यता छ ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा १५ वर्षदेखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये ५७ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको छ । ७८ प्रतिशतलाई परिवार नियोजनका साधनको आवश्यकता भएकोमा २१ प्रतिशतले त अहिले पनि आवश्यक परेको बेला आफूलाई चाहिने परिवार नियोजनका साधन प्राप्त गर्न सकेका छैनन् । भन्नुको अर्थ परिवार नियोजनका सधानको अभावमा अहिले पनि महिलाले आफूले नचाहेको गर्भधारण गर्नु परिरहेको छ । समयमा परिवार नियोजनका साधन नपाएरै किशोरावस्थामै गर्भवति हुने चलन पनि घट्न सकेको छैन । अहिले पनि यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सही र उमेर अनुसारको जानकारी नपाएर कैयौँ किशोरीहरूले असुरक्षित गर्भपतन गर्नु परिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांक अनुसार पनि ५० प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउनु परिरहेको छ । यसले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । अहिले पनि यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी उचित र उमेरअनुसार आवश्यक पर्ने जानकारी पाठ्यपुस्तकमा समावेश हुन सकेको छैन । सरकारले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटको एक प्रतिशत पनि यौन तथा प्रजनन् स्वास्थ्यका लागि विनियोजन गरिँदैन ।

महिलामा हुने अधिकांश स्वास्थ्य समस्यामध्ये अधिकांश कुनै न कुनै रूपमा यौन तथा प्रजनन् स्वास्थ्यसँग जोडिने गरेका छन् । समयमा परिवार नियोजनका साधन प्राप्त गर्न सकिए, बेलैमा यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा आवश्यक जानकारी प्राप्त गर्न सकिए र सुखी परिवारको योजना बनाउन सकिए मानिसको जीवन सहज र सरल हुन्छ । त्यसैले जनसंख्या बढ्ने दर घटे पनि नेपालमा अझै परिवार नियोजनको आवश्यकता छ । जापान लगायतका संसारका थुप्रै देशहरूमा जनसंख्या वृद्घिदर घटेको भए पनि परिवार नियोजनको औचित्य अझ बढ्दै गइरहेको छ । त्यहाँको सरकारले परिवार नियोजनमा गर्ने लगानी घटाएको छैन ।

परिवार नियोजन सेवा हरेक व्यक्ति र परिवारका लागि व्यवस्थित परिवार निर्माण गर्न नभई नहुने कुरा हो । त्यसैले सरकारले परिवार नियोजनमा लगानी बढाउँदै लैजानु पर्छ । यसका अलावा अहिलेको युग सुहाउँदो पाठ्यपुस्तकमा यौन तथा प्रजनन् स्वास्थ्यका विषयबस्तु समावेश गर्नुपर्छ । अझै पनि २१ प्रतिशतभन्दा बढीले प्राप्त गर्न नसकिरहेको परिवार नियोजनका साधनको प्रर्याप्तताको सुनिश्चित राज्यले गर्नुपर्छ । स्वास्थ्यको अधिकारलाई राज्यले संविधानमा सुनिश्चित गरेर मात्र हँुदैन । त्यो कुरालाई व्यवहारमा उतार्न यौन तथा प्रजनन् स्वास्थ्य र सेवा सरकारको प्राथमिकतामा पर्नु आवश्यक छ ।

प्रतिक्रिया